विदेशमा हण्डर खेपेर फर्केपछि स्वदेशमै सुख

पर्वत- क्याङ–९ हलहलेका गंगा पुन धेरै कमाउने सपना लिएर २०७० फागुनमा कतार गए। त्यहाँ उनले नराम्रोसँग दुःख पाए। एक लाख ५० हजार खर्चेर बिदेसिएका उनी चार महिना नपुग्दै अर्को लाख खर्चेर घर फर्के। हलहलेका प्रसाद पुन पनि विदेशमा सजिलै पैसा कमाउन सकिने ठानेर दुबई हान्निएका थिए। उनले त रोजगारदाताको यातना नै सहनुपर्यो । नौ महिनापछि ८० हजार खर्च गरेर स्वदेश फर्केको उनले सुनाए। दुबई जाँदा उनलाई एक लाख ३० हजार ऋण लागेको थियो। गंगा र प्रसाद जस्तै क्याङ–९ कै जंगबहादुर पुन पनि साउदी पुगेका थिए। ‘नेपालमा छँदा वैदेशिक रोजगारीलाई जुन दृष्टिले हेरिएको थियो, बिल्कुल फरक रहेछ, चार महिनामै घरबाट पैसा झिकाएर नेपाल फर्केका जंगबहादुरले भने। छोटो समयमा धेरै कमाउने सपनाका साथ विदेश गएर अनेकौं हण्डर खाई फर्केका यी तीन युवा अहिले जिल्लामै नमूना व्यवसायी बनेका छन्। रोजगारीको नाममा पैसा डुबाएका उनीहरुले सञ्चालन गरको बाख्रा फार्मले एक वर्षमा नौ लाख आम्दानी दिएको छ। तीनजनाले ५–५ लाख रुपैयाँ लगानी गरेर गत साउनबाट सञ्चालन गरेको फार्ममा बोका बेचेर नौ लाख २० हजार रुपैयाँ कमाएको गंगा पुनले बताए। ‘ बैदेशिक रोजगारीमा जाँदा ऋण लाग्यो भनेर डराएनौं, बरु विदेशमा बगाउने पसिना आफ्नै गाउँमा बगाउनुपर्ने रहेछ भनेर बाख्रा फार्ममा लगानी गर्यौं , गंगाले भने। उनका अनुसार साउनमा खरिजातका ६० वटा माउ बाख्रा संकलन गरी सुरु गरेको फार्ममा अहिले एक सय ६ बाख्रा छन्। ६६ वटा बोका बेच्यौं, अब २३ वटा बेच्ने अवस्थाका छन्, उनले भने, ‘अहिलेसम्म नौ लाख २० हजार रुपैयाँ आम्दानी गर्न सफल भएका छौं। उनका अनुसार अहिलेसम्म न्यूनतम १० हजारदेखि १८ हजार रुपैयाँसम्ममा बोका बिक्री भएका छन्। खरिजातका बोका भएकाले सदरमुकाम कुश्मा र पोखराबाट ठूलो माग आइरहेको उनले जानकारी दिए। ‘स्थानीय खरिजातको बोकाको मासु पोखरामा खोसाखोस हुने रहेछ, त्यसैले फार्ममै लिन आउँछन्, गंगाले भने, ‘माग अनुसार बिक्री गर्न सकेका छैनौं। हलहलेमा स्थानीय बोकाको मासु किलोको पाँच सय रुपैयाँ पर्छ। पोखरामा हजार रुपैयाँ रहेको गंगाले बताए। नजिकै सार्वजनिक जंगल भएकाले चराउन पनि उनीहरुलाई सजिलो छ। ३–४ जना मिलेर पालैपालो बाख्रा चराउने गर्छौं, प्रसादले भने। तीनैजनाका परिवार बाख्रापालन व्यवसायबाट सन्तुष्ट छन्। परिवारका सबैजना घरमा सँगै बस्न पाइएको छ, कमाई पनि छ, प्रसादकी श्रीमती उषाले श्रीमानको व्यवसायको तारिफ गरिन्। नागरिकबाट यो पनि पढ्नुहोस राजदुत भएपछिको पहिलो कामः नेपालीको तलव बृद्धि

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय