कतारमा अभिभावक होस् त यस्तो

दिपक पुडासैनी, दोहा- कतारमा पाइला राखेको करिब तीन महिना पछीको त्यो दिन कहिल्यै नबिर्सने गरी मुटुमा गडेको छ । तारिख ठ्याक्कै याद नभएपनि सन् २००७ को मार्च महिनाको तेस्रो हप्ताको घटना हो यो । बिदेश गएपछी आफ्नो अभिभावक, रक्षक वा सरकार जे भनेपनि आफ्नो देशको नियोग हुन्छ । आफू जुन देशमा जाने हो त्यो देशमा रहेको आफ्नो नियोगको सम्पर्क नम्बर साथमा राख्दा काम लाग्छ भन्ने सुनेको आधारमा कतार प्रवेश गरेपछी दुतावास पुगेको दिन थियो त्यो । मलाई कम्पनीले उपलब्ध गराएको बासस्थान अल मन्सुराबाट ३५ मिनेटको पैदल दुरिमा रहेको अल हिलाल भन्ने स्थानमा नियोगको कार्यालय थियो । मध्यान्ह करिव १ बजे दुतावासमा पुग्दा परिसरको ढोकाबाट दाहिनेतिर रहेको चौरमा ५-७ जना ५-७ जनाको तीनवटा समुह अँध्यारो मुख लगाएर झोक्राइ रहेका थिए । भवनको मुल ढोका सामुन्ने ४ जना आपसमा गफमा मस्त थिए । उनीहरु बेलुका फलानाकोमा रंगरस सहितको डिनर छ संगै भेटेर जानुपर्छ भन्दै योजना बनाउनमा ब्यस्त थिए । मलाई अगाडी पुगेको देखेपछी उनीहरु मुखामुख गर्नलागे । तिनिहरु मध्येकै एकजनाले अत्यन्तै ठाडो पाराले सोध्यो ओइ किन आइस ? मैले नम्र भएर भने सर म केहि समय मात्रै भयो कतार आएको आफ्नो देशको दुतावासको बारेमा बुझौं कि भनेर आएको ? तँ यहां काम गर्न आएको होइनस् ? जा आफ्नो काम गर यहाँ आइरहन जरुरी छैन । त्यो मान्छेको कुराले म अक्क न बक्क भएँ र केही नबोली त्यहाँबाट फर्किनुको मसँग बिकल्प भएन । दोहाको बिमानस्थल अहिले जस्तो ठूलो र फराकिलो थिएन । प्रस्थान कक्ष र आगमन कक्ष पनि सँगसँगै थिए । अनि चिया नास्ताको लागि पनि नजिकै रेस्टुरा थियो । बिमानस्थलको जागिर भएकोले त्यहाँ आउने जाने प्रायः धेरैलाई देखिन्थ्यो । आगमन कक्ष तिर जाँदा सधै मुटु फुट्ला जस्तो हुन्थ्यो नेपालीको बिजोग देखेर । कतार आइपुगेर पनि कम्पनी लिन नआएर ६-७ दिन देखि अलपत्र परेका नेपालीको बिजोक हेर्ने कि, भोक भोकै ब्याग सिरानी हालेर चिसो सिमेन्टमा सुतेकालाई हेर्ने ? खाना खाजा खुवाउं कति जनालाई सकिन्छ ? आफै पनि कमाउन भनेर आएको हो नखुवाउँ रसिला आँखा र भोको पेटका आफ्नै देशका दाजुभाईलाई देखाएर एक्लै कसरी खाने ? अर्कोतिर कम्पनिले उपलब्ध गराएका क्याम्पहरुको बयान गरि साध्यै छैन । ५०-५२ डिग्रीको तापक्रम, एउटै कोठामा १८-२० जनाको भिड, न एसी छ न खानेपानी । त्यति मात्रै हो र अधिकाँसको तलव ४ सय रियाल भन्दा कम । त्यो पनि ६-८ महिना भन्दा बढी समय देखिको बाँकी । न छोडेर जान मिल्ने न काम गरेर फाइदा । उजुरी गर्ने एकमात्र निकाय नेपाली दुतावासको छायाँ चित्र मैले माथी नै उल्लेख गरिहालें । दुतावासका कर्मचारी वा राजदुतलाई भेट्नु पर्यो भने कुनै ब्यवसायी वा दलालले फोन गरेर भेटदिनु भन्ने आदेश चाहिने अन्यथा ढोकैबाट किन यहाँ आउँछस् काम गर्न आएको गएर काम गर भन्ने तयारी जवाफ आइहाल्थ्यो । दोहा एयरपोर्टमा नेपाली उत्रे देखि कम्पनीको क्याम्पसम्म नेपालीले भोगेको दुःखको पोको बोकेर सन २००७ को नोभेम्बरमा श्रम मन्त्रालय पुगें । तत्कालिन श्रमराज्य मन्त्री रमेश लेखकलाई उहाँकै कार्यकक्षमा भेटेर कतारमा श्रमरत नेपालीले दोहा बिमास्थल उत्रिएदेखि फर्कंदासम्म भोग्नु परेको दुःख कष्ट र हैरानीको बारेमा बेलिबिस्तार लगाएँ ।sunami म बिदामा नेपाल आउन जानु र कतारको लागि राजदुतमा नियुक्त भएर डा.सुर्यनाथ मिश्र कतार आउनु एकै पल्ट परेछ । मेरो कुरा सुनिसके पछी मन्त्री लेखकले तत्कालै राजदुत मिश्रलाई कतारमा फोन गरे करिव ५ मिनेटको फोन वार्तापछि मन्त्री लेखकले आफु जनावरीमा श्रम सम्झौताको लागि कतार जान लागेको र वास्तविकता बुझेर जे गर्न सकिन्छ त्यो गर्ने बताएपछि म आश्वासनको पोको बोकेर कतार फर्किएँ । कतार फर्किएको हप्तादिनपछि नयाँ राजदुत भेट्न दुतावास पुगें र स्लीपमा आफ्नो नाम लेखेर राजदुतकोमा पठाएँ । प्रायः पानी नपर्ने कतारमा त्यसदिन तेस्रोदिनको झरी परिरहेको थियो । स्लिप पठाएको करिव १० मिनेट पछी राजदुतको दर्शन पाएँ । सामान्य परिचय पश्चात मैले कतारमा श्रमिकको अवस्था र एयपोर्टमा भएको देशको बेइज्जतीको फेहरिस्ता प्रस्तुत गर्दै भनें महामहिम ज्यू अहिले पानी परिरेको छ कतारमा श्रमरत करिव १ लाख ५० हजार (त्यतिबेला कतारमा नेपालीको संख्या करिव १ लाख ५० हजार थियो अहिले ४ लाखा नाघेको अनुमान छ) नेपाली मध्ये अधिकाँशको अवस्था नाजुक छ, पानी चुहिएर सुत्न पाएका छैनन, पकाउने र खाने ठाउँ छैन । यहाँ श्रमका लागि आउनेको एयरपोर्ट देखिकै बिजोग नियाल्नुस, देश र देशवासीको कसरी बेइज्त भइरहेको छ आफै देख्नु हुन्छ भनें । मैले उहाँलाई पैसा कमउने मात्रै धोको बोकेर महामहिमको पगरी गुथेर आउनु भएको भए मेरो पनि भन्नु केही छैन, हैन नेपालीको लागि केही गर्छु भनेर आउनु भएको भए एयरपोर्टमा अलपत्र परेकाहरुबाट तत्काल उद्दार सुरु गर्नुस र महिना भरि काम गरेर पनि तलव नपाउनेहरुलाई तलव दिलाउनमा पहल गरिदिनुस् भनेर आग्रह गरें । मेरो कुरा सुनिसकेपछि राजदुत मिश्रले भन्नुभयो दिपक जी हुन त मेरो नियुक्ति ४ बर्षको लागि हो र नेपाली श्रमिकको हितमा केही गर्छु भनेर नै आएको हुँ । यता आउनुपुर्व नै मैले यहाँको बारेमा अधिक जानकारी लिइसकेको छु । मलाई थाहा छ यहाँ नेपालीलाई ठग्ने र बिचल्ली बनाउनेमा मुख्य हात नेपाली ठग दलालहरुकै छ र यिनिहरुको नेपालमा पनि माथील्लो निकायसम्म पहंँच छ । पहिले त यिनिहरुले मलाई पैसाको प्रलोभनमा पार्न सक्छन । तर म पैसाको प्रलोभनमा पर्नेवाला छैन । त्यसपछी यिनिहरुले मलाई नेपाल फिर्ता पठाउन नेपालमा माथील्लो निकायसम्म पहल गर्नेछन । यो सबै बुझेर मैले आफुले अध्यापन गराउँदै आएको कलेजमा अवधि नतोकी फर्केर नआउँदा सम्मको लागि भनेर बिदा स्विकृत गराएर आएको छु । तपाईं ढुक्क हुनुस जहिलेसम्म म कतारमा रहन्छु नेपाली श्रमिकको हितमा मेरो तर्फबाट गर्न सक्नेजति सबै गर्ने छु । बरु मलाई तपाईहरुको साथ र सहयोग चाहिन्छ भनेर उहाँले प्रष्ट भन्नुभयो । मैले भनें तपाईलाई थाहा छ यहाँ श्रमरत अधिकाँश श्रमिक अनपढ र निरक्षर छन । आफुसम्म श्रमिकको सहज पहुँच होस भन्ने चाहनु हुन्छ भने पहिले यो स्लिीप लेखेर तपाईको कार्यकक्षमा आउनुपर्ने बाध्यता बन्द गर्नुस ता कि श्रमिक आफ्नो दुःख बोकेर तपाईको कोठामा सहजै प्रवेश गर्न सकुन् । समस्याको समाधान होस नहोस त्यो दोश्रो पाटो हो तर आफ्नो पिडा आफ्ना अभिभावकलाई सुनाउन पाउँदा पनि आधा समस्या समाधान भएको उनीहरुले महशुुश गर्ने छन । दोस्रो एयरपोर्टमा आइपुगेर बिचल्ली परेकाहरुलाई दुतावासमा राखी उनीहरुको कम्पनी खोजेर पठाउने ब्यवस्था तल्काल गर्नु पर्यो । चिसो छिडीमा भोक भोकै ८-१० दिन देखि ब्यागको सिरानी हाली सुतेका छन । न साथमा केही खानेकुरा छ, न किनेर खाने पैसा छ, न कसैले सम्पर्क गरेर उद्दारको पहल गर्ने अनुनय बिनय नै गर्न सक्छन । बिचल्लीले पनि पराकाष्टाको सिमा नाघेको छ । राजदुत मिश्रले तत्कालै यि दुबै काममा तदारुकता देखाउनु भयो । दुतावास परिसरमा कोठाको ब्यवस्था गरी सेल्टरहाउस सञ्चालन गर्नुभयो । जहाँ तत्कालिन अवस्थामा शरण लिनेको संख्या ४० देखि ५० जनासम्म हुने गर्दथ्यो । साथै हरेक २४ घण्टामा कम्तिमा एक पटक दोहा विमानस्थलमा कम्पनी नभेटेका र अलपत्र परेकाहरुको उद्दार कार्यका लागि एकजना कर्मचारी पठाउने व्यवस्था गर्नुभयो । यसैगरी राजदुतको कार्यकक्षमा कसैलाई नसोधी जो कोहि श्रमिक सहजै पुग्न सक्ने ब्यवस्था गर्नुभयो । डा. सुर्यनाथ मिश्र कतारको राजदुत भएर आउनु अघि यहाँका अधिकांश नेपालीको तलव ४ सय रियाल भन्दा कम थियो । उहाँ जाने बेलासम्म यसलाई एक हजार पुर्याएर जानु भयो । कुनै पनि कम्पनीले यहाँको श्रम कानुनले ब्यवस्था गरेको बर्षको २१ दिनको लिभ पे र २१ दिनको ग्राज्यूटी गरि ४२ दिन बराबरको कामदारले पाउनु पर्ने रकम दिदैनथे । त्यसलाई दिलाउनमा पहल गर्नूका साथै त्यो कामदारको अधिकार भएकोले छोडेर नजान नेपाली कामदारलाई पनि प्रोत्साहन दिनु भयो । ब्यक्तिगत भिसा किनबेचको अवस्था अन्त्य गर्न गरेको पहल तत्कालिन प्रधानमन्त्री बाबुराम भट्राई र बैदेशिक रोजगार बिभागका तत्कालिन महानिर्देशक पुर्णचन्द्र भट्राइको सहयोगमा सफल हुनुभयो । जसका कारण हजारौ नेपाली बिचल्ली हुनबाट जोगिए । ठगि गर्नेले अनेक चोरबाटो अवलम्वन गर्दछन । कतारमा नेपाली कामदारलाई ठगि गरी अलपत्र पार्नेको पनि कमि थिएन । उनीहरु मागपत्र दुतावासबाट प्रमाणित नगराई यहाँको चेम्बरअफ कमर्सको मात्रै स्टाम्प लगाएर कामदार ल्याउंथे र पालै पालो ८-१० ठाउँमा बिक्रिगरी अन्त्यमा मर्नुन बाँच्नुको दोसाँधमा छोडीदिन्थे । कामदार आएको ४-५ बर्षसम्म पनि उसलाई आफु कुन कम्पनीको काममा आएको हो वा आफुलाई कसले ल्याएको हो भन्ने थाहा हुदैनथ्यो । किनकी भिषा एउटा कम्पनीको हुन्थ्यो तर उ कहां कहां बेचियो थाहा पत्तो हुन्नथ्यो । यो अवस्थामा राजदुत मिश्रले दुतावासबाट अनिवार्य प्रमाणिकरण गरेकालाई मात्र श्रम स्विकृती दिन वैदेशिक रोजगार बिभाग र अध्यागमन बिभाग मार्फत गरेको पहलले यहाँ आउनेको समस्या ९० प्रतिशतले कमि आएको थियो । एउटा नेपालीलाई ठग्न अर्को नेपालीको सहयोग बिना कुनै बिदेशिलाई सहज हँुदैन । बिदेशिको गुलामी गरी आफु मोटाएर सोझा निमुखा नेपाली ठग्ने र ठग्नको लागि बिदेशिलाई सहयोग गर्ने करिव आधा दर्जन नेपालीलाई राजदुत मिश्रले स्वदेश फर्काएका थिए । त्यतिमात्रै होइन उनले कामदारको मागपत्र स्विकृत गर्न दुतावास आउँदा सम्बन्धित कम्पनीको जनसम्पर्क अधिकृत वा मेनेजर स्वयं आउनु पर्ने र यसअघि उक्त कम्पनीमा काम गरेका नेपाली कामदारले अन्तिम महिनासम्मको तलव भुक्तानी पाएको विवरण ल्याउनु पर्ने ब्यवस्था समेत गरेका थिए । जसका कारण नेपाली कामदार चाहिने कम्पनीहरु जो त्यसअघि बिभिन्न बहानामा ४-५ महिनाको तलव बांकी राख्थे, उनीहरु समयमा तलव दिन बाध्य हुन्थे । नेपालीका बिषयमा भएका समस्याहरुको सम्बोधनमा यहाँका सम्वन्धित निकायले आलटाल गर्दा उनी कतिपटक सोझै श्रम मन्त्रीकोमा पुगेर समस्या समाधान गरेका कयौ उदाहरणहरु छन । कतारमा नेपाली श्रमिकको हितमा तत्कालिन राजदुत डा. सुर्यनाथ मिश्रले जात, जाती, क्षेत्र, बर्ण, धर्म समुदाय, गुट, उपगुट, यो पार्टी, उ पार्टी नभनी केवल सरकारको प्रतिनिधीको रुपमा निःस्वार्थ काम गरेकै कारण उनले कतार छोडेको झण्डै ४ बर्ष पछिसम्म पनि यहाँ उनकै चर्चा छ । कतारमा नेपाली श्रमिकका पक्षमा उनले गरेका कामहरुको जति चर्चा गरेपनि कम हुन्छ । त्यसैले त यहाँ उनको कार्यकाललाई नेपालीहरु स्वर्णकाल भन्न रुचाउंछन । (कतारमा लामो समयदेखि कार्यरत पुडासैनी नेपालमा रहँदा पत्रकारितामा क्षेत्रमा पनि सक्रिय थिए । नेपाल पत्रकार महासंघ, कतार शाखाका उपाध्यक्ष पुडासैनी कतारमा पनि पत्रकारिता क्षेत्रमा सकृय छन्) यो पनि पढ्नुहोस् कतारमा नेपाली ठग्नेलाई नेपाल फिर्ता

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: