नेपाली कामदारको तलव बृद्धि

सोल, असार २४- दक्षिण कोरियामा कार्यरत नेपाली कामदारहरुले २०१६ देखि न्यूनतम तलब १ लाख १५ हजार रुपैयाँ पाउने भएका छन् । यहाँको ज्याला निर्धारण समितिले न्यूनतम पारिश्रमिकमा ८.१ प्रतिशतले बृद्धि गर्ने निर्णय गरेपछि साना तथा मझौल उद्योगहरुमा काम गर्दै आएका नेपाली कामदारहरुले न्यूनतम पारिश्रमिक १ लाख १५ हजार रुपैयाँ अर्थात १२ लाख ६० हजार २ सय ७० वन पाउने भएका हुन् । तलब बृद्धिसँगै स्वदेशी तथा बिदेशी कामदार अरु उत्साहित भएका छन् । समितिको कार्यालय सेजङ सी थेजनमा बिहिबार बिहान १ बजे भएको मतदानमा बहुमतले २०१६ को जनवरीबाट लागु हुने गरि ८.१ प्रतिशतले बृद्धि गर्ने पक्षमा मत दिएपछि समितिका अध्यक्ष पार्क जोन सङले त्यसको घोषणा गरेका थिए । नयाँ तलवमानअनुसार कोरियाका मजदूरहरुले प्रतिघण्टा ६ हजार ३० वन र प्रति महिना न्यूनतम १२ लाख ६० हजार २ सय ७० वन (१ डलर बराबर १०१.६९ रुपैयाँ, १ हजार वन) पाउने भएका हुन् । हाल यहाँका मजदूरहरुले प्रतिघण्टा ५ हजार ५ सय ८० वन पाउँदै आएका छन् । यो तलबबृद्धि २००९ यताकै ठूलो अंक हो । तलव निर्धारण गर्न मंगलबार साँझबाट शुरु भएको बैठक बुधबार बिहान साढे पाँच बजेसम्म सरकारी अधिकारी, मजदूर प्रतिनिधि र रोजगारदाताबीच ११ पटकसम्म वार्ता भएपनि समझदारी हुन सकेको थिएन । १२ औं वार्ताले बिहीबार बिहान १ बजे मतदान गर्ने निर्णय गरेको थियो । २७ सदस्यीय ज्याला निर्धारण समितिमा मजदूर प्रतिनिधि ९, सरकारी अधिकारी र रोजगारदाताका तर्फबाट ९ जनाप्रतिनिधि रहने व्यवस्था रहेको छ । तीमध्ये बिहिबार भएको मतदानमा मजदूर प्रतिनिधि ९ जना र कम्पनी व्यवस्थापनको तर्फबाट २ जनाले मतदान बाहिस्कार गरेका थिए भने १६ जनाले ८.१ प्रतिशतको पक्षमा मतदान गरेकाथिए । कोरियन मजदूर महासंघ (केसीटीयू), प्रवासी मजदूर यूनियन (एमटीयू) लगायतका मजदूर संगठनहरुले ओईसीडीका मुख्य सदस्यहरु मध्ये मजदुरको तलब कोरियामा सबैभन्दा कम भएको, महंगी बृद्धि र प्रवासी, अस्थायी तथा महिला मजुदूरको जीवनस्तर उकास्न ७९ प्रतिशत (प्रतिघन्टा १० हजार वन) बृद्धि गर्नुपर्ने माग गर्दै आएका छन् । आज भएको निर्णयको श्रम तथा रोजगार मन्त्रालयले विभिन्न पक्षमा अध्ययन गरेर अगष्ट ५ मा स्वीकृत गर्नेछ । कोरियामा जुन २९ अगावै अर्को वर्षको तलब निर्धारण गर्ने प्रावधान भएपनि तीन पक्षको असमझदारीका कारण हरेका वर्ष मतदान हुने गरेको छ । यो वर्ष पनि सरकारले पार्क जोन सङको अध्यक्षतामा न्यूनतम ज्याला निर्धारण समिति गठन गरेको थियो । कोरियामा २००३ देखि प्रत्येक बर्ष मजदूरहरुको तलव बृद्धि हुँदै आएको छ । २०१६ का लागि निर्धारण गरिएको ८.१ प्रतिशत गत वर्षभन्दा १ प्रतिशतले बढी हो । कोरियामा २००९ मा ६.१ , २०१० मा २.७५ ,२०११ मा ५.१, २०१२ मा ६, २०१३ मा ६.१ र २०१४ मा ७.१ प्रतिशत बृद्धि भएको थियो । कोरियाली मजदूर इतिहासमा सबैभन्दा धेरै २००४ मा १३.१ प्रतिशततलव बृद्धि भएको थियो । परिवर्तित नयाँ तलले कोरियाको विभिन्न उद्योगहरुमा कार्यरत स्वदेशी तथा विदेशीमध्ये ५० लाख न्यून आय भएका मजदूरहरुलाई फाइदा पुग्ने छ । नेपाल सहित एसियाका १५ देशका युवाहरुको आकर्षक रोजगारी स्थल बन्दै गएको कोरियामा प्रत्येक वर्षको तलब बृद्धिले ३० हजार नेपाली कामदारलाई प्रत्यक्ष फाइदा हुने छ । कान्तिपुरबाट यो पनि पढ्नुहोस् कतारमा नेपाली ठग्नेलाई नेपाल फिर्ता

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय