”तिमी युएईमा हीट लिस्टमा छौ, ख्याल गरेस है” एक जना हितैसीले मलाई यसरी नै सम्झाउने कोशीश गरेका थिए । उनको हीट लिस्टको अर्थ हो ”तिमी आफ्नै नेपाली दाजुभाइहरुको टार्गेटमा परेका छौ । तिम्रो कलम बन्द गर । आँखा बन्द गर र तिम्रो बिचार तिमी सँगै राख ।” मलाई के लागेको थियो भने, पत्रकारिताले अन्ततोगत्वा सबैको आँखा उघारिदिन्छ । समाजलाई सुसुचित गर्छ र यसले आम नेपाली समुदायलाई सामाजिक कृयाकलापमा सहयोग गरेकै हुन्छ । तसर्थ पत्रकारका साथी भने पनि अभिभावक भने पनि यिनै समुदायका जिम्मेवार सदस्यहरु हुन । तथापि थोरै मात्रामा रहेका समाजका खराब तत्वहरु पत्रकारका बिरोधी हुनु स्वभाभिक हो । अझ भनौ उनीहरुका लागि पत्रकारहरु बर्गशत्रु नै हुन । मलाई लाग्दैन म यहाँको प्रशासनको हीट लिस्टमा परेको हुँ । त्यो लिस्ट बनाउने हाम्रै साथीहरु हुन । जसको खराब पक्षमा दुई चार शब्द कोरिएका थिए । उनीहरुले गरेका गलत कृयाकलापलाई गलत भनियो । कतिपय ठीक कामलाई पनि सलाम मारियो । मलाई यो पनि थाहा छ, मैले अन्तराष्ट्रिय सञ्जाल रहेको नेपाल सरकारद्वारा मान्यता प्राप्त एनआरएनएले युएईमा गर्न सक्ने काम पनि गर्न सकेन भनेर लेखेको छु । यसको अर्थ एनआरएन सधैं खराब होस् भन्ने मेरो आशय कदापी हैन । काम गरेनन्, सुतेर बसे भनेको हो । चाह्यो भने राम्रो काम धेरै गर्न सक्छ भनेको हो । उल्टो बुझ्ने प्रयास महाशयहरुले नगरुन । मैले बजारमा मान्छेहरुले नेपाली दुतावासको धेरै कुरा काटे । भए नभएको सबै कुरा गर्छन्, त्यसो नगर्ने वातावरण बनाउनु पर्यो दुतावासले र सबैको मायाको केन्द्र बिन्दु हुनु पर्यो भनेको छु । दुतावास अभिभावक बनोस भनेको छु । गलत कहाँ छ ? यहाँका संघसंस्थाहरुले कयौ नेपालीहरुलाई गरेको सहयोगको बारेमा लेखेको छु । घर फिर्तीको लागि टिकट किनिदिएको खबर देखि ठुलो बिमार लागेकालाई गरेको सहयोग लेखेको छु । चाडपर्बमा गर्ने साँस्कृतिक कार्यक्रम देखि मृत्यु भएको खबरसम्म सुनाउने गरेको छु । खै, गलत कहाँ छ महाशय ? हो प्रबासको पत्रकारितामा चुनौती धेरै छन । एउटा चुनौती यहाँको कानुनी दायारामा रहेर कति लेख्न सकिन्छ भन्ने त छ नै अर्को चुनौती पत्रकारका कलमले असत्य र अन्यायीहरुका आँखाको तारो जतीबेलै भईरहनु पर्ने पनि छ । तर पनि यावत चुनौतीसँगै पत्रकारिता मार्फत समाजको आँखा खोलीदिने अवसर पनि उत्तिकै छ । ज्यान र जागिरको जोखिम मोलेर स्वच्छ पत्रकारिता गर्ने जोखिम प्रबासमा रहने सबै पत्रकारहरुले हिजो पनि मोलेका थिए, आज पनि मोलेका छन र त्यो चुनौती भोली पनि मोल्नेछन । अन्तत प्रबासमा गरिने पत्रकारिताले यहीँ रहेका नेपाली समाजका बिबिध पक्षहरुलाई लेख्ने हुँदा पत्रकारिताको फाईदा पत्रकारलाई मात्र नभएर समग्र नेपाली समाजलाई हुने हो । सबैले यत्ती मात्रै बुझ्ने हो भने कोही कसैको हिट लिस्टमा पर्दैन । बुझेर पनि बुझ पचाउने हो भने लिस्ट तयार हुँदै गर्छ, पत्रकार खेमराज खनालले भनेजस्तो कलम निरन्तर चलिरहन्छ । बिषय बस्तु तिर प्रबेश गर्छु । यो हप्ता युएईमा २ वटा कुराको चर्चा धेरै भो । पहिलो युएईमा रहेका तीन नेपाली पत्रकारहरुले पाएको अदालती सफाइ र दोश्रो गत हप्ता नेपालमा आएको ७.९ रेक्टर स्केलको विनाशकारी भुकम्प । पहिलो, माथि उल्लेख भए बमोजिम प्रबासको पत्रकारिता जोखिमपूर्ण छ । यहाँ कोही नेपाली पत्रकार छैनन । तथापी कलममा शोखिनहरु कोही सःशुल्क कोही निःशुल्क समाचार सम्प्रेशण गर्छन् । ती समाचारहरुका स्रोत नेपाली समुदाय नै हुन्छन र पाठक पनि नेपाली समुदाय नै हुन्छन । यस्तै स्रोतको समाचारले युएईका तीन पत्रकार अर्जुन दाहाल, राम प्रसाद ढुङेल र खेमराज खनालले बिगतका ५ महिना तनावमा बिताउनु पर्यो । एकजना नेपाली ब्यवसायीले आफ्नै कामदारलाई तलब नदिई ठगी गरेको भन्ने समाचार अनलाइन तथा सामाजिक सञ्जालमा लेखिएपछि उनीहरुले ५ महिना सम्म अदालत धाउनु पर्यो । समाचारले ती नेपाली ब्यवसायीको ब्यवसायमा हानी पुगी अन्याय भएकोले न्यायको माग गरिएको थियो । नेपाली नेपाली बिचको झगडा भएकोले युएई मै हुने केही समाजसेवीहरुले मिलाउने प्रयास नगरेका पनि हैनन । एनआरएन र दुतावासले पनि पहल गरेकै थियो । तथापी कामकारी पत्रकारहरुले अदालतकै न्याय पर्खनु पर्यो । आखिरमा एनआरएन र दुताबासका ती प्रयासहरु असफल भए । असफल प्रयासको खासै अर्थ हुन्न । कतिपयले शंकास्पद प्रयास भने पनि भन्नेहरुले त्यसको कुनै प्रमाण दिन सक्दैनन । मेरो आशय जिम्मेवार निकायको प्रयासहरु सकेसम्म असफल नहोस् र बादी प्रतिबादी दुबैलाई यी निकायहरु नेपाली समुदायको अभिभावक हुन भन्ने विश्वाश दिलाउन सकोस भन्ने नै हो । तर सकेन । यसो लेखिरहँदा ती पीडित पत्रकारहरुले जीतको खुशीयाली मनाउन पनि सकेका छैनन् न त पत्रकार महासंघले नै मनाउन सकेको अवस्था छ । तथापी जीत कलम वीरहरुकै पक्षमा हुनु पनि सुखद त हुँदै हो नत्र बुढी मरी काल पल्क्यो भने झै भोलिका दिनमा पनि नेपालीहरु यसरी नै एक आपसमा झगडा गर्ने र मुद्दा हाल्ने हो भने युएईमा रहेका एनआरएन, नेपाली समाज सहितका अन्य संस्थाहरुको भविष्यमा पनि प्रश्न चिन्ह खडा हुनसक्छ । यहाँ कुनै पनि संस्था बैधानिक छैनन् । तसर्थ समाजिक कामका लागि आफ्नो अमुल्य समय दिने यस्ता ब्यक्तीहरुलाई यस्तो कार्यले निराशा पैदा गरिदिन्छ । यस्ता निराशा पैदा गर्ने कार्यलाई हामी सबै एक भएर निरुत्साहित गर्न जरुरी छ । नत्र भोलिका दिन झन धेरै समस्या झेल्नु पर्ने हुनसक्छ । ख्याल गरेस । दोस्रो, गत हप्ता नेपाललाई ठुलो बिपत्ती आईपर्यो । त्यो बिपत्तीले अढाइ करोड नेपालीलाई मात्रै हैन प्रबासमा रहेका ३० ४० लाख प्रबासी नेपालीहरुलाई पनि रुवायो । अबुधाबीमा क्लिनिङ काम गर्ने श्याम कंडेल हुन वा गोर्खाका बिनोद श्रेष्ठ, नुवाकोटका दिलिप खड्का हुन वा हरी अधिकारी सबैले आफ्ना आफन्तजन गुमाए । त्यसै गरी धादिङका दिनेश गुरुङले पनि आफन्तजन गुमाए । गोर्खाका सुरेश ढकाल, लक्षमण लामिछाने, धनकुमार नेपाली र धादिङकै राजेन्द्र सिलवाल लगायत सबै भन्दा प्रभावित जिल्लाहरु गोर्खा, लमजुङ, सिन्धुपलान्चोक, नुवाकोट, रसुवा, धादिङ, काठमाडौ, भक्तपुर र ललितपुर लगायतका जिल्लाबाट युएईमा आएर काम गर्ने प्राय सबैको घर भत्केको छ । सबैका परिवारका सदस्यहरु बारीमा आकाश ओढेर बसेका छन । यिनै मध्येका एक पिडित लक्ष्मण लामिछानेका परिवारले भुकम्पले घर भत्काएको एकहप्ता पछी बल्ल बल्ल हिजो मात्र त्रिपाल पाएकोले लामिछनेले फेसबूक मार्फत खुशी ब्यक्त गरे । उनको खुशी मलाई भने ब्यङ्य थियो । त्यसो त युएईका समाजसेवीहरुले राहतका धेरै सामग्रीहरु नेपाल पठाएको पनि हो । बिभिन्न कानुनी अड्चन हुँदाहुँदै पनि उनीहरुले भुकम्प पीडितहरुलाई खाध्यान्न, लत्ताकपडा, टेन्ट, ब्ल्यान्केट लगायतका सामग्रीहरु जुटाए । एनआरएन र दुताबासको प्रयासमा अबुधाबीमै बस्ने नेपालीहरु मार्फत धेरै सामग्रीहरु नेपाल पठाईए । दुबईमा रहेका कृयाशिल बिभिन्न जिल्लागत संस्थाहरुले पनि आफ्नो आफ्नो स्थानबाट सकेको गरेकै हुन । र सहयोग संकलन कार्य आजको दिसम्म पनि जारी नै छ । तर पनि युएईका संस्थाहरुले युएई मै काम गर्ने भुकम्प पीडित नेपालीहरुको पहिचान गरी उनीहरुलाई पनि केही सहयोग गर्न सकेको भए झन राम्रो हुनेथियो । युएईबाट भुकम्प पीडितलाई सहयोग गर्ने मनकारी हातहरु मध्ये एक ठुला मनका नेपाली ब्यवसायी रामभुवन चौधरीलाई नसम्झिरहन सकिन्न्न । चौधरीले दैनिक १५ हजार बिक्रीहुने आफ्नो रेस्टुरेन्टको कमाइ सहित कम्तीमा ५० लाख रुपैँया बराबरको राहत घोषणा गरेका छन । उनी यही हप्ता उक्त राहत बोकेर नेपाल जाँदैछन र प्रभाबित क्षेत्रमा आफै उपस्थित भएर पीडितलाई उक्त रकम बराबरको सहयोग गर्नेछन । उनको उदार मनलाई कोटी कोटी सलाम । मैले थाहा नपाएका यस्ता बिशाल हृदय भएका ब्यवसायीहरु अरु पनि होलान । सबैलाई हृदयदेखि नै सलाम । सबैलाई खान पुगोस, दिन पुगोस । मेघराज सापकोटा, युएई यो पनि पढ्नुहोस् युएईमा नेपाली पत्रकारले पाए अदालतबाट सफाई भूकम्पले नेपाल हल्लाइ रहँदा अरवमा भएको छटपटी
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1