बैदेशिक रोजगारीमा जानेहरुका लागि यो तालिम निःशुल्क हो: बानियाँ 

काठमाडौं, कात्तिक २२

नेपालबाट बैदेशिक रोजगारीमा जानेहरुको संख्या बढ्दो क्रममा रहेको छ । ३० लाखको हाराहारीमा नेपाली युवा बैदेशिक रोजगारीमा रहेको अनुमान छ । दैनिक १५ सय भन्दा बढी युवा विदेश गइरहेको अवस्थामा बहुसंख्यक युवा भनें सीप र दक्षता विनाको काममा गइरहेका छन् । 

तत्काल स्वदेशमा रोजगारीका अवशर बढाउन सक्ने नदेखिएको अवस्थामा सरकारले पनि बैदेशिक रोजगारलाई आर्थिक मेरुदण्डका रुपमा लिएको छ । त्यसैले बैदेशिक रोजगारीमा जान चाहने युवालाई लक्षित गर्दै सरकारी निकायहरुले पनि तालिमहरु सञ्चालन गरिरहेका छन् । 

यसैगरी राष्ट्रिय र अन्तराष्ट्रिय संघसंस्थाले पनि युवा केन्द्रीत तालिमहरु सञ्चालन गरिरहेका छन् । एफस्कीलले पनि विभिन्न अन्तराष्ट्रिय गैरसरकारी संस्थाको साझेदारीमा रोजगारीमूलक तालिमहरु सञ्चालन गरिरहेको छ । सो संस्थाले सञ्चालन गरेका तालिम कस्ता छन् र त्यसबाट युवाले कसरी रोजगारी पाइरहेका छन् ? यसै विषयको सेरोफेरोमा देशपरदेश डटकमका लागि सुनिल न्यौपानेले एफस्कीलकी टीम लिडर सुनिला बानियाँसँग गरेको कुराकानी । 

एफस्कीलले मुख्य गरी कस्ता खालका तालिमहरु सञ्चालन गरिरहेको छ ? 

एफस्कीलले दिने भनेको व्यवसायीक सीपविकास तालिम हो । हामीले सन् २००३ देखि नै तालिमको क्षेत्रमा काम गरिरहेका छौं । हामीले सुरुमा नेपालको आन्तरिक बजार र भारतको बजारलाई लक्षित गर्दै तालिम सुरु गरेका थियौं । त्यसपछि सन् २००५ देखि हामीले बैदेशिक रोजगारलाई लक्षित गर्दै तालिम सञ्चालन गरेका हौं । 

मान्छेले रोजगारी नपाएपछि न द्धन्द सुरु हुने हो । त्यसैले एसएलसी पास नभएका व्यक्तिलाई लक्षित गर्दै सीप विकास तालिम स्वीस परियोजनाले सुरु गरेका थिए र त्यसमा हामी सहभागि भयौं । तर तालिम दिएर मात्र त हुन्न, त्यसलाई रोजगारीसँग पनि जोड्नु त पर्यो । त्यसैले रोजगारीसँग जोड्ने काम तालिमले ग¥यो । एफस्कीलले नतिजामा आधारित तालिमलाई अगाडी बढायो । यो एकदमै सफल भयो । हामीले हालसम्ममा ३० हजार भन्दा बढी व्यक्तिलाई तालिम दिइसकेका छौं । 

अहिले चाहिं एफस्कीलले कस्ता तालिम दिन्छ ? 

मुख्य हामीले निर्माण क्षेत्रलाई नै केन्द्रीत गरेका छौं । ईलेक्ट्रीकल, ईलेक्ट्रोनिक्स पनि छ । महिलाका लागि गार्मेण्टको तालिम छ । व्यूटीसियनको तालिम पनि छ । 

अहिले पनि धेरै नेपाली यूवा कुनै तालिम विना नै बैदेशिक रोजगारीमा गइरहेको अवस्था छ । यसरी तालिम लिएर गएपछि उनीहरुको आम्दानी वा रोजगारीमा के फरक हुन्छ त ? 

जव सामी परियोजना सुरु भयो, त्यतिबेला हाम्रो तालिम दुई महिनाको थियो । तर समस्या के भयो भनें सवैलाई विदेश जान हतार । उनीहरुलाई हतार हुने कारण के हो भनें उनीहरुले विदेश जानलाई ऋण लिएका हुन्छन् । त्यसको व्याज त बढ्न थालिहाल्छ । त्यसैले हामीले दुई महिनाको तालिमको विषयलाई समेटेर ४५ दिनको तालिम बनायौं । त्यसैले ४५ दिनको तालिमले मात्र आम्दानीमा एकदम ठूलो फरक हुन्न । यसमा मुख्य फाइदा भनेको चाहिं यहाँ जुन कामको सीप सिकेको हुन्छ, विदेशमा उनीहरुले त्यहि काम पाउँछन् । सुरुमा एकदुई सय रियाल, रिंगिट मात्र धेरै हुनसक्छ तर काममा छिटो पदोन्नती हुने गरेको पाइएको छ । किनकी उसले सामान्य कुरा यहिं सिकेर गएको हुन्छ, जसका कारण ६ महिना वा एकबर्ष भित्रमा आम्दानीमा धेरै फरक भएको पाइन्छ । 

हाम्रो एकदम राम्रो भएको तालिम स्काफोल्डिङको हो । त्यसमा सुरुमा ८ सय तलव भएकोहरुले ६ महिनापछि तलव १८ सय पुग्यो भन्छन् । तालिमले दिने मुख्य फाइदा यहि हो । हामी तालिममा आएकाहरुलाई पनि विदेशमा हुने दुःख, त्यहाँ हुने आम्दानी लगायतका विषयमा राम्रोसँग बुझाएर पठाउँछौं । 

तालिममा कत्तिको आकर्षण छ ? 

सुरुमा त हामीलाई निक्कै गाह्रो पर्यो । दुई जिल्लामा मात्र केन्द्रीत थियो । तर अहिले जिल्ला जिल्लामा खुलेका सुचना केन्द्रहरुले एकदम राम्रो गरिरहेका छन् । हामीले पहिले देखि पनि काम गरिरहेका हुनाले पनि मान्छेहरु एकपटक एफस्कीलमा बुझेर आउँ भनेर आउँछन् । 

म्यानपावर कम्पनीहरुले पनि मान्छे पठाउँछन् ? 

हो, यो अर्को महत्वपूर्ण पाटो हो । पछिल्लो समयमा केहि म्यानपावर कम्पनीहरुले पनि मेरो मान्छेलाई तालिम दिनुपर्यो भन्दै पठाइरहेका छन् । हामी यो तालिममा केवल सीप मात्र सिकाउँदैनौं, विदेशमा अपनाउनु पर्ने सचेतना, स्वास्थ्य सम्वन्धि कुरा, विदेशमा कस्दा कसरी सुरक्षित रुपमा बस्ने, कसरी रकम घर पठाउने भन्ने जस्ता  जानकारी दिने भएकाले पनि म्यानपावरहरु पनि हामीसँग यतिजना मान्छे छ तालिम गराइदिनु पर्यो भन्छन् । 

तालिम निःशुल्क भन्नुहुन्छ । कोहि मान्छे विदेश जान लाग्दैछ र तपाईहरुको संस्थामा तालिम लिन खोज्यो भनें उसले केहि खर्च गर्नुपर्छ की पर्दैन ? 

हाम्रो तालिममा आउँदा उहाँहरुले पासपोर्ट र नागरिकता लिएर आउनुपर्छ । पछिल्लो समयमा पासपोर्टका लागि आवेदन दिएको रसिद मात्र भएपनि हुन्छ । तर पासपोर्ट हुँदा बढी राम्रो । त्यसपछि आफ्नो जिल्ला देखि काठमाडौंको तालिम केन्द्रसम्म आउने बाटो खर्च उहाँहरुले नै गर्नुपर्छ । थप चाहिने भनेको स्वास्थ्य परिक्षणको रिपोर्ट । यो सामान्य रिपोर्टं हो । यसमा धेरै खर्च हुन्न । बढीमा १ हजार लाग्ला । त्यसपछि बाँकी खान बस्न सहितको तालिम सवै निःशुल्क हुन्छ । विदेश जाँन लाग्ने खर्च त उहाँहरु आफैंले गर्ने हो, हामी त्यसमा संलग्न हुन्नौं । 

तपाईहरुले स्वदेशका लागि पनि तालिमहरु सञ्चालन गरिरहनु भएको छ र विदेशको लागि पनि । कहाँका लागि सञ्चालन गरिएको तालिम बढी प्रभावकारी भएको छ ? 

हाम्रो अनुभवमा नेपाल भित्रको सञ्चालन गरिएको तालिम मध्ये ८५ प्रतिशतको हाराहारीमा मान्छे रोजगारीमा गएका छन् । बैदेशिक रोजगार लक्षित तालिममा चाहिं ७५ प्रतिशतको हाराहारीमा गएका छन् । 

महिलाका लागि पनि तालिम चलाइरहनु भएको छ । त्यो कत्तिको प्रभावकारी छ ? 

महिलाको लागि सञ्चालित तालिम मध्ये स्वदेशका लागि लक्षितमा चाहिं हामी उति धेरै सन्तुष्ट छैनौं । महिलाको पारिवारिक दायित्वका कारण पनि महिलाले आफ्नै व्यवसाय गर्न पाउँदैनन् । परम्परागत प्रकृतिका तालिममा उति धेरै सफलता छैन ।    

बैदेशिक रोजगारको लागि चाहिं निक्कै राम्रो छ । पहिले हामीले क्लीनरको मात्र तालिम सञ्चालन गर्दा चाहिं उति धेरै सफलता थिएन । किनकी राम्रो म्यानपावर पनि पाएका थिएनौं । अहिले हामीले जोर्डनमा गार्मेण्टको कामका लागि महिलालाई सीप सिकाइरहेका छौं । म्यानपावर कम्पनी पनि राम्रो छ । उनीहरुले प्रष्ट भन्छन् । पैसा लाग्दैन भन्ने लगायतको । कम्पनीमा काम गर्दा उनीहरुको सुरक्षाको जिम्मा पनि लिन्छन् । त्यसैले यसमा राम्रो सफलता छ । जति पनि विदेशमा गएका बहिनीहरु छन्, उनीहरुसँग पनि हाम्रो कुरा भइरहन्छ । उनीहरु एकदम खुसी छन् । 

अहिले त तपाईहरु अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुसँग साझेदारी गरेर तालिम चलाइरहनु भएको छ । तर त्यो दिर्घकालिन त होइन । भोली ति संस्थाहरु नरहेको अवस्थामा के गर्नुहुन्छ ? 

त्यो अवस्थामा त गाह्रै छ । हामीले सुरु देखि नै निःशुल्क तालिम चलाई रहेका छौं । हामीले केहि म्यानपावरहरुसँग साझेदारी गर्न थालेका छौं । तर अहिले सरकारले १० हजार भन्दा बढी लिन नपाउने जुन व्यवस्था गरेको छ, त्यसपछि हामी साझेदारी गर्न सक्दैनौं भन्ने उहाँहरुको भनाई छ । 

तालिम लिन काठमाडौंमा नै आउनु पर्ने बाध्यताका कारण समस्या भयो भन्ने गुनासो सुनिन्छ । तपाईहरु जिल्ला वा क्षेत्रमा जाने सम्भावना छैन ? 

यसमा बुझ्नु पर्ने कुरा दुईवटा छन् । पहिले हाम्रो सरकारी संयन्त्र केन्द्रीकृत छ । सवै काम गर्न काठमाडौं आउनै पर्ने बाध्यता छ । त्यसैले काठमाडौं नै आउनु पर्ने भएपछि तालिम पनि काठमाडौंमा हुँदा झर्को मान्नु भएन । अर्को कुरा विदेशमा जुन खालका सामान प्रयोग हुन्छन्, जस्तो सीप चाहिन्छ त्यो कुरा जिल्ला जिल्लामा गर्न सम्भव छैन । 

दोश्रो कुरा बैदेशिक रोजगारीमा जान चाहने मान्छेका लागि यो एउटा अवशर हो । किनकी उ त लामो समयका लागि घर बाहिर बस्ने हो । यो तालिममा ४५ दिन काठमाडौंमा आएर बस्दा बाहिर बस्ने बानी हुन्छ र उनीहरुले एकापसमा घुलमिल हुने मौका पनि पाउँछन् । त्यसैले यो तालिम काठमाडौंमा सञ्चालन गर्दा स्वयं वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई धेरै फाइदा हुन्छ ।

अहिले पनि धेरै युवा सीप नसिकी गइरहेका छन् । ति युवालाई तपाईको सुझाव के छ ?

त्यसरी जानु भनेको जोखिम बढाउनु हो । केवल लेवरको काम गर्न विदेश जानु जरुरी छैन । किनकी त्यहाँ दिने जति पैसा यहिं पाउन थालिएको छ । विदेश जाने भनेको पैसा कमाउन नै हो । त्यो भनेको सीपले नै हो । ४५ दिनको तालिमले मात्र सवै कुरा हुन्छ त म भन्न सक्दिन । तर त्यहि तालिमको आधारमा पदोन्नती हुने अवशर पाइन्छ । जसले तलव बढाउँछ । अर्को कुरा हामी तालिममा विदेशमा बस्दा अपनाउनु पर्ने सवै कुरा सिकाउछौं । जुन कुरा उनीहरुका लागि विदेशमा उपयोगी हुन्छ । त्यसैले विदेश जाने युवालाई तालिममा सहभागि हुन म आग्रह गर्दछु । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: