
कञ्चनपुर, जेठ १२–पश्चिमी सिमानाका गड्डाचौकीबाट सोमबार साँझ भारततर्फ जान लागेका पाँच महिलाको उद्धार गरिएको छ । वैदेशिक रोजगारीका लागि किर्गिस्तान जान भन्दै पोखरा–दिल्लीको बसमा आएका पाँच जनाको पश्चिमी सीमा नाका गड्डाचौकीबाट उद्धार गरिएको हो । उद्धार गरिएकामा एक बालिकासमेत रहेकी छिन् । भारतीय राजधानी दिल्लीबाट किर्गिस्तान जाने जानकारी गराएपछि पाँचैजनालाई उद्धार गरिएको माइती नेपालकी संयोजक महेश्वरी भट्टले बताइन् । माइती नेपालको आवधिक गृहमा राखिएका उनीहरूमध्ये दुई जनासित नागरिकता र राहदानी भेटिएको छ । अन्य तीनसित नागरिकतासमेत नभएको संयोजक भट्टले बताइन् । “किर्गिस्तान जाने बहानामा भारतमा बिक्री गर्ने गिरोहले बोलाएको हुनसक्छ”–संयोजक भट्टले भनिन्–“उनीहरूलाई दिल्लीसम्म मगाउन किर्गिस्तानको बहाना गरिएको हुन सक्छ ।” किर्गिस्तान जान आएका दुई युवतीले दलाललाई रु ५०–५० हजार बुझाएका छन् । उनीहरूले आफूलाई भारत पठाउने व्यक्तिसित चिनजान नभएको बताएका छन् । “दिल्लीसम्म आउनु, त्यहीँबाट किर्गिस्तान जाने भनेर बोलाएको हो, तर त्यो पठाउने व्यक्तिबारे उनीहरूले केही थाहा छैन भनेका छन्”–संयोजक भट्टले भनिन् । माइती नेपालका अनुसार उद्धार गरिएका महिलामा स्याङ्जा, पर्वत र कास्की रहेका छन् । रातोपाटीबाट यो पनि पढ्नुहोस् ‘अव मेरो श्रीमान् कतारबाट आउनुहुन्छ’ (भिडियो सहित)