नेपाली दुतावास की दलालको अखडा !

विद्रोही नेपाली, क्वालालम्पुर- गत बुधबार मलाई कम्पनीको एचआरले भोली बिहिबार तेरो पासपोर्ट बनाउन दुतावास जानु पर्छ भन्यो । मलाई मनमनै खुसी लाग्यो । धेरै समय पछि दुतावास देख्न पाइने भइयो भनेर । मलाई कहिले भोली हुन्छ जस्तै लागेको थियो । बिहिबार बिहान म नियमित समयमा कम्पनीमा गएँ । करिब १० बजेतिर कम्पनीको एचआरको मान्छेसँग हामी कम्पनीको गाडी चढेर दुतावास तर्फ लाग्यौं । मेरो कम्पनीको एचआर मलायु हो । मैले नेपाली दुतावास पहिलेको ठाउँबाट अर्कै ठाउँमा सरेको छ भन्ने सुनेको थिएँ, त्यहि कुरा भनें । तर एचआरले मेरो कुरा पत्याएन । उ दुई महिना अगाडी पनि अन्य साथीहरुको पासपोर्ट बनाउनका लागि नेपाली दुताबास गएको थियो । त्यसैले म चुप लागेर बस्नु नैै श्रेयस्कर लाग्यो । जव हामी उसले लगेको ठाउँमा पुग्यौं त्यहाँ नेपाली दुतावास थिएन । त्यो दुतावास रहेको पुरानो ठाउँ थियो । त्यहाँ काम गर्ने सुरक्षा गार्डहरुलाई सोध्दा उनीहरुले कोताराया नजिकैको जलान आम्पाङमा दुतावास सरेको बताए । गाडीमा बसेपछि पछि एचआरले मलाई तिमिहरुको दुतावास किन यसरी सरिरहन्छ भनेर सोध्यो । पहिले केएलसीसीमा थियो । अनि यहाँ सर्यो । र, फेरी अन्तै गएछ । किन यसरी हैरान बनाउँछ तेरो देशको दुतावास भन्ने उसको प्रश्नमा मसँग कुनै जवाफ थिएन । बल्लतल्ल दुतावास रहेको ठाउँ पत्ता त लाग्यो तर त्यहाँ गाडी पार्क गर्ने ठाउँको अभाव थियो । वरिपरीका सवै पार्किङ स्थलहरु भरीभराउ थिए । उसै त रिसाइ रहेको एचआर पार्किङ नपाउँदा झन् मुरमुरीयो । बल्लतल्ल पार्क गर्ने ठाउँ त भेटियो तर त्यहाँबाट दुतावाससम्म पुग्न १५ मिनेटजति हिंड्नु पर्ने रहेछ । मलायु एक त अन्य भन्दा अलि अल्छि हुन्छन्, त्यसमाथी अर्काको काममा उसले दुःख पाउनु पार्यो भने कस्तो हुन्छ होला आफै कल्पना गर्नुस । मध्यान्नको ११ कटिसकेको थियो । चरक्कै घाम लागि रहेको थियो । उ फतफताउँदै हिंड्यो । १५ मिनेट सम्म पैदल हिंडेर हामी दुतावास पुग्यौ । दुतावास पुग्नु भन्दा अघि नै गल्ली गल्लीमा बसेका नेपाली दलालहरु हामीलाई तानातान नै गरौंला झैं गर्न थाले । सर पासपोर्ट बनाउन आउनु भएको हो ? सर घर जाने हो भन्दै उनीहरु सोधिखोजि गर्दैथिए । पासपोर्ट बनाउन आएको भए यता तिर फोटो खिच्ने र फारम भर्ने हाम्रो अफीस छ भन्दै थियो । अर्को एकजना हाम्रो अफिस त दुतावास भएको भवनमा छ लौ त्यतै जाउँ भन्दै तान्नै पो लाग्यो । अर्को चाहिं घर जाने भएमा हाम दुई दिन भित्रमा त्यसको चाँजोपाँजो मिलाइदिन्छौं भन्दैथियो । म त यो तमासा देखेर रनभुल्लमा परें । म आफ्नो देशको दुतावास त्यो पनि मलेसिया गइरहेको छु वा काठमाडौंको कुनै सरकारी कार्यालय जाँदैछु कुनै फरक महशुश गरिरहेको थिइन । त्यहि क्रममा एक जनाले मलाई लौ जाउँसर यता भन्दै डो¥याएर लगे । म उसैलाई पछ्याउँदै अघि बढे । उसले निक्कै ठूलो भीड रहेको एउटा अफिसमा पुर्यायो । उसले मसँग सक्कली नागरिकता, सक्कली पुरानो पासपोर्ट र कम्पनीको आधिकारिक पत्र माग्यो । मसँग पासपोर्ट र नागरिकता भएपनि कम्पनीको आधिकारिक पत्र थिएन । मैले एचआरसँग त्यो पत्रका बारेमा बताउँदा उसले त्यो पत्र आफूले कम्पनीमै बिर्सेर आएको बतायो । तिनै नेपालीले उपाय सिकाए त्योे पत्र इमेल मार्फत मगाए पनि काम चल्छ भनेर । एचआरले त्यसै गरेपछि पत्र आइपुग्यो । फोटो खिच्ने र फर्म भर्ने काम सकियो । अव मेरो कागजपत्र तयार भयोे । जव शुल्कको कुरा आयो छाँगाबाट खसे झैं बनायो । उसले त्यति काम गरेको ५२ रिंगेट माग्यो । अर्थात नेरु झण्डै १३ सय । किन यति धेरै ? प्रश्नमा उत्तर तम्तयार थियो फोटो खिचेको २० रिंगेट, फारम भरेको २० रिंगेट, कम्पनीको पत्र प्रिन्ट गरेको १० रिंगेट तथा पासपोर्ट र नागरिकताको फोटोकपी गरेको दुई रिंगेट । जम्मा ५२ रिंगेटको हिसाव दुरुस्त । मैले जिज्ञासा राखें बाहिर फोटो खिचेको त १० रिंगेट लाग्छ अनी फारम भरेको २ रिंगेट मात्रै लिन्छन् । ईमेल प्रिन्ट गरेको डेढ रिंगेट र फोटोकपि त प्रति कपि १० सेन्ट लाग्छ । सवै जोड्दा यति कामको १३.८० मात्र हुन्छ त । यहाँ किन बाहिर भन्दा चारगुणा बढी ? उसकोे जवाफ यसमा पनि हाजिर थियोे । एमआरपीका लागि अन्यत्र भरिएको फारम र फोटो दुतावासमा चल्दैन । अनी इमेलको प्रिन्ट र फोटोकपीको मुल्य पनि त्यसभन्दा घटाउन नमिल्ने उसले जवाफ दियो । अचम्म लाग्यो । आफ्नै दुतावास भएको भवनमा यसरी नेपाली ठग्ने धन्दा चलिरहेको देख्दा उदेक लाग्यो । मसँग अन्य विकल्प थिएन । चुपचाप उसले भनेको रकम तिरें, कागजपत्र बोकें र दुतावासको पहिलो तलामा गएर अरु सयाँै नेपालीको पछिल्तीर लामवद्ध भएर उभिएँ । करिब एक घण्टाको पर्खाइपछि मेरो पालो आयो । मैले नयाँ पासपोर्टका लागि ३ सय १० रिंगेट तिरेर त्यसको रसिद बोकेर कम्पनी फर्किएा । मेरो एउटा झण्झट सकिएको थियो । तर मेरो मनमा त्यहि नेपालीको लुटको खेल घुमिरहेको थियो । आखिर हामी दुखियालार्ई यो मलायामा विदेशीले मात्र ठग्दैनन् । नेपाली नै पाइला पाइलामा ठग्न ठिक्क परेर बसेका हुन्छन् । यसअघि अरु ठगिएका कुरा देख्थें, लेख्थें, यसपटक आफैं ठगिएँ । लाखौं नेपाली कार्यरत र एमआरपी बनाउने यत्तिको चाप भएको बखतमा फारम भर्न आउनेलाई सही सल्लाह दिने, फारम भर्ने काम गर्न दुतावासले नै कर्मचारी खटाउनु पर्ने होइन र ? अनी यसरी नेपालीले नै नेपालीलाई खुलेआम आफ्नै आँगनमा ठगिरहँदा दुतावास मौन बस्नुको अर्थ के हो त ? कतै त्यो लुटबाट प्राप्त रकमको केहि अंश दुतावासमा त छिर्दैन ? तपाईको भनाई लेख्नुहोस् यो पनि पढ्नुहोस्  श्रीमान् उडे विदेश, श्रीमति हिंडिन् अर्कैसँग

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय