
काठमाडौं – विनाशकारी भूकम्पमा आफन्तको मृत्यु भएका कारण स्वदेश फर्कने कामदारलाई राज्यबाट टिकट खर्च उपलब्ध गराउने कार्यविधि तयार भएको छ। मन्त्रिपरिषद बैठकले वैशाख २४ गते त्यस्ता कामदारको टिकट खर्च सरकारले बेहोर्ने निर्णय गरेको थियो। उक्त निर्णय कार्यान्वयन गर्न श्रम तथा रोजगार मन्त्रालयले कार्यविधि तयार गरी आफन्त गुमाएका कामदारलाई स्वदेश फर्कन आह्वान गरेको छ। मन्त्रालयले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमार्फत कामदारको टिकट खर्च बेहोर्ने जनाएको छ। कार्यविधिअनुसार आमा, बुबा, छोराछोरी, श्रीमान्, श्रीमती र महिला कामदारको हकमा सासु वा ससुरासमेतको मृत्यु भएमा नाता प्रमाणित र मृत्यु दर्ता प्रमाणपत्र पेस गरे टिकट खर्च सरकारले बेहोर्ने छ। श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले भूकम्पबाट आफन्त गुमाएका कामदारलाई राहत दिन सरकारले यस्तो निर्णय गरेको बताए। बाध्यताले बिदेसिएका कामदारलाई विपद्मा सजिलोसँग स्वदेश फर्कन सक्ने अवस्था सिर्जना गर्न निर्णय गरेको उनको भनाइ छ। सरकारले जेठ महिनाभित्र नेपाल फर्कन यस्तो व्यवस्था गरेको जनाएको छ। नेपालबाट वैधानिक रुपमा श्रम स्वीकृति लिएर जुनसुकै मुलुक गएका कामदारले खर्च लिन टिकट, बिल र बोर्डिङ पास पेस गर्नुपर्ने वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले जनाएको छ। करारअवधि बाँकी रहेका कामदारले दुईतर्फी र करार सकिएर विदेश फर्कन नपर्ने कामदारले एकतर्फी टिकट खर्च पाउने व्यवस्था कार्यविधिमा छ। त्यस्तै निःशुल्क टिकट पाउन कम्पनी वा अन्य कुनै संघ–संस्थाले टिकट खर्च उपलब्ध नगराएको भनी सम्बन्धित देशमा रहेको नेपाली दूतावासले दिएको पत्र हुनुपर्ने पनि कार्यविधिमा उल्लेख छ। टिकट इकोनोमी क्लासको हुने र सरकारले तोकेको एकमुष्ठ भुक्तानी पाउने कार्यविधिमा उल्लेख छ। फर्कनुपर्ने कामदारसँग टिकट किन्ने पैसा नभए बोर्डले सम्बन्धित मुलुकका दूतावासमा रकम उपलब्ध गराउने छ। त्यस्तै फर्कने कामदारको हकमा आवश्यक प्रमाण बोर्ड सचिवालयमा पठाएर त्यसको भुक्तानी कामदारको बैंक खातामा राखिने कार्यविधिमा उल्लेख छ। नागरिकबाट यो पनि पढ्नुहोस् भूकम्प आउँदा नि तैंले सम्झिनस् है