
काठमाडौं, असोज ४ -यसबर्षको कोरियाली भाषा परिक्षामा अनियमितता गर्न खोज्ने १ सय १२ जना पक्राउ परेका छन् । परिक्षाको पहिलो दिन १७ जना नक्कली परिक्षार्थी भेटिएका थिए । दोश्रो दिन नक्कली परिक्षार्थी तथा परिक्षामा मर्यादा विपरित काम गरेको अभियोगमा ८६ जना पक्राउ परेका हुन् । त्यसमध्ये सवै भन्दा बढी आइडियल मोडल स्कूलबाट २१ जना पक्राउ परेका हुन् । यसैगरी रेडन कलेज सामाखुसी परिक्षा केन्द्रबाट ११ जना पक्राउ परेको ईपिएस कोरिया शाखाले जनाएको छ ।
छैठौं कोरियन भाषा परिक्षा असोज २ र ३ गते काठमाडौं र पोखरामा सम्पन्न भएको हो । परिक्षामा जम्मा ५१ हजार १ सय ३७ जना परिक्षार्थी रहेकोमा ४३ हजार ४ सय ६ जना मात्र उपस्थीत भएका थिए । फारम भरेका मध्ये ७ हजार ६ सय १९ जना परिक्षा दिन नआएको ईपिएस शाखाले जनाएको छ ।
परीक्षा सञ्चालन गर्न एचआरडी कोरियाका उपाध्यक्षको नेतृत्वमा ५२ जनाको टोली नेपाल आएको छ। टोली काठमाडौं र पोखरामा परिचालित भएको थियो ।
दक्षिण कोरिया नेपाली कामदारका लागि रोजगारीको आकर्षक गन्तव्य हो। त्यहाँ मासिक न्यूनतम एक लाख नौ हजार रूपैयाँ कमाइ हुन्छ। हाल करिब २८ हजार नेपालीले कोरियामा काम गरिरहेका छन्। कृषि र उद्योगमा नेपालीले काम गरेका छन्।
ईपीएसमा दुवै देशले सरकारी तवरमा कामदार पठाउने र लिने गर्दैआएका छन्। कोरियाले नेपालसहित विभिन्न १५ वटा मुलुकबाट विदेशी कामदार लिने गरेको छ।
विगतमा गएका कामदारको कार्यशैलीबाट रोजगारदाता सन्तुष्ट भएका छन्। पछिल्लो समय अवधि सकिएपछि पनि बस्नेक्रम बढेकाले त्यहाँ अवैध नेपालीको संख्या भने बढ्दोक्रममा छ।