मेघराज सापकोटा, युएई- यो लेख कसैलाई खुइल्याउन लेखेको हैन, खुईलिईसकेको कुरा चाँही लेखेको हो । पोतिएको सक्कली रङको कुरा गरेको हैन कि उडेको रङलाई फेरी पोत्न सकियोस भन्ने मनसायले लेखेको हुँ । तसर्थ खुइलिसकेका र रङ उडेर फुक्का हुने समाजसेवीहरुले मन नदुखाउनु होला किनकी अब खुइलिन र रङ उड्न बाँकी केही रहेन । बरु बचेको रङलाई बचाउन लाग्नु भए बेश । जो जो खुइलिन र रङ उडाउन बाँकी हुनुहुन्छ, सक्नु हुन्छ भने बाँकी ईज्जत बचाउनुहोस, सक्नुहुन्न भने यस्तै रहिरहनु होला । प्रसँग तिर जाउँ, गत हप्ता सम्पन्न नेपथ्य कन्सर्ट । युएईमा पहिलो पल्ट नेपथ्य ब्याण्डले आफ्नो कन्सर्ट गर्दै थियो । त्यो कन्सर्ट ब्यापारिक प्रयोजनको लागि थियो । ब्यापारिक प्रयोजनका लागि गरिन लागेको त्यो कार्यक्रमममा कसैले नाफा कमाएर महल नै खडा किन नगरोस मैले भने जाने निधो गरेको थिएँ । किनकी नेपथ्य ब्याण्ड प्रति मेरो माया र सम्मान थियो । नेपथ्य ब्याण्ड मेरो देशको लागि गौरब थियो । त्यसैले कन्सर्ट हुँदैछ भन्ने सुन्ने बित्तिकै मैले कसले र किन गर्दैछ भनेर सोधिन । सोध्न आवश्यक थिएन । नेपथ्य ब्याण्डका आयोजक दुई लक्का जवान राजन अधिकारी र जस पाइजा रहेछन । म दुबै जनालाई चिन्दिन थिएँ । चिन्न आवश्यक पनि थिएन । किनकी म आयोजकलाई हैन, नेपथ्यलाई हेर्न जादै थिएँ । मलाई ती आयोजकले कहिल्यै फोन गरेर निम्ता गरेनन । ज्यु हजुर पनि गरेनन । गर्नु आवश्यक पनि थिएन । किनकी म आयोजकलाई हैन, नेपथ्यलाई सुन्न जादै थिएँ । मैले आयोजक कुन संगठनका होलान भनेर सोधिन । आयोजक कुन पार्टीका होलान भनेर पनि सोधिन । कुन जिल्ला समाजका होलान भनेर पनि खोजिन । अनी मैले आयोजक कस्ता होलान, कत्रा होलान, के काम गर्लान त्यो पनि हेरिन । नेपथ्य मेरो देशको गौरब हो । म त्यो गौरबलाई दुबईमा हेर्न चाहन्छु । म त्यो गौरबलाई परदेशमा महशुस गर्न चाहन्छु । अनी म त्यो गौरबलाई यही कतै मनको कुनामा सजाउन चाहन्छु । म चाहन्छु, हाम्रो देशमा यस्ता नेपथ्यहरु धेरै जन्मिउन । म चाहन्छु, हाम्रो देशमा नेपथ्य भन्दा पनि अझ उच्च संगीतका भगवानहरु जन्मिउन र ती भगवानलाई हामी अझ धेरै गौरब गर्न सकौ । त्यसैले मैले एक झड्काले कुनै पनि हालतमा जति पैसा तिरेर पनि नेपथ्यलाई नछोड्ने निधो गरेको थिएँ । म संगीतको धेरै पारखी नै त हैन । तर संगीतले ढुङ्गा पनि रसाउँछ भन्छन, म त आम मानिस हुँ । कलाकार देशका गहना हुन । गहनालाई मिलाएर लगाए सुन्दरतामा निखारपना आउँछ भन्ने पनि बुझेको छु । त्यही भएर म सकेसम्म राष्ट्रिय स्तरका कलाकारहरु आउँदा आफ्नो हाजिरी जनाउँछु । गायक राजेशपायल राईलाई सुन्न रस अल खैमह देखि ३०० किमी टाढाको अबुधाबी पुगेको छु । सत्य स्वरुपलाई सुन्न १०० किमी टाढाको दुबईसम्म गएको छु । यसो गर्नुमा म संगीतको प्यादा नै भएर पनि हैन । कसैको फ्यान भएर पनि हैन । कलाकार राष्ट्रका गहना हुन, यिनलाई सम्मान गर्नु पर्छ भन्ने बुझेर हो । धेर बुझे माफ पाउँ । यी माथिका कुरा नेपालमा बिनाशकारी भुकम्प आउनु भन्दा पहिलेका हुन । बैशाख १२ गते नेपालमा जब महाभुकम्प आयो तब यो कन्सर्टको उद्देस्यमा पनि परिवर्तन आयो । कार्यक्रमलाई च्यारिटीमा लैजाने घोषणाले आयोजक प्रति मेरो मनमा ठूलो सम्मान पैदा गरायो । त्यसैले पनि मैले चिनेजानेका सबैलाई खबर गर्दै म कार्यक्रम हेर्न दुबईको अल नासेर लिसरल्याण्ड क्लबमा पुगें । जब कार्यक्रम शुरु भयो, मेरो हातका रौ हरु ठाडा ठाडा भए । मन अमिलो भयो । ‘म हिँड्दै पुगेका थुप्रै गाउँहरुको यतिबेला अस्तित्व समेत लोप भएको छ । त्यता पुगेका बेला मैले सुख दुःख साटेका गाउँलेहरु या त अब यो धर्तीमै रहेनन् या सकसको जीवन बाँचिरहेका छन् । गाउँका रोधीघरहरु भत्किएका छन् भन्दै रोधीघरकै सम्झना स्वरुप सरुमा ‘रानीको आँसुको कस्सम्’ गीतबाट कार्यक्रम सुरु गरेका गायक अमृत गुरुङका हरेक शब्दहरुले आँशु छचल्काईदिन्थे । पृष्ठभुमीमा भुकम्पले क्षतबिक्षत भएका भग्नावषेशका दृष्यहरु देखाउदै युएईमा रहेका सबै दर्शकलाई एक पल्ट जसरी पनि घर फर्किन आह्वान गर्दा अहिले नै नेपाल जाउँ जाउँ लाग्दथ्यो । “हामी यो विपत्तिबाट बाहिर निस्कँदै फेरि जीवनको बाटोमा बढ्नु जरुरी छ । आशा गरौं कालो रात्री सकिएको छ र विहानको उज्यालो फेरि हाम्रो निम्ति उदाउँदैछ । शोकलाई शक्तिमा बदल्दै अब पुनर्निर्माणमा कस्सिनु समयको माग हो, उनी अघी बढ्दै गए । हामी नेपालीहरु घर परिवारका निम्ति भनेर यति पर आइपुगेका छौं । आज आफन्तका निम्ति तपार्इको सबैभन्दा बढी जरुरी परेको छ । मिल्छ भने थोरै समयका निम्ति भए पनि छुट्टी लिएर उनीहरुलाई भेट्न जानुस् । तपार्इको उपस्थिती र तपार्इका पौरखी हातहरुको आज असाध्यै जरुरी परेको छ है …….” भन्दा उपस्थित धेरैजसो भाबुक देखिन्थे । कार्यक्रम अघि बढ्दै जाँदा हल भरिभराउ देखिन्थ्यो । आयोजकहरुको मुहारमा खुशी भरिदै थियो । ‘भूकम्पले गर्दा आएको पहिरोमा पुरिएर सिँगो लाङटाङ गाउँको अस्तित्व नै लोप भइसकेको छ । नेपाल क्षतिग्रस्त मात्र भएको छ, ध्वस्त भइसकेको छैन । तपार्इका विदेसी साथीहरुले सहयोगका निम्ति के गर्न सक्छौं भनेर सोधेको खण्डमा सहानुभूतिले भरिएका केहि नगद वा जिन्सी होइन । त्यो सुन्दर मुलुक घुम्नका निम्ति जाउ भनेर सल्लाह दिनुस्,’ अमृतले थपे, ‘त्यसबाट पनि हाम्रो पुनः निर्माणमा जुटेको अर्थतन्त्रलाई धेरै सघाउ पुग्नेछ । ‘रातो र चन्द्र सूर्य, जङ्गी निशान हाम्रो’ बोलको गीतले सबैलाई राष्ट्रप्रेमी बनाइदियो । कहिले भाबुक त कहिले रोमान्चक गीत पस्केका नेपथ्यका गुरुङले उपस्थित दुई हजार भन्दा बढी दर्शकका तालीको माया पाए । गुरुङका हरेक प्रस्तुतीहरु देशभक्तीले ओतप्रोत थिए । गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ गीत गाउन शुरु गर्दैगर्दा पुरै हल हुटिङले गुन्जयमान थियो । यसरी ब्यक्तिगत तवरबाट सम्पन्न अत्यन्तै सफल एउटा कार्यक्रम नेपथ्य लाईभ कन्सर्ट युएईको नेपाली समुदायमा ईतिहास रच्न सफल भयो । कार्यक्रम जसले जसरी गरे पनि अन्तत भुकम्प पीडितको लागि पूर्ण समर्पित नै थियो । आयोजकले कार्यक्रमको सम्पुर्ण मुनाफा प्रधानमन्त्री राहत तथा उद्दार कोषमा जम्मा गर्ने घोषणा यसअघि नै गरिसकेको थिए । यस् अर्थमा पनि यो कार्यक्रम सफल हुन अती जरुरी थियो । ठूलो शंका र उपशंका बिच पनि कार्यक्रम शानदार रुपले सम्पन्न भयो । भित्रै बसिरहौ, गीत अझै सुनिरहौ भन्दा भन्दै रातको ११ बजिसकेको थियो । हामीले बाहिरिनुको बिकल्प थिएन । हरेक कार्यक्रमको समापन पछी कार्यक्रमको सफलता र असफलताको मुल्याङ्कन हुनु स्वभाभिक हो । आयोजकद्वय राजन अधिकारी र जस पाइजा भने कार्यक्रम सफल भएकोमा खुशी देखिन्थे । तथापी हामीले एउटा कुरामा भने अनौठो र अस्वाभाबिक महशुस गर्यौ । युएईमा नेपाली समुदायका धेरै संघसस्थाहरु छन । एनआरएन छ, नेपाली समाज छ, जिल्लागत समाजहरु छन । नेपालीहरुको अभिभावक दुताबास छ । तर त्यहाँ भने कोही उपस्थित थिएनन। पत्रकार महासंघ, युएईका उपाध्यक्ष तथा यस कार्यक्रमका मिडिया ब्यवस्थापक त्रिलोचन कोइराला भन्दै थिएः हामीले सबै संघसंस्थाहरुलाई ईमेल गर्यौ । सबैलाई सहयोगको लागि अनुरोध गर्यौ । तर चिनिने यी संस्थाका एक दुईजना नेता बाहेक कसैले अनुहार देखाएनन । उनले अौंला भाँच्दै केही नाम लिए, ज्ञानेन्द्र कार्की, बिष्णु सापकोटा, सन्तोष प्रसाई, सुदिप कार्की, मोहन शर्मा र शालिक सुबेदी बाहेक अन्य कुनै पनि संगठनका प्रतिनिधिहरु आएनन । न त एमालेका स्थानीय नेता आए, न काङ्रेसका । न एमाओबादीका आए न त जिल्ला समाजका नेता आए । कार्यक्रममा उपस्थित एनआरएन निवर्तमान महासचिव तथा सल्लाहकार अध्यक्ष सन्तोष प्रसाई भन्दै थिए, म ब्यक्तीगत हिसावले नेपथ्यको सम्मान र देशको लागि भनेर आएको हुँ । एनआरएनको प्रतिनिधि हैन । अरु कोही भए मलाई थाहा भएन । संघसंस्थाहरुको यस किसिमको ब्यवहारले आफुहरु छक्क परेको भन्दै प्रसाईले भने, नेपथ्य कसैको हैन । देशको हो । त्यती बुझिदिएको भए हुने थियो । रसअल खैमहबाट कार्यक्रम हेर्न पुगेका एनआरएनकै वर्तमान उपाध्यक्ष सुदीप कार्कीले समेत यो कार्यक्रम खादा ओढ्नको लागि नभएर बिशेष परिस्थितीमा भएकोले आफुले जानेर स्वस्फुर्त रुपमा उपस्थित भएको बताए । ‘देश रोएको अवस्था हो । केही मलम लगाउन सकौ भनेर हातेमालो गर्न आएको’ उनले थपे । आफु समेत कुनै संस्थाको प्रतिनिधि नभई ब्यक्तिगत रुपमा उपस्थित भएको बताउदै कार्कीले भने, यो राजनीति गर्ने रङगमञ्च हैन । अर्का प्रतिनिधि शालिक सुबेदीले ब्यङ्यात्मक शैलीमा ‘अब युएईमा संघसंस्थाहरुको विश्वसानीयता हराउँदै गएको उदाहरण यो भन्दा अर्को कुनै नहुने’ बताए । ‘यो कन्सर्ट खादा ओढ्ने र भाषण गर्ने हैन । त्यै भएर नेताहरु आएनन । किनकी राजनीति गर्ने ठाउँ यो हैन । काम गर्ने ठाउँ हो’ उनको आक्रोश थियो । केही केहीले आफ्नो आक्रोश फेसबूक मार्फत समेत पोखेको पाइयो । आफुलाई नेता हुँ भन्नेहरुको यो भन्दा दरिद्र सोच र यो भन्दा निक्रिस्ट ब्यवहार अन्य कुनै हुन सक्दैन । आफुले गर्न नसकेको कुनै ठुलो प्रोजेक्टको कार्यक्रम अरुले सफलता पूर्वक सम्पन्न गरेको देखेर धन्यवाद दिनु भन्दा आलोचनामा शब्द खर्च गरेको देखियो । कसै कसैको औपचारिक निमन्त्रणा नगरेकोमा दुखोसो पनि देखियो । कोही कोही भने दश पल्ट भन्दा बढी फोन गरेर बोलाँउदा पनि उपस्थित हुन सकेनन । यी सबै कुरालाई नजिकबाट नियाल्ने एकजनाले नाम नलेख्ने शर्तमा भने, ‘हेर्नुस्, युएईका नेताहरु २ ठाउँमा भेला हुन्छन । एक, खादा ओढेर भाषण गर्ने मञ्चमा, दुई, नेपालबाट मन्त्रीहरु आए भने दुताबासको पार्टीमा ।’ बिगतले पनि यस्तै भन्छ । उनले भनेको ठीक कि बेठिक हो छुट्याउने जिम्मा पाठकको । नेपालीको जात जहाँ गए नि नसुध्रिने ! यो पनि पढ्नुहोस् कतारमा रंगशाला बनाउँदै गरेका नेपालीलाई घर फर्किन दिइएन
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1