पुष्पकमललाई मुग्लानेको पत्र

आदरणीय नेता पुष्पकमल दाहाल ज्यु, करीव साढे चार घण्टे हवाई यात्राको दुरीबाट यहाँलाई सादर सलाम अर्पण गर्दछु । हजुरको दुइटा नामको मैले धेरै कोणबाट अर्थ निकाल्ने कोशिस गरें । पहिला त ‘प्रचण्ड’लाई खोजें कतै कठोर कतै उग्र अनि कतै डरलाग्दो भन्ने अर्थ भेटें । तर जब मैले कमलमा अर्थ खोजें आहा कति सुन्दर नाम रहेछ । पानीमा फूल्ने कमलले हिन्दु र बौद्ध धर्ममा बडो सांस्कृतिक महत्व बोकेको रहेछ । हिन्दु धर्ममा ‘लक्ष्मी आसन’ र बौद्धतामा सिद्धार्थ गौतमको आसन सबै कमलमा हुँदो रहेछ । मन्दिर र स्तुपामा चित्रण यति पवित्र नाम कमलको अर्थ ‘अरविन्द’ पनि रहेछ । भारतको राजनीतिमा पछिल्लो समय उदयीमान नाम ‘अरविन्द’ त्यसैले यहाँलाई मैले पुष्पकमल ‘कमलको फूल’ नै भनेर सम्वोधन गरें अन्यथा नलिनु होला । बैशाख १२ र त्यसपछि अनवरत आई/गई रहेको भूकम्प र पराकम्पनले दिनानुदिन देशलाई थिथथिलो पारी रहेको छ । करीव ३४ जिल्ला र लाखौँ यहाँका कार्यकर्ताहरु (माफ गर्नुहोला जनता भन्ने शव्दभन्दा राजनैतिक प्राणीलाई कार्यकर्ता प्रिय हुन्छ त्यसैले मैले कार्यकर्ता लेखें) विचलित हुन पुगेका छन्, विस्तापित हुन पुगेका छन्, घर भूकम्पले भत्काई दियो । कतिका परिवार नै सखाप भए । बचेका मध्ये कपिपय चोटपटक लागेका छन्, हराइपनि रहेका छन् की ? विनाशकारी भूकम्पले अनायाशै लाखौंलाई भोको नाङ्गो बनाई दिएको छ । २०५२ साल तिर जतिबेला यहाँको नेतृत्वमा भूमिगत राजनीतिको उद्घोष र माओवादी जनयुद्दको विजारोपण भयो । त्यहि साल र महिना हो मैले बिहे गरेको पनि । आज म तीन सन्तानको बाऊ बनेको छु र मेरा सन्तान सरकारी विद्यालयमा पढिरहेका छन् । जसरी यहाँको युद्दरत राजनीति जति ‘जटिल र हिंश्रक’ बन्दै गयो उसैगरी मेरो जीवनपनि जटिल बन्दै गयो । कसैले नचिनेको पुष्पकमल प्रचण्ड बनेर जंगल पस्दा म भने पासपोर्ट बोकेर मुग्लान पसें । युद्दको हरेक मोर्चामा जसरी यहाँले जीतलाई नजिक मान्दै जानु भयो उसैगरी मैले नि मुग्लानलाई त्यागेर देशमा पूनार्बासको सपना पाल्दै गएँ । जतिजति यहाँको युद्दले घमाशान मोडलिंदै गयो, यहाँको बनबास जति लम्बिंदै गयो उति नै मेरो प्रबासपनि लम्बिंदै गयो । खैर मैले दाँजेर यहाँको हाइटलाई मसित नाप्न खोजेको होइन । कहाँ हजुर ‘ब्यालेट र बुलेट’ दुवै बोकेको मान्छे कहाँ म बबुरो हातमा हरियो पासपोर्ट बोकेको मुग्लाने, हाम्रो तुलना कदापी हुनै सक्दैन । कुरो अलिकति हजुरको राजनैतिक पाटोको अनि कुरो विनाशकारी भूकम्पले कम्पित देशको बेहालको हो । जतिबेला म बाला थिएँ अनि जुन बखत यहाँ बनबास जाँदै हुनुहुन्थ्यो त्यो बेलापनि मैले धेरै समुदाय देखेकै हो, भोगेकै हो । आमाको अनारमा लट्केका झूम्केबुलाकी, यार्लिंग अनि तिलहरी अनि मैले धेरै आमा दिदीबहिनीहरुमा देखेको त्यो सब आ-आफ्नै ठाउँमा लट्केर रहँदा सबै कति सुन्दर देखिन्थे । त्यसैले मेरो बुझाइमा त्यो गहना भन्ठान्थें । तर जब यहाँको राजनीतिले जनमानसमा स्थान पाउन थाल्यो बिस्तारै थाहा भयो गहना भन्ने नै हुँदो रहेनछ । सबैको आ-आफ्नै परिचय र महत्व हुँदो रहेछ । यतिमात्र होइन जब मैले हजुरको दर्शनलाई बुझ्ने मौका पाएँ ममा असाध्यै माथापिच्चीले सताई रह्यो । आखिर मेरी आमा सुन्दर के कारणले ? यार्लिंग कि बुलाकी? बुलाकीले भन्यो मेरो कारण यार्लिंगले भन्यो मेरो कारण । यो क्रम चली रहँदा आमाको सुन्दरता र गरिमा कताकता गौण बन्न पुगेको हो कि जस्तो लाग्न थालेको छ । जातजाति, क्षेत्र र क्षेत्रीयता मेरो बुझाइमा देशको गहना लाग्थ्यो तर त्यसो होइन रहेछ । एक जातिले अर्को जातिलाई एक क्षेत्रले अर्को क्षेत्रलाई थिचोमोचोमा पारेको कुरो, शासक र शासनका कुरा जनता र जनादेशका कुरा सबै नजान्नु मेरो अर्थ्याईभन्दा पर पो महसुस भई रहेको छ । आखिर जे भएपनि आमामाथि विनाशको कहरले प्रहार गर्दा यार्लिंग र बुलाकीहरुलाई पनि दुख्दो रहेछ भन्ने कुरा गत बैशाख १२ को भूकम्पले सावित गरिदियो । भत्केका आमाका नाक, कान, घाँटी र घाइते अनारमा मल्हमपट्टी लगाउन देश विदेशमा रहेका सबै यार्लिंग र बुलाकीहरु जुर्मुराएर लागे । दुखद यस घडीमा सबैभन्दा सुखद पक्ष यहि हो । सबैले आ-आफ्नो अस्तित्व र पहिचानको मुद्दालाई थाँती राखेर जसरी रोएका आँखा पुछ्ने काम हुँदैछ यहि त हो मैले बुझेको यार्लिंग, बुलाकीको समिश्रण ? एकार्कामा मिलेर मिलाएर पनि भत्केको अनि बिग्रेको बनाउन मिल्ने यो देशमा कसरी फरक अस्तित्व र पहिचानको मुद्दाले आमाको रुप, सुन्दरता र गरिमा गौण हुने क्रम यत्रा वर्ष चल्न पुग्यो ? अस्ति हजुरले संसदमा उभिएर बडो कारुणिक प्रवचन दिनुभो । सिन्धुपाल्चोकको भौगोलिक कोमलता, पटक-पटक भएका प्राकृतिक प्रकोप र त्यहाँ बस्ती बस्न उपयुक्त हुने/नहुने बारे अध्ययन गर्नु पर्ने जस्ता तार्किक भाषणमा त्यहाँका प्रकोपमा परेकाहरुलाई अन्यत्र सार्न सकिने यहाँले गरेको सांकेतिक तर्क देशले नमन गरेको पक्कै छ । पूनर्बास गर्दैगर्दा मानव बसोबासको दृष्टिकोणले उपयुक्त स्थानको वैज्ञानिक अध्ययन गर्नुपर्ने कुरा अति सान्दर्भिक पनि हो । तर यहाँको राजनैतिक एजेन्डा र विपतले निम्त्याएको बस्तुगत बाध्यताको कसरी समिश्रण हुन सक्छ ? सिन्धुपाल्चोक यार्लिंग हो भने त्यसलाई बुलाकीमा कसरी प्रतिस्थापन गर्ने ? भूकम्पले पर्ने क्षतिलाई मध्यनजर गर्ने हो भने नेपालमा मधेस वा तराई क्षेत्र सुरक्षित छ रे । हो भने कुनै दिन हजुरको पार्टीको नेतृत्वमा रहेको सरकारमा बसी सकेकी मधेशवादी नेत्री सरीता गिरीले मधेशमा पुनर्स्थापन अथवा प्रतिस्थापनको विरोध गरिसकेकी छिन् । भोली हजुरका मोर्चामा बसेकाहरुले विरोध गर्लान् । अनि सिन्धुपाल्चोक अथवा विनाशको शिकार भएका हजुरका कार्यकर्ताहरुलाई सुरक्षित बासस्थान कसरी मिलाउन सकिन्छ ? कि जो जहाँ छ त्यहीं रहनु पर्ने हो ? हुन त हजुरलाई लाग्दो हो यो प्रश्न सुशील-ओलीलाई नसोधेर मसित किन सोध्या होला ? कुरो मुनासिव नै हो । सोध्ने त उनीहरुसँग पनि हो । किनकि उनीहरु भनेका कुर्सीका महन्त हुन् यतिखेर । तर अध्यक्ष ज्यु, कुरो प्रश्नोत्तरको मात्र होइन यो दर्शनको विषय पनि हो । सिन्धुपाल्चोक दुख्ता देश दुखेको छ, काठामाडौं भत्किंदा होस् वा गोरखा विचलित बन्दा सर्वत्र देश दुखेको छ । हामीलाई थाहा छ संविधान किन बनेको छैन, किनकि संविधान नबन्नुमा दर्शनको अड्चन छ । हो, त्यसैगरी कतै दर्शनले करीव आधा नेपालमा परेको प्रकोपको ताण्डवलाई मिलाउन कतै दर्शनले रोक्ने त होइन ? भत्केको नेपालमा दर्शनको सीमाले, यार्लिंग र बुलाकीको हठले सिन्धुपाल्चोकलाई आवस्यक परे कतै सर्नबाट रोक्छ कि रोक्दैन ? अध्यक्ष ज्यु, यो प्रश्नको उत्तर हजुर बाहेक अरु कसले दिन सक्छ ? अध्यक्ष ज्यु, हाम्रो घरको ठिक पारीपट्टी सेती किनारमा हजुर प्रचण्ड बन्नुभन्दा पहिला मुस्तांग(भोट)तिरका बाढीपिडितलाई ल्याएर राखिएका छन् । तिनको भाषा रहन, सहन र रीतिस्थिति हामीसित केहिपनि मिल्दैन । बरु त्यहीं सेती किनारमा बसेका तिव्वतबाट आएका शरणार्थीसित तिनको धेरैथोक मिल्दो रहेछ । अध्यक्ष ज्यु ति मुस्तांगेहरु बरु नबुझिने भाषामा हामीसित बोल्छन, सामिप्यता कायम गर्छन, तर तिव्वतेहरुसित उनीहरुको कुनै आइनो, साइनो छैन । एक नेपालीको अर्को नेपालीसित जुनी,जुनीको साइनो हुन्छ रे । चाहे भाषा मिलोस वा नमिलोस् । धर्म, जाति, क्षेत्र र भूगोलको नाममा हाम्रो समाजमा जुन दर्शन प्रबाह भई रहेको छ, त्यो मैले र मेरो पुस्ताले त बुझ्ला । तर सरकारी विद्यालयमा पढ्ने ति मेरा सन्तान जुन ‘प्रचण्ड’सितै जन्मेका थिए अनि जसले नवीन दर्शन व्यहोरी रहेका छन् के तिनको जीवनकालमा तिनले पढ्दै गरेको किताबमा सिन्धुपाल्चोक आवस्यक परे मधेश सर्न सक्ला ? सर्ने कुरो गरी रहँदा भूकम्पले धेरै भूभाग खै कतापट्टी अलिअलि सरेको छ रे । यो प्रकृतिले सारेको सीमालाईपनि कसरी व्यबस्थापन गर्ने होला ? कसरी मापन गर्ने होला? समग्रमा नेपाल भत्केको आभास हुँदै गर्दा कताकता नेवः भत्केको पो होकि तमुवान र ताम्सालिंग ? अस्तित्व र पहिचानको नाममा जन्मेको दर्शनले छाती चौडा पार्ने पो होकी ? कतै स्वायत्तताको सीमाले भत्केका मनहरु अनि ति क्षत,विक्षत मुटुहरु खण्डहर बनेर लामो कथानक किवदन्ती बन्ने हो भन्ने चिन्ताले मनमुटु पोली रहेको छ । अन्तमा, सरकारी स्कुलबाट मेरी छोरीले मेट्रिकमा ह्याट्रिक गरेपछि परिस्थितिलाई नहेरी मुग्लानलाई तिलाञ्जली दिने मैले प्रण नै गरेको थिएँ, दुर्भाग्य मेरो देशलाई प्रकृतिले दह्रै हल्लाई दियो । अन्यौल थपिएको छ । अथाह पिडा छ यहि पीडालाई साक्षी राखी अहिलेलाई विदा हुन्छु । उही मुग्लाने ………………. करिम बक्स मिया कतार यो पनि पढ्नुहोस् कतारबाट फर्केर न्याय खोज्दै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: