दुवईमा आधा पेट खाएर पनि कति रात काटियो : दीपा पाण्डे

विश्वकै चर्चित व्यापारिक तथा पर्यटकिय गन्तव्यका रुपमा विकास हुँदै गएको यूएईमा बर्षेनी रोजगारीका लागि आउने नेपालीको संख्या ठूलै छ । पछिल्लो समयमा त्यसरी आएका नेपालीले आफ्नै व्यवसाय समेत सुरु गरेका छन् ।

व्यापारिक दृष्टिले सात इमिरेटमध्ये पहिलो तर क्षेत्रफलका हिसाबले दोस्रो सहर दुबईमा नेपाली व्यवसायीहरुको संख्या १ सय ३० नाघेको तथ्यांक नेपाली बिजनेश काउन्सिल दुबईसँग छ ।

त्यसैमध्ये फास्टफुड रेस्टुरेन्टको क्षेत्रमा धेरै नेपाली कृयाशिल छन् । नेपाली स्वादमा दालभात, तरकारी, अचार, ढिंडोदेखि लिएर मःमः र चाउमिनका स्वादिष्ट परिकार तयार पारी परदेसिएका नेपालीहरुलाई नेपाली स्वाद पस्किरहेका रेस्टुरेन्टको लर्कोमा सिल्भर स्पुन नेपाली रेस्टुरेन्टले आफ्नो छुट्टै स्थान बनाएको छ ।

यस नेपाली रेस्टुरेन्टको तीन जना सञ्चालकमध्ये युवा व्यावसायी दीपा पाण्डे पनि एक हुन्, जो युएईको नेपाली समुदायमा सफल नेपाली व्यवसायीका रुपमा परिचित छिन् ।

लुम्बिनी वेल्फेयर सोसाइटीमार्फत महिलाहरुलाई समाजसेवामा लाग्न प्रेरित गर्ने पाण्डे बुटवलकी स्थायी बासिन्दा हुन् । आजभन्दा १४ वर्षअघि एक कम्पनीमा रिसेप्सनिस्टको काम गर्न आएकी पाण्डे प्रोफेसनल ब्युटिसियन पनि हुन् । रेस्टुरेन्टका अतिरिक्त पार्लर समेत सञ्चालन गरिरहेकी पाण्डेसँग उनको व्यापारिक सफलता, संघर्ष र भावी योजनाबारे गरिएको कुराकानीको सम्पादित अंश:

तपाईं यूएई कुन उद्धेश्य बोकेर आउनुभएको थियो ? म सन् २००० तिर एक भारतीय कम्पनीमा ५ सय मासिक तलवमा काम गर्न आएकी थिएँ । रिसेप्सनमा बस्नुपर्ने काम थियो । काम ठिकै भए पनि कमाइ राम्रो नभएको कारण पार्लरको टे«निङ लिएँ । पार्लर सिकिसकेपछि मैले ब्युटिसियन भएर काम गरें । पारिवारिक जिम्मेवारी आफ्नै काँधमा आएका कारण पैसा कमाउने उद्धेश्य नै प्राथमिकतामा थियो ।

सुरुका दिनमा केकस्ता संघर्षहरु गर्नुभयो ? संघर्षको त के कुरा गर्नु ? जीवनको अर्को नाम नै संघर्ष हो । रहरले को परदेश आउला र ? सुरुमा ५ सयको तलबले के हुन्थ्यो र ? जिम्मेवारी पनि धेरै भएपछि काम गर्दै पार्लर सिकें । आधा पेट खाएर पनि दुबईमा कति रात काटियो । यहाँसम्म आइपुग्न धेरै संघर्ष गरेकी छु । अझै कति गर्नुछ संघर्ष ? त्यो थाहा छैन ।

व्यापार गर्ने सपना कहिलेदेखिको हो ? मेरो पारिवारले व्यापार गरेको थिएन । त्यसैले हाम्रो परिवारमा व्यापार गर्ने म नै पहिलो व्यक्ति हुँ । व्यापारमा सफल हुनलाई पारिवारिक अनुभवले सहयोग गर्ला तर मेरो मामिलामा मैले ठूलै चुनौती स्विकार गरेर व्यापारमा हात हालेकी हुँ । व्यापार गर्ने सपना सानैदेखि थियो । समयले साथ थियो । पार्टनर असल भएका कारण मेरो सपना केही हदसम्म सफल भएको छ ।

रेस्टुरेन्टको क्षेत्रलाई रोज्नुको कारण के हो ? बरदुबई नेपालीहरुको भेला हुने मुख्य थलो थियो । हामी शुक्रबारे छुट्टीमा नेपाली खाना खान यहाँका रेस्टुरेन्टमा जान्थ्यौं । जताततै नेपालीहरुको भीड हुन्थ्यो । शुक्रबार एकै दिनको व्यापारले सात दिनको ग्यापलाई कभर गर्ने मेरो अनुभव थियो । नेपालीहरुले नेपाली स्वाद नै रोज्छन् । सर्भिस र स्वादको संगम भयो भने कसो नचल्ला भन्ने बुझेर रेस्टुरेन्टको क्षेत्र रोजेको हो ।

तपाईंको रेस्टुरेन्टको राम्रो पक्ष के हो ? यहाँको राम्रो पक्ष भनेको नेपालीपन हो । स्वादमा नेपालीपन अनि सर्भिसमा आफ्नोपन । हामी सबै ग्राहलाई भित्री दिलदेखि मुस्कुराएर स्वागत गर्छौं । हाम्रा परिकारहरु स्वादिष्ट, स्वच्छ, ताजा र सफा छन् भन्ने धेरै नेपालीहरुले बुझिसकेका छन् । हामी सर्भिसलाई अझ स्तरवृद्धि गर्ने अभियानमा छौं ।

तपाईंहरुको लक्षित ग्राहक को हुन् ? उनीहरुलाई कसरी आकर्षित गर्नुहुन्छ ? हाम्रोमा आउने भनेका नेपाली नै हुन् । नेपालीहरुको आगमन हाम्रा लागि सुखद् पक्ष हो । नेपाली खाना नै हाम्रो मुख्य मेनु हो । सस्तो दरमा स्वादिष्ट खाना खुवाउनेमा हामी पनि पर्छौं । हाम्रोमा आएका ग्राहक अरुतिर बिरलै जान्छन् । उनीहरु हाम्रो सेवा र सत्कारबाट प्रभावित छन् । नेपाली रेस्टुरेन्ट त धेरै छन् तर सिल्भर स्पुन एउटै छ र त्यो नै काफी छ भन्ने हाम्रा ग्राहकको मनमा छाप परिसकेको छ । उनीहरुलाई आकर्षित गर्न हामी क्रियाशील छौं ।

व्यापारमा कति जना पार्टनर हुनुहुन्छ । कसरी कार्यविभाजन गर्नुभएको छ ? सुरुमा मैले एक्लै यो रेस्टुरेन्ट सञ्चालनमा ल्याएकी हुँ । पछि कामको चाप बढी र मेरो अर्को पनि व्यवसाय भएका कारण दुई जना पार्टनर थपेकी छु । तीन जनाले आआफ्नो जिम्मेवारी निर्वाह गरेका छौं । सहकार्य र सहयोग भएमा अगाडि बढ्न सकिन्छ । सबैजनाले आफ्नो क्षेत्रबाट यो व्यवसायमा टेवा पुर्याइरहनुभएको छ ।

तपाईंका योजनाहरु के छन् ? योजनाहरु त धेरै छन । सबैभन्दा पहिला व्यापारलाई व्यापक गर्ने भन्ने नै योजना छ । यसको अर्को शाखा खोल्ले विषयमा छलफल हुँदैछ ।Deepa 2

समाजसेवामा निकै रुचि राख्नुहुन्छ रे नि ? म मध्यम वर्गबाट आएकी मानिस हुँ। मैले दुःख भनेको के हो भन्ने बुझेकी छु । म महिला र बालबालिकाको समस्यालाई नजिकबाट महसुस गर्न सक्छु । म मेरो व्यापारको नाफाबाट आएको रकमको केही प्रतिशत समाजसेवामा प्रदान गर्छु । यो सुन्दा जोकोहीले विश्वास नगर्ला तर मैले हिजोका दिनदेखि गरिआएकी छु । म लुम्बिनी वेल्फेयर सोसाइटीको महिला विभाग प्रमुख भएकी कारण पनि मैले विभिन्न सोसियल कामहरुमा डोनेट गरिरहेकी छु । बुटवलका अपाङ्ग बालबालिकाहरुका लागि स्थापित नेपाल अपाङ्ग आश्रममा म यही फेब्रुअरी महिनामा नेपाल गएका बेला १ लाख भन्दा बढीका भौतिक सामग्री प्रदान गरिसकेकी छु । धेरै ठाउँमा सहयोग गरेकी छु । प्रचारका लागि सहयोग गरेकी छुइनँ । सन्दर्भ परेका कारण मात्र भनेकी हुँ । सहयोग गरेर प्रचार गर्नु भनेको अर्थात् प्रचारका लागि सहयोग गर्नु भनेको त्यो तथाकथिक समाजसेवी हुनु हो । त्यस्ता समाजसेवी नेपालमा मात्र होइन, यता पनि धेरै छन् ।

आरपी सहयात्री, दुवई

तपाईको विचार लेख्नुहोस् 

Deepa 1

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: