एनआरएन अधिवेशन की नौटंकी !

चर्चित, कतारमा अर्को शुक्रबार एनआरएनको अधिवेशन हुँदैछ । यस अधिवेशनले कतारमा रहेका नेपाली कुलिनहरुको जिउमा एककिसिमको पसिना निकाल्दैछ । पसिना निस्किने सरगर्मीले कतारको बढ्दैगएको गर्मीलाई पेवेलियन फर्काइ दिएको छ । अर्थात् एनआरएनको अधिवेशनले कतारको गर्मीलाई ‘डक आउट’ गरिदिएको छ ।

यो अधिवेशन एक किसिमको नौटंकी हो भन्दा खासै फरक पर्दैन । तर यो गुरुकुल, मण्डला, शिल्पी वा गोठाले नाटकघरमा देखाइन ‘वानटेक’ नाटक चाहिं होइन । कतारमा एनआरएनले देखाउने नौटंकी विभिन्न टेकमा सम्पन्न हुने गर्छ । यसका बिषेशता बडा चाख लाग्दा लाग्छन् । यिनै सेरोफेरो बारेमा आजको आलेख बोल्छ ।

निर्वाचन समितिको संयोजक पेवा ! एनआरएन कतारको निर्वाचनमा एउटा उराठ लाग्दो अनुहारलाई आम पार्षद्ले हरेक बर्ष झेल्नु पर्दछ । त्यो अनुहार बडा टिठ लाग्दो पाराले हल्लिरहेको भेटिन्छ । मानौं ऊ सिंगो एनआरएन कतारको बढाहाकिम हो । मानौं उसैको एक इशाराले चुनाव जित्ने चानस भएको उमेद्वार बहुमतले हार्छ । यो अजंगको गैंडासाइजे मनुवाका अनेक विशेषता छन् ।

ऊ जसले सोमरसपान गराउँछ उसैको पक्षमा लबिङ गर्छ । जसले उसको कदको इज्जत गर्दै धनुष्टंकार सलाम ठोक्छ, उसैलाई बोक्छ । जसले उसको जयजयकार फाल्छ, उसैलाई काँध हाल्छ । ऊ यसरी प्रस्तुत हुन्छ कि, कसैले नमस्कार गरेन भने कम्प्लेन गर्छ । मेरा एक सञ्चार मित्रले उसलाई देखेर नमस्कार गरेन भनेर मेरा मित्रका हाकिमलाई गुनासो पोखेछ । यो घटनापछि उसको दरिद्र रुपको अँधेरो छायाँबाट धेरैले बाटो तताए ।

भाइ र दाइ ! हाम्रो देशाँ आफ्नै भाइले फरक पार्टीमा आस्था राख्दा एकअर्काको मुख नहेर्ने चलन केही साल पहिले जिउँदो थियो । अहिले पार्टीले आफ्नै नाकामीले जनतामा घृणा फैलाएकाले त्यो भाइमारा चलनले सन्यास लियो । तर यसका केही दृष्टान्त भने कतारमा जिवित छन् । के हुन् त ति ?

नेपालमा नेकपा एमालेलाई सधैँ भाइ कांग्रेसको भुमिका खेलेको अभियोग लाग्छ । यो अभियोगको सत्यता पाठक र स्वयं एमालेकर्मीहरु नै छिनोफानो गरुन् । अनी कांग्रेसको भाइ हुनमा उसलाई गर्व हुन्छ कि लाज ? त्यो पनि उनीहरुनै जानुन् । भन्नेहरु भन्छन् कांग्रेसको बिचारलाई अर्ध सहमतिले बोकेर ऊ बर्षौंदेखि अनिश्चित यात्रामा छ ।

उता कतारमा ठिक उल्टो छ । ए अचम्म, कतारमा त कांग्रेस पार्टीको भातृ संगठन त भाइ एमाले पो हुन्छ एनआरएन अधिवेशनमा त । उनीहरु दाइभाइ मिल्छन् र पदका गुलिया जेरी निल्छन् । अरुहरु त चिल्लै । चिल्लै पनि हैन, खस्रै ।

बहुल पार्टीका भातृ संगठन भए पनि ति नेपथ्यमा छन् । ओझेलमा छन् । तर कांग्रेस र एमाले भातृ संगठन भने हाइलाइटमा छन् । इकाइ समिति बनाएको बनाएकै हुन्छन् । लेवी उठाएको उठाएकै हुन्छन् । लेवी उठाएर लिने इकोनोमिकल्ली हेभी भएसक्दा पनि बिचरा श्रमिकले यस कुराको सुईंको सम्म पाम्दैन ।

खर्चेर पार्षद् (खेताला पार्षद भन्दा ठिक होला की ?) कतारको एनआरएनए चुनावमा वास्तविक पार्षद् भन्दा धेरै खेताला पार्षद् बनाइन्छ । तिनको काम एक दिन भोट हाल्न लाइनमा बसेर खेताला लाग्नु मात्र हो । आफनै कम्पनीको लेबरहरुलाई खेताला पार्षद् बनाउँछन ।

कुनै पनि संघसंस्थामा पस्न चाहने मान्छेले अमुक संस्थामा पस्न आफ्नो स्वरुचिले निर्णय गर्छ । तर एनआरएनमा बिचित्र तरिकाले पार्षद् बनाइन्छ ।

उमेद्वार आफैंले आफ्नै खर्चले पार्षद् बनाउँदै हिँड्छ । पार्षद् बन्न चाहने मानिस भन्दा उम्मेद्वारले खर्चेर बनेका पार्षद् बढि हुन्छन् । यो फगत चुनावमा भोट आओस् भनेर गर्छन् ।

जसले जति धेरै टाबे कम्पनि चलाएर कुम्ल्याएको अकुत सम्पत्ति प्रयोग गरेर पार्षद् बनाउँछ, उसैले चुनाव जित्छ । निर्वाचन समितिको संयोजकलाई जसले सोमरसले नुवाइदिन्छ, उसैले समर्थन पाउँछ । जसले समर्थन पाउँछ, उसैले चुनाव जित्छ र बन्छ अध्यक्ष ।

सधैंको प्रमुख अथिति ! आफ्नै श्रमिक ठगेर सिद्याउने (जसलाई कतारमा कार्यरत नेपालीहरु टावे कम्पनि भनेर चिन्ने गर्छन्) व्यक्ति नै सदा झैं चुनावताका प्रमुख अथिति बनाइनु अचम्मको कुरा हो । सायद उनको विकल्प देख्दैन एनआरएन कतार । त्यो प्रअ सार्वजनिक कार्यक्रममा माइक बजार्छ । पत्रकारलाई धम्की दिन्छ । बिचरा पत्रकार, अग्रभागमा आसिन उही धम्कीवाजको फुटो खिच्छ र समाचार छाप्छ । हरे नियति,

त्यो प्रअले उहिल्यै अर्को गज्जवको नाकाम गरेको थेछ । यो नाकामीको खसोखास कुरो आम श्रमिकलाई थाहै इल्ले ।

सुनामी (सूर्यनाथ मिश्र, उनी श्रमिकका समस्या समाधान गर्न सुनामीकै रुपमा ठग दलाल बिरुद्ध खनिन्थे र दिनहीन श्रमिकलाई न्याय दिलाएरै छाड्थे) राजदुत भएका वेला ति प्रअले तराइमधेषतिरका एक नेपाली श्रमिकलाई पाक गर्न ल्याएछन् । बिचरा श्रमिकले ६ महिनासम्म तलव र भिषा नलाउँदा पनि गुनासो गरेनछ । तर लाभा कतिञ्जेल जमिन भित्र रहन्थ्यो ? एकदिन निस्किएछ ।

निस्किएपछि कान्तिपुरकर्मी एक पत्रकारले सुनामीकहाँ लिएर गएछन् । त्यो श्रमिकले आफ्नो दिलदुःख कहानी राजदुतसामु कहेछ । राजदुत सुनामी प्रअमाथि खनिएछन् ।

प्रअले त्यो श्रमिकले खाइपाइ पाउने सवै दिने वाचा गरेछन् । तर कर्म विशेषले सुनामी नेपाल आएका वेला दुतावासकै एक कर्मचारीसँग साँठगाँठ मिलाएर त्यो दुखी श्रमिकलाई खाली हात नेपाल पठाइदिएछन् । तिनै श्रमिकमारा व्यक्तिलाई एनआरएनका कार्यक्रमहरुमा प्रमुख अतिथिका रुपमा देख्दा उनको मन के हुन्छ कुन्नी ?

कोटमा लोगो र ओठमा भिषा चुनाव जितेका व्यक्ति कोटमा एनआरएनको लोगो उनेर भिषा खोज्दै हिंड्छ । कठै यसले एनआरएनको इज्जत बढाउँछ वा बढाउँदैन, सच्चा एनआरएनकर्मीहरुले सोच्नुपर्ला की ?

पहिले खासै हैसियत नहुनेहरु एनआरएनको नेतृत्वमा पुग्नेहरुको जीवनमा देखिने फेरवदल र उसले गर्ने व्यापार कहिनसक्नुको छ । गलामा टाइ झुण्ड्याएर हिंड्नेहरुले गर्ने व्यापारका बारेमा धेरै भन्नै पर्दैन । ऊ विभिन्न कार्यक्रममा प्रमुख अतिथि हुन्छ । विषयइतर भाषण ठोक्छ र कार्यक्रमको अन्त्यमा पेटभरि बिरयानी बोक्छ अनी सुईंकुच्चा ठोक्छ । कुदाइको बेतोड गतिमा उसले श्रमिकका मुद्धा बिर्सिन्छ । आफुले अघि सहयोग गर्छु भनेर कबोलेको रकम बिर्सिन्छ र दिने भाका समेत बिर्सिन्छ ।

कतै आउँदैनन् पीडितका कुरा दलनमा परेका श्रमिकका ब्यथा कतारका अंग्रेजी, अरबी भाषाका पत्रपत्रिकाले सासजाला छाप्दैनन् । छाप्छ कसले ? नेपाली पत्रपत्रिकाले हेपिएका श्रमिकमध्ये ५ प्रतिशत मात्रै छाप्छन् । तर भाषण गर्ने समयमा भनें एनआरएन नेतृत्वले उनीहरुका समस्या समाधान गर्ने गुलियो भाषण मज्जैले ठोक्छ ।

लज्जाशरणम्, श्रमिक हितमा कर्म गर्नु पर्ने एनआरएन नेतृत्व ठेक्कामा कुनै क्लवका लागि दर्शक बटुल्दै हिंड्छ । दर्शक ओसार्ने गाडीधनीसँग भाडाको मोलमोलाइ गर्दैगरेको भेटिन्छ । यस्तो लाग्छ, कवि भूपि शेरचनले यस्तै चेयरमेनलाई देखेर लेखेका होलान्, ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ ।

यि वाहेक अन्य अनेक अलिखित अकर्मन्यहरुले बनेको एनआरएनको अधिवेशनबारे कतारमा भएका साथीहरुले ‘आँखो देखा हाल’ ल्याउलान् । त्यतिञ्जेलसम्म गुडवाइ, नमस्ते, सलाम, (सलामवालेकम), शास्त्रियकाल ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय