रुस्ट मलेसियाले भिसा स्ट्याम्पिङ रोक्यो

काठमाडौं – मलेसियाले कामदारको भिसा स्ट्याम्पिङ गर्न रोकेको छ। नेपालस्थित मलेसिया दूतावासले गएको आइतबारदेखि त्यहाँ जाने कामदारको भिसा स्ट्याम्पिङ नियमित गर्ने भने पनि थप १५ दिन स्ट्याम्पिङ नगर्ने भन्दै फर्काएको व्यवसायीले जानकारी दिएका छन्। वैशाख १२ को भूकम्पका कारण रोकिएको स्ट्याम्पिङको काम २७ गतेदेखि नियमित हुने यसअघि जानकारी दिइएको थियो। अब थप समय भिसा स्ट्याम्पिङ रोक्नुको कारण भने दूतावासले दिएको छैन। तर, केही व्यवसायीलाई भने भूकम्प जानेक्रम नरोकिएकाले थप समय स्ट्याम्पिङको काम नहुने अनौपचारिकरूपमा जानकारी गराइएको छ। मलेसिया सबैभन्दा धेरै नेपाली कामदार जाने मुलुकमा पर्छ। यो मुलुकमा अहिले ६ लाखभन्दा बढी नेपालीले काम गरिरहेका छन्। वैशाख १२ को भूकम्पलाई विस्तारै बिर्सेर वैदेशिक रोजगारीमा जाने युवा बढ्न थालेका बेला मंगलबार फेरि दोस्रो शक्तिशाली भूकम्प गएकाले वैदेशिक रोजगारीमा जाने कामदार थप केही रोकिने देखिएको छ। दोस्रो भूकम्प गएकाले स्ट्याम्पिङ कार्य रोक्न दूतावासलाई थप सजिलो भएको म्यानपावर व्यवसायी बताउँछन्। भिसा स्ट्याम्पिङबिना कामदार विदेश जान पाउँदैनन्। स्रोतका अनुसार दुई देशबीच आधिकारिक छलफल नगरी नेपालका सरकारी अधिकारीले निःशुल्क भिसा र टिकटबाहेकका कामदार पठाउन रोकिएको प्रचार गरेपछि मलेसिया रुस्ट भएको हो। कानुनीरूपमा सरकारले मलेसिया तथा खाडीका कुनै पनि मुलुकमा व्यवसायीलाई पैसा लिएर कामदार पठाउन रोक लगाएको छैन। वैशाख तेस्रो सातादेखि श्रम स्वीकृति लिनेको संख्यासमेत निरन्तर बढ्दोक्रममा छ। औपचारिक निर्णय नै नगरी पठाउन रोकिएको प्रचार गरिएपछि मलेसियाले चेतावनीस्वरुप केही समयका लागि भिसा स्ट्याम्पिङ गर्न रोकेको हुन सक्ने श्रम तथा रोजगार मन्त्रालयका एक अधिकारीले बताए। मलेसिया र खाडी मुलुकमा निःशुल्क भिसा र टिकटबाहेकका कामदार पठाउन रोक्ने निर्णयसमेत नभएको ती अधिकारीले बताए। वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान उपाध्यक्ष कुमुद खनालले मलेसियाले बिनाकारण भिसा स्ट्याम्पिङ गर्न रोकेको जानकारी दिए। लिखित जानकारी दिइएको छैन। स्ट्याम्पिङ गर्न गएका व्यवसायीलाई अझै १५ दिन काम नहुने भन्दै फर्काउने गरिएको छ, उनले भने। मलेसियालाई जानकारी नदिई कामदार पठाउन रोकिएको हल्ला गरिएकाले दूतावासले स्ट्याम्पिङ रोकेको हुनसक्छ, उनले भने, सरकारले व्यवसायीलाई पनि कामदार पठाउन रोकिएको जानकारी गराएको छैन। श्रम स्वीकृति दिने काम भइरहेको छ। मलेसिया कामदार पठाउने विषयमा लामो समयदेखि विवाद हुँदै आएको छ। मलेसियाले एकतर्फीले एकतर्फीरूपमा स्वास्थ्य परीक्षणमा बायोमेट्रिक प्रणाली लागू गर्न खोजेपछि सरकारी अधिकारी, म्यानपावर व्यवसायी र स्वास्थ्य परीक्षण गर्ने संस्थाका व्यवसायीसमेत दुई खेमामा विभाजित भएका छन्। विभिन्न बाहनामा पुनः बायोमेट्रिक कार्यान्वयन गराउन चलखेल सुरु भएको म्यानपावर व्यवसायीको दाबी छ। वैदेशिक रोजगार व्यवसायी संघका अर्का पूर्वउपाध्यक्ष टंकबहादुर राउतले नेपाल सरकारको दोधारे नीतिका कारण मलेसियामा नेपाली कामदारको विकल्पका बारेमा छलफल हुन थालेको आफूले जानकारी पाएको बताए। बंगलादेशका कामदारलाई अनुमति दिइएमा सबैभन्दा बढी मारमा नेपाली कामदार पर्ने उनले दाबी गरे। हाल मलेसियाले बंगलादेशका कामदारलाई त्यहाँ जान रोक लगाएको छ। यसको सबैभन्दा बढी फाइदा नेपाली कामदारलाई भएको उनले बताए। खाडी तथा मलेसिया जाने कामदारसँग न्यूनतम सेवा शुल्कबाहेक थप रकम लिन नपाउने त्यहाँका सरकार तथा सरोकारवालाले बताए पनि नेपाल सरकारले अहिलेसम्म औपचारिकरूपमा कामदार निःशुल्क पठाउने निर्णय गर्न सकेको छैन। सरकारले उल्टै म्यानपावर कम्पनीले लिन पाउने रकम तोकेर व्यवसायीलाई अनियमितता गर्ने छुट दिएको छ। मलेसिया जाने कामदारसँग व्यवसायीलाई ८० हजार रुपैयाँ लिन पाउने व्यवस्था सरकारले गरेको छ। म्यानपावर व्यवसायीले भने तोकिएभन्दा दोब्बरसम्म बढी शुल्क लिँदै आएका छन्। अन्नपूर्ण पोष्टबाट यो पनि पढ्नुहोस् युएईका मनकारीहरु

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय