ओहो, मेरो जीवन कस्तो हुन्थ्यो होला है ? 

हाम्रो घर गाउँमा छ । आर्थिक अवस्था पनि उति राम्रोे थिएन । हाम्रो आफ्नै जग्गाजमिन पनि कम थियो । त्यसैले हामी अरुको जग्गा अधियाँ(अरुको जग्गामा खेतीपाती गरि आधा उव्जनी जग्गाधनीलाई दिनेगरी खेती गनेर्) मा कमाउँथ्यौं । 

हामी धेरैजना छोराछोरी । त्यसैले घरमा जहिले पनि खानलाउन नै धौधौ हुन्थ्यो । त्यो अवस्थामा हामीले चाहेअनुसारका कुरा किन्न पाउनु त परको कुरा थियो । अर्कातिर खेतीपाती नगरी खानसमेत नपुग्ने हुनाले मैले सानैदेखि खेतीकिसानीमा सघाउनु पर्यो । 

खेतीपातीमा लागेपछि मैले पढ्न सकिन । विद्यालय पनि टाढा थियो । त्यसैले मेरोे पढाई धेरै छैन । मलाई व्यूटीसियन बन्ने रहर भनें सानै हुँदा देखिको हो । हुन त नीजि पार्लरहरुले तालिम दिन्थे पनि । तर मसँग त्यो तालिमका लागि लाग्ने शुल्क तिर्ने रकम थिएन । त्यसैले मेरो रहर केवल रहरमै सिमित थियो । 

तर एकदिन एमएम सुन्दै थिएँ । व्यूटीसियनको निःशुल्क तालिम हुँदैछ भन्ने थाहा पाएँ । रेडियोमा भनेको ठेगाना टिपेर म पुगें झापा प्राविधिक शिक्षालय । फर्म भरें र तालिमका लागि छानिएँ पनि । 

लेभल वान(१) को तालिम निक्कै राम्रो भयो । त्यसपछि मेरो खेतिपातीको काम छुट्यो । म विर्तामोडमा पार्लरको जागिरे भएँ । यहि व्यूटीपार्लर अर्को एकजना दिदिले चलाउनुहुन्थ्यो, उहाँको सहयोगि भएर काम थालें । 

तालिममा सिकेका कुरा अभ्यास गर्न पाएँ । अझ आत्मविश्वास बढ्दै गयो । यहिक्रममा दिदि बाहिर जाने हुनुभयो र पार्लर मैले किनें । यसरी म पार्लर सञ्चालक भएँ । 

पार्लर किनेपछि अझ उत्साह थपियो । अव तलव होइन, जति धेरै आम्दानी गर्नसक्यो उति धेरै फाइदा हुन थाल्यो । काम पनि बढ्दै गयो । अहिले मसँग काम गर्ने दुईजना बहिनीहरु छन् । अनी चारजना विद्यार्थी पनि सिकिरहेका छन् । 

मैले अझ धेरै सिक्नुपर्छ भन्ने लाग्छ । किनकी राम्रो व्यूटीपार्लर चलाउनु नै मेरो जीवनको लक्ष्य हो । त्यसैले मैले सन् २०१४ जुलाईमा लेभल टु(२) पनि गरें । अव लेभल थ्री(३) पनि गर्ने योजनामा छु । म अझ धेरै सिक्न चाहन्छु । आफ्नो पार्लरमा पनि केहि बहिनीहरुलाई सिकाउँदैछ । झापा प्राविधिक शिक्षालयमा पनि सहायक प्रशिक्षक भएर आफूले जानेको सीप अरुलाई सिकाएँ । म अरु धेरैलाई म जस्तै सीप सिकाएर स्वावलम्वी बनाउन चाहन्छु । 

पहिले मेरो केहि त थिएन । परिवारको अवस्था त्यस्तो थियो । अहिले हामीलाई कुनै समस्या छैन । भाइबहिनीहरु सानै छन् । उनीहरुलाई पढाउँदैछु । घरमा आवश्वक सवै कुरा पुर्याएकी छु । त्यसैले मेरो परिवारका सवैजना खुसी हुनुहुन्छ । 

हिजो मलार्ई कसैले चिन्दैनथे, अहिले व्यूटीसियन भनेर चिन्छन् । मेरो परिवारको ईज्जत बढेको छ । हातमा सीप आएको छ । हिजो यसले पढेकी पनि छैन, के गरिखान्छे र भन्नेहरु पनि अहिले त फेरिएका छन् । विर्तामोडमा आफ्नै पार्लर छ, सवैले आदर गर्छन् भनेर उनीहरुले नै भनेको सुन्दा कम्ती खुसी लाग्दैन । त्यसैले मेरो जीवनमा त आकाश पातालको फरक आएको छ । 

पर्लरको कमाई समय अनुसार फरक हुन्छ । विवाह, चाडपर्वको समयमा धेरै हुन्छ । अन्य समयमा कम । तर पनि यसमा कमाई नराम्रो छैन । सिजनको बेलामा त धेरै हुन्छ, अन्य समयमा पनि बहिनीहरुलाई तलव दिएर, घरभाडा लगायतका सवै कुरा कटाएर पनि महिनामा १५ हजार त बचत हुन्छ । मैले थुप्रै बैंकहरुमा थोरै थोरै बचत गरिरहेकी छु । त्यसले मलाई भविष्यमा ठूलो मद्धत पुग्छ । 

……………………………

व्यूटीपार्लरमा मैले ठूलो सम्भावना देखेकी छु । मेरो त यसमै भविष्य छ । त्यसैले निरन्तर नयाँ कुरा सिकिरहेकी छु । ग्राहकले चाहे अनुसारको सेवा दिइरहेकी छु । त्यसैले ग्र्राहकको पनि समस्या छैन ।  

काम भनेको सिक्ने कुरा न हो । जसलाई रुचि छ उसका लागि धेरै अवशर छ पार्लर क्षेत्रमा । सीप भनेको कसैले खोसेर लाने कुरा होइन । त्यसैले एउटा सीप सिकेर काम गर्नु राम्रो हुन्छ । सीप छ भनें कसैको हेपाई खानु पर्दैन । 

तर हातमा सीप छैन भनें पढेर मात्र हुन्न । हातमा सीप छ भनें जहाँसुकै गएर पनि जीविकोपार्र्जन गर्न सकिन्छ । सीप सिकेको थिएन भनें सायद यतिबेला म गाउँमै हुन्थें होला । त्यो अवस्थाका जीवन म कल्पना पनि गर्न सक्दिन । ओहो, सीप सिकेको थिएन भनें मेरो जीवन कस्तोे हुन्थ्यो होला है ?   

(लिफन व्यूटीपार्लर, विर्तामोड झापाकी सञ्चालक आशाकुमारी लिम्वूसँग देशपरदेशका लागि सुनिल न्यौपानेले गरेको कुराकानीमा आधारित)

(आशाकुमारी लिम्बू रोजगार कोषअन्तर्गत सन् २०१४ को तालिम तथा रोजगारी कार्यक्रमका लाभान्वित युवा हुन् । उनलाई तालिम तथा रोजगारीका लागि स्थानीय तालिम तथा रोजगार प्रदायक संस्था झापा प्राविधिक शिक्षालय, विर्तामोडले सहयोग गरेको हो । रोजगार कोष सन् २००८ देखि नेपालमा क्रियाशील छ । सन् २०१५ को जुन अन्त्यसम्ममा रोजगार कोषले करिव एक लाख युवालाई तालिम तथा रोजगारीका लागि सहयोग गरिसकेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयको रेखदेख र हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालले कार्यान्वयन गरेको रोजगार कोषमा स्वीस सरकार विकास सहयोग (एसडीसी), बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग (युकेएड) र विश्व बैँकको आर्थिक सहयोग प्राप्त छ ।) 

भिडियो हेर्नुहोस् 

https://www.youtube.com/watch?v=Mgi8PIK7lQE 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय