श्रीमान् उडे विदेश, श्रीमति हिंडिन् अर्कैसँग

रामेछापको मन्थली नगरपालिका ८ को रानागाउँ । परदेशीको भत्केको एउटा घरको कथा खोज्दै हामी त्यहाँ पुगेका थियौं । घर बलियो बनाउने सपना देखेर विदेश उडेको त्यो परदेशीको आफ्नै घर चाहिं उ उडेको तीन महिना नवित्दै यता भत्किएको थियो । जसरी उसको सपना भताभुङ्ग भएको थियो उता परदेशमा, यता उसको घर पनि त्यसरी नै थोत्रिएको छ । मानौं त्यहि घरले उसको किथा भनिरहेछ । धेरै दिनयता नलिपेको भान्छा कोठा । भत्किन लागेको चुल्हो । चुलोमाथि भर्सेलीमा राखिएको काठको तखतामा दुईवटा पुन्यु सहितको जुठो कस्यौडि र अढाई लिटरको कुकर छ । सायद बेलुकी त्यसैमा भात पाक्ने छ यो घरमा । एकजना बृद्ध दुईवटा मसिना चोईटाको साहारामा आगो फुक्दै छन् । उनै हुन् ७९ बर्षे पडम बहादुर मगर । बडो मुस्किलले अलिअलि कान सुन्छन् । बुढेसकालमा श्रीमान् श्रीमतीबीच ठाकठुक परेको छ । त्यसैले दुवैको भातभान्सा अलग अलग छ । श्रीमान् फकाउँदा रहेछन् सँगै बसौं भनेर । ७५ पुगेकी श्रीमतिलाई ति बृद्धले फकाउन सकेका रहेनछन् । त्यसैले वल्लोपल्लो घर बसेका रहेछन् उनीहरु । कुरा गर्न मान्छे आएका छन् भन्दा पनि ति बृद्धा वल्लो घर आउन मानिनन् । बल्लतल्ल हामीले नै मनायौं उनलाई वल्लो घरमा आउलाई । एउटा सानो दुधे नातिलाई कुप्रो पिठ्युमा बोक्दै र एउटी सानी नानीलाई डोर्याउँदै जस्केलोबाट भित्र छिरिन् चन्द्रमाया । र, भान्सा भित्रको जाँतोको आडैमा टुसुक्क अढेस लागेर बसिन् । उमेरले २४ टेकेका उनका छोरा हितबहादुर बडो मुस्किलले विदेश गएका हुन् । गाउँमा राम्रै फर्निचर बनाउने भनेर चिनिएका हितबहादुरले गाउँमा मुढा आरो लगाउने देखि गाह्रो लगाउनेसम्मको ज्यामी काम गरे । तर ज्याला मजदुरीले खासै कमार्ईन्न भन्ने निश्कर्षमा पुगेपछि उनी विदेशिने निर्णयमा पुगेका थिए । बर्षदिन अघि उनी मलेसिया जाने भन्दै आफ्नै दिदिमार्फत् एउटा दलालसम्म पुगेका थिए । त्यसका लागि उनले ८० हजार बुझाए पनि । तर दलालले उनलाई झुलाइरह्यो । आजै उडाउँछु, भोली नै उडाउँछु भन्दै धेरैचोटी उनलाई विमानस्थल पुर्याएर फर्कायो । फसेको रकम निकाल्ने उपाय खोज्दै उनी एकपटक आइपुगेका थिए । सल्ला बमोजिम दिदी मार्फत तै उनले फेरी दलालबाट सो रकम फिर्ता पनि लिए । तर उनको विदेश जाने सपनालाई त्यसले कुनै विगार गरेन । उनी अर्को कम्पनी मार्फत मलेसिया पुगे । छोरो विदेश उडेपछि यता घरमा समस्या पस्यो । हितबहादुर विदेश उडेको तीन महिना नवित्दै बुहारीको गतिविधिले शंका बढायो । छोराछोरी सुतेपछि बुहारीले राती अवेरसम्म फोनमा कुरा गरेको सासुको शंकालु नजरले चिहाइरहेकै थिए । कोसँग गफ गरेको भनेर सोध्दा कहिले माइतीमा भन्थिन् त कहिले तिम्रै छोरासँग भन्ने ओठे जवाफ फर्काउँथिन् । गत चैत्र ५ गते । हितबहादुरले ४८ हजार पैसा पठाए पहिलो खेप । उनले पैसा आमाकै नाममा पठाएछन् । खै किन हो मेरो नाममा पठाएछ चन्द्रमाया भन्छिन् आमा बुहारीलाई लिएर झर्नु है भनेर फोन गर्यो उताबाट । भोलीपल्ट बिहानको खाना खाएर सासुबुहारी झरे मन्थली । तर बाटोमा उनीहरुबीच खासै कुराकानी भएन । बुहारी अघिअघि मोवाइलमा कुरा गर्दै हिंडिन् । सासु पछि पछि लौरो टेकेर लुखुरलुखुर बाटो काटिरहिन् । सामान्य मान्छेलाई डेढ घण्टा लाग्ने बाटो चार घण्टा लगाएर हिंड्दा हामी त एकअर्कालाई नचिनेजस्तै गरेर हिंडिरह्यौं चन्द्रमाया सम्झिन्छिन् । मन्थली पुगियो फेरी बुहारी छैन । बाहिर निस्केर हेर्यो बुहारी उहि फोनमा झुण्डिरहेकी । छोराको फोन होला भन्दै बुहारीकहाँ जान्छिन् बुहारी अन्तै हिंड्छे । फेरी पछि लाग्छिन् बुहारी त्यहाँबाट पनि हिंड्छे । गर्दा गर्दै बेलुकी चार बज्यो । नागरिकता साथमा नबोकेकोले पैसा निस्केन । भोलीपल्ट फेरी झर्नुपर्यो । भोलीपल्ट मन्थली झरेर पैसा झिके । पैसा बुहारीले समाईन् । १८ हजार आफूसँग राखेर मलाई बाँकी पैसा समाउन दिई । त्यहि पैसाबाट छोराले विदेश जाँदा लिएको ऋणको व्याज तिरिन् चन्द्रमायाले । बाँकी घरखर्चका लागि राखिन् । पैसा आएको तेस्रोदिन बिहानै छोराछोरी ओछ्यानबाट उठेर रुन थाले । बेला बित्दा समेत बुहारी तल उत्रिइनन् । किन नाती नातिना रुन थाल्दा समेत बुहारी आइन भन्दै माथ्लो तल्लामा उक्लिंदा बुहारी लुुगाफाटा समेत बोकेर बेपत्ता भइसकिछन् । उनी हिंडेपछि आमाको दुध खाँदै गरेको डेढ वर्षको काखे नातीलाई हुर्काउन बृद्धालाई सकस परेको छ । नातिनि चाहिं तीन बर्षमा हिंड्दै छिन् । अरु बेला त यस्तैउस्तै टर्छ, नाती नातिनीलाई राती सुताउन भनें ति बृद्धालाई हम्मेहम्मे नै पर्छ । के गर्नु आमाको खुध खाने बानी भएको बालख, आफ्नै दुध चुसाएर सुताउँछु चन्द्रमाया भन्छिन् । चन्द्रमायाले यसो भनिरहँदा माइत आएकी चन्द्रमायाकी कान्छी छोरी बरबरी आँशु खसालेर रुँदै थिइन् । हामी त डाँडामाथिका जुन हौ, कहिले अस्ताउने हो ठेगान छैन । यी बालखको विजोग पारेर गइ पापीले भुईतिर एकटकले हेर्दै चन्द्रमाया भन्दै गइन् । घरमा ११ वटा बाख्रा, एउटा भैंसी, एउटा गोरु छन् उनै बुहारीको भरमा पालेका । अव तिनको हेरचाह गर्न पनि बुढो ज्यानले सक्दैन । नाती नातिनीलाई खुवाउन त मुस्किल छैन उनीहरुलाई । तर उनीहरुलाई कसरी पढाउने हो भन्ने चिन्ता सुरु भएको छ । खै पापीनीले त अलपत्र पारेर गईहालि अव यी बालखको लेखपढको बन्दोबस्त कसैले मिलाइदिए हुन्थ्यो चन्द्रमायाको अपेक्षा यत्ति छ । सागरविक्रम बस्नेत, रामेछाप यो पनि पढ्नुहोस् पूर्व लडाकुबाट टेलर्स सञ्चालकः फेरिएको परिचय (भिडियो सहित) दुई बर्षमा झण्डै ४० लाख स्वदेशमै कमाई(भिडियो सहित)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय