
काठमाडौं – अभिमुखीकरण तालिम नदिई कामदारलाई बैदेशिक रोजगारमा पठाउनेक्रमलाई रोक्न सरकारले सम्बन्धित संस्थाले तालिम दिइरहेकै बेला अनलाइन भिडियो जाँच गर्ने भएको छ। तालिममा सहभागी नभएकालाई वा तोकिएको अवधि र पाठ्यक्रमअनुसार तालिम नदिने प्रवृत्ति बढेपछि तालिम दिनुअघि दर्ता गराउने र तालिम दिँदा अनलाइन भिडियो परीक्षण गर्ने व्यवस्था गर्न लागिएको हो। संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले श्रम तथा रोजगार मन्त्रालयलाई केही दिनअघि अनलाइन भिडियो जाँच गर्न निर्देशन दिएको थियो। सोही निर्देशनपछि भिडियो परीक्षण कार्य प्रभावकारीरूपमा अघि बढाउन लागिएको श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको छ। सरकारले वैदेशिक रोजगारीका क्षेत्रमा विकृति थप चुलिन थालेपछि कडाइ गर्न थालेको हो। शुक्रबारमात्रै खाडी र मलेसियामा कामदार निःशुल्क पठाउने निर्णय गरेको छ। सरकारले तोकेको शुल्कभन्दा दोब्बर बढी असुल्न थालेपछि भिसा र टिकट निःशुल्क ल्याउने कम्पनीलाई मात्रै श्रम स्वीकृति दिने निर्णय गरिएको हो। हाल वैदेशिक रोजगारीमा सरकारको अनुमति लिएर ३८ लाख बढी नेपाली गइसकेका छन्। अन्नपूर्ण पोष्टबाट यो पनि पढ्नुहोस् राजदुत भएपछिको पहिलो कामः नेपालीको तलव बृद्धि