युएईका समाजसेवीले पिकनिक र चन्दामा गर्ने खर्चलाई यसो गर्ने हो की ? 

 

 

मेघराज सापकोटा, युएई

महिनामा कति चन्दा दिनु हुन्छ ? नेपाली जनप्रगतिशिल मञ्च युएईका अध्यक्ष हेमन्त पौड्याल भन्छनः बिरामीलाई सहयोग, उद्दार सहयोग, अन्य संगठनलाई सहयोग, बिभिन्न संस्थाले गर्ने साँस्कृतिक कार्यक्रम, पिकनिक तथा आफ्नै संगठनका बैठक तथा अन्य कार्यका लागि महिनाको कम्तीमा पनि ५ सय दिर्हामसम्म चाँही बजेट छुट्याउनै पर्छ । भन्दा भने जस्तो हुन्छ, हैरानी हुन्छ नि, पौड्यालले थपे । 

नेपाली जनसम्पर्क समितिका अध्यक्ष चित्र केसीको मासिक बजेट पनि त्यस्तै त्यस्तै छ । युएईमा सबै भन्दा ठुलो र असजिलो अवस्था नै यसैमा देखिन्छ । हुनत मान्छे सामाजिक भए पछि सामाजिक कार्यलाई सामान्य रुपमा लिनु पर्दछ तर पनि युएईमा सहयोगको नाममा अति नै बिकृती देखिएको छ । यो कार्यले गर्दा सर्बसाधरण ब्यक्ती देखि सामाजिक काममा लागि परेका ब्यक्तिलाई अलि अप्ठ्यारो अबस्था देखिन्छ नै । यसलाइ न्युनिकरण गर्दै नजाने हो भने भबिस्यमा यसले समस्या निम्ताउने देखिन्छ ।’जनसम्पर्क समितिका अध्यक्ष केसीको सुझाब यस्तै छ । त्यत्रो रकम चन्दामा खर्च गर्दा गार्हो होला नि ? नेपाली काङ्रेस निकट जनसम्पर्क समितिका चित्र केसी भन्छनः सामाजिक कार्यमा हिड्दा खर्च त हुन्छ नै । त्यो भन्दा ठुलो सन्तुष्टि नै हो ।

एनआरएन युएईका अध्यक्ष सुदीप कार्कीको मासिक बजेट त १,५०० भन्दा माथि छ । त्यसो त नेपालबाट आउने नेता, कलाकार तथा अन्य अतिथीहरुको सत्कारको लागि गरिने खर्च जोड्ने हो भने त कहिले काही २,००० ले पनि भ्याउदैन । महिना भरी हुने प्रत्येक शुक्रबारे कार्यक्रमहरुमा अरु भन्दा एनआरएनका अध्यक्षको रकम बढी नै तोकिने गरेको अनुभब पनि अध्यक्ष कार्की सुनाउंछन् ।

‘साधारण टिकटको मुल्य ५० दिर्हाम हो भिआईपीलाई ५०० दिर्हाम हो’ कार्कीले अनुभब बाँडे । एनआरएन आफैंमा सामाजिक संस्था हो । यो कुनै एनजीओ हैन भन्ने कुरा बुझ्न बुझाउन भने जरुरी छ । हामी कसैलाई सहयोग आवश्यक परेको खण्डमा आफ्नै गोजीबाट खर्चेर नै सहयोग गर्ने हो । यसको कुनै आर्थिक स्रोत छैन र युएईको हकमा स्थानीय तवरमा दिगो रुपले आर्थिक स्रोत जुटाउन पनि कानुनी रुपले कठिन छ, कार्की भन्छन । संघ संस्थाहरुले पिकनिक आयोजना गर्ने, नजादा पनि नहुने गयो भने अरुले भन्दा धेरै रकम तिर्नु पर्ने चलन देखी कार्की वाक्क छन । उनी भन्छनः बरु नेपाली कामदारहरु बस्ने क्याम्पमा गएर दुःख सुखका कुरा गरे धेरै आनन्द आउने थियो । त्यसो भए एनआरएन किन त ? उनी भन्छनः समाजसेवा भन्दा ठुलो सन्तुष्टि अरुले दिन सक्दैन भन्ने बुझेको छु । र त्यो सन्तुष्टी ठुलो प्लेटफर्म एनआरएन नै हो ।

गत बर्ष २०१५ को जुन जुलाई महिना हुनु पर्दछ । सुबर्ण गैरेकी दोजिया श्रीमतीलाई अजमानको एनएमसी अस्पतालमा भर्ना गरिएको थियो । ५० हजार दिर्हाम पहिले नै दुबईको थुम्बे अस्पतालमा खर्च गरिसकेका सुबर्णले अब झन कति खर्च गर्नु पर्ने हो यकिन थिएन । गोजीमा पैसा सकिएको बेला उनले नेपाली समाजका चन्द्र प्रसाद सापकोटालाई सम्झे । १९९० को दशकमा इराकका नेपालीहरुलाई उद्दार गर्ने उद्देश्ले खोलिएको २५ बर्षे नेपाली समाजका बर्तमान अध्यक्ष सापकोटाले उनलाई निकै ठुलो रकम सहयोग गरे । लामो समय युएईमा आफ्नो ब्यवसाय गरिरहेका सापकोटाले रेडक्रस मार्फत पनि सहयोग जुटाए । अस्पताललाई भनसुन गरेर केही रकम डिस्काउन्ट पनि गरिदिए ।

गैरेको सहयोगको लागि खर्चिएको समय र पैसाले के दियो त सापकोटालाई ? केही पाउछु भनेर समाजसेवामा लगिन्न, केही पाईन्छ भने त्यो आत्मसन्तुष्टी नै हो । आर्थिक रुपले त बरु गुमाइन्छ । सायद सापकोटाले नि आत्मसन्तुष्टी भन्दा ठुलो खुशी केही पाएनन ।

मैले यस्तै प्रश्न एनआरएनए आईसीसी सदस्य गोपाल कंडेललाई गरेको थिएँ । ‘तपाईले सोध्नु भएको प्रश्नलाई सिधा रुपमा उत्तर दिने हो भने मेरो सरदरमा १५ सय दिर्हाम देखी २ हजार दिर्हामसम्म मासिक रुपमा खर्च हुने गर्छ । यति धेरै कसरी खर्च हुन्छ भन्नु हुदो हो ? यहाँ त नेपालीहरुले औसत रुपमा ६ सय दिराम देखी १२ सय दिरामसम्म ज्याला पाउने गर्छन् होइन र पनि भन्नु होला । तितो सत्य भन्नु पर्छ हामीले यसरी गरिने खर्चले सिधा रुपमा कोही लाभन्वित् त हुँदैनन तथापी सामाजिक सेवाको नाममा नदेखिने गरी यो खर्च भइनै रहेको हुन्छ ।’

कंडेलले खर्चका शिर्शक नै तेर्स्याए । टेलिफोन, यातायात, चन्दा सहयोग, कार्यक्रममा किन्नु पर्ने टिकट गरेर ठ्याक्कै २ हजार दिर्हाम । उनले थपेः हेर्नुस् यो पनि तितो सत्य हो, कुनै कुनै महिनामा समाज सेवाको बजेट भन्दा बढी खर्च हुनाले केही कार्यहरुलाई अधुरा राख्नुपर्ने, बैठक तथा केही कार्यक्रमहरुमा बहाना बनाएर अनुपस्थित हुनुपर्ने बाध्यता पनि आउने गर्दछ । अनिच्छाएका ठाउँमा गरिने वाध्यात्मक खर्चले मन पनि दुखाउँछ । वास्तविक गरीब दुखीलाई गरिने उद्दार सहयोगले निकै खुशी मिल्ने बताउँछन उनी ।

एनआरएन युएईकै उपाध्यक्ष रमेश श्रेष्ठ जनवरी महिनामा समाजसेवामा मात्रै २१ सय नाघेको बताउँछन । पिकनिक र अन्य फजुल खर्चमा कटौती गर्ने सोचेको भए पनि कुनै न कुनै रुपले समाजिक हैसियत बनाए पछी खर्च पनि बढ्ने गरेको उनको अनुभाब छ । एनआरएन युएईको रेस्क्यु फोर्सका संयोजक समेत रहेका श्रेष्ठ भन्छनः वास्तविक दुखी र अज्ञानताको कारणले अन्जानमा फसेका नेपालीहरुलाई सहयोग र उद्दार गर्दा निकै आनन्द आउने गरेको छ ।

बिगत २२ बर्ष देखी युएईमा ब्यापार ब्यवसाय गरेर बसेका समाजसेवी सालीक सुबेदीलाई पनि आपतमा परेका नेपालीहरुलाई सहयोग गर्न पाउदा मन प्रफुल्लित हुने गरेको छ । मासिक रुपमा यति नै खर्च हुने भन्ने लेखाजोखा नगरे पनि उनी २ ४ हजार दिरहम उद्दार सहयोग, अतिथी सत्कार र अन्य शिर्शकमा खर्च हुने गरेको बताउँछन ।

नमस्ते ट्राभल्सका प्रोपाईटर एकेन्द्र बहादुर थापा आफुले ब्यक्तीगत रुपमा मासिक ६ सय दिर्हामसम्म खर्च गर्ने गरेको सुनाउँछन । बरदुबईमा हुने नेपालीहरुको प्रायः कार्यक्रममा नमस्ते ट्राभल्सको स्पोन्सर हुने गरेको छ । थापा भन्छनः नमस्ते ट्राभल्सको मासिक ५ हजारसम्म चन्दामा खर्च हुने गरेको छ । सहयोगको आश लिएर आउने कुनै पनि कार्यक्रमका आयोजकलाई अहिलेसम्म निरास नपारेको थापाको भनाई छ ।  

माथि उल्लेख गरिएका कथा युएईका सामाजिक कार्यकर्ताहरुको यथार्थता हो । हरेक शुक्रबार जस्तो हुने साँस्कृतिक कार्यक्रममा जानै पर्ने, खादा ओढ्नै पर्ने र ओढे बापत कुनै न कुनै शुल्क तिर्नै पर्ने । यी त भन्न हुने मात्र भनेको हो, साह्रै गार्हो हुन्छ नि । प्राय सबै जनाले अनौपचारिक रुपमा गफ गर्दा भने यस्तै यस्तै भने ।

यत्रो भार बोकेर किन समाज सेवा गर्छन् त युएईका गन्यमान्यहरु ? आत्मसन्तुष्टी त हो नै त्यो सँगसगै सामाजिक प्रतिष्ठाको लागि पनि यहाँ नेतृत्वमा तँछाडमँछाड हुने गरेको छ । नेतृत्व हत्याउन अनेक तिकिडम खेल हुनेगरेको अनुभब बिगतमा भएको नेपाली समाज युएई र एनआरएनए युएईको अधिबेशन ताका पनि देखिएकै हो । बिभिन्न राजनीतिक दल र अन्य संघसंस्थाका अधिबेशनमा हुने चालबाजी पनि उत्तिकै रोचक हुने गरेको पाईन्छ । कुनै कुनै बेला त नेपालकै संसदीय चुनावलाई पनि मात खुवाउने गरिको राजनीति यी संगठनहरुमा हुने गर्दछ ।

यति गर्दा पनि बेला बेलामा लाग्ने गरेको बिभिन्न आरोपले यी समाजसेवीहरुको मन दुख्ने गरेको छ । समाज सेवाको नाममा हुने गरेको हुण्डी र सुन तस्करीले पनि युएईका वास्तविक समाजसेवीहरुको मन निकै नै दुखाउने गरेको छ । बिभिन्न समाजको नेतृत्व गरेका ब्यक्तीहरुले समाजसेवालाई आफ्नो सन्जाल बिस्तारको लागि प्रयोग गरेको र त्यसैलाई भर्र्याङ् बनाएर पैसा कमाउने गरेको भन्दै आलोचना समेत हुनेगरेको छ । युएईमा अन्य ब्यापार ब्यवसाय गरेर बसेका कतिपय ब्यक्तीहरुको अतिरिक्त आयस्रोत पनि हुण्डी र सुन तस्करी नै रहेको जानकारहरु बताउँछन् । 

त्यसो त भरखरै मात्र अख्तियारको रिपोर्टले समेत खाडीमा काम गर्ने मजदूरहरु मार्फत दैनिक ७ केजीसम्म सुन तस्करी हुने गरेको जनाएको छ । एक जना कामदारले अरबबाट छुट्टीमा घर फर्कदा लान पाउने ५० ग्राम सुन तस्करहरुको लागि कमाइ खाने भाँडो बनेको छ । 

युएईमा रहेका समाजसेवीहरुको कथा यस्तै छ । सामान्य कामदारको तलब भन्दा बढी पैसा चन्दा र पिकनिकमा खर्च गर्नु भन्दा सबै जना मिलेर दिनदुखीलाई मलमपट्टी गरेको खण्डमा यी समाजसेवीहरुले बरु अझ धेरै पुन्य कमाउने थिए । हरेक दिन बाकसमा नेपाली फर्कनेहरुका परिवारलाई दिन सके अझ स्वर्गै नै पो पुग्ने थिए कि ? 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: