
काठमाडौं, असार १३- बंगलादेशले आगामी ६ महिना भित्र ५ लाख कामदार मलेसिया पठाइसक्ने ईच्छा व्यक्त गरेको छ । मलेसिया र बंगलादेशबीच कामदार लैजाने सहमति पछि बंगलादेशले यस्तो ईच्छा जनाएको हो । नेपालले आगामी असार २१ देखि निःशुल्क भिसा र निःशुल्क टिकटमा मात्र कामदार पठाउने घोषणा गरेको अवस्थामा मलेसियाले दवावस्वरुप बंगलादेशी कामदार लैजाने भन्दै एकपछि अर्को समाचार सार्वजनिक गरिरहेको छ । मलेसियामा कामदारलाई तीन बर्षको श्रम सम्झौता सहित सोही अनुरुपको भिसा दिइने र आफ्नोे बसाई लम्व्याउन चाहनेहरुलाई अर्को एक बर्ष भिसाको म्याद थप्ने अवशर दिने तयारी छ । बंगलादेश र म्यानमारबाट पछिल्लो समयमा मलेसियामा अवैधानिक रुपमा पस्ने क्रम बढिरहेको अवस्थामा दुई देशबीच यस्तो सहमति भएको हो । बंगलादेशको बैदेशिक रोजगार सम्वन्धि मन्त्रालयका एक अधिकारीले यसअघि सन् २०१२ मा गरिएको दुई देशका सरकारबीचको सम्झौताले कामदारको अपेक्षा पुरा गर्न नसकेको सन्दर्भमा हाल नीजि क्षेत्रबाट कामदार पठाउने व्यवस्थाले सहज बनाउने अपेक्षा गरिएको बताएका छन् । बीटुबी भनिएको पछिल्लो सम्झौतापछि दुवै देशका नीजि क्षेत्रका म्यानपावर व्यवसायीले कामदार लिनेदिने काम गर्ने बंगलादेशी रोजगार मन्त्रालयका सहसचिव काजी हवुल कलामलाई उध्रित गर्दै डेलि स्टारको अनलाइन संस्करणले जनाएको छ । यसअघि बंगलादेशी समाजकल्याण मन्त्री खाण्डकेर मस्रुफ होसिन र मलेसियाका गृहमन्त्री अहमद जाहिद हमादीबीच मलेसियाको पुत्रजयामा कामदार लिनेदिने सम्वन्धमा सम्झौता भएको थियो । खाण्डेकरका अनुसार कामदारको शोषण हुन नदिन तथा उनीहरुलाई वास्तविक लागत भन्दा बढी लिन नपाउने तथा उनीहरुको सुरक्षामा रोजगारदातालाई जवाफदेही बनाउने दुवैपक्षबीच सहमति भएको छ । असुरक्षाका वावजुद मलेसियामा आफ्ना कामदार पठाउन बंगलादेश तिब्र इच्छुक रहेको छ । नेपालले निःशुल्क भिसा र निःशुल्क टिकटमा मात्र कामदार पठाउने घोषणा गरेपछि यसको प्रत्यक्ष फाइदा बंगलादेशलाई पुग्ने देखिएको छ । नेपाललाई निःशुल्क लागु नगर्न दवाव दिने उद्धेश्यले मलेसियाले पनि केहिसमययता लगातार बंगलादेशी कामदार लैजाने बताउँदै आएको छ । यो पनि पढ्नुहोस् राजदुत भएपछिको पहिलो कामः नेपालीको तलव बृद्धि