नेपालीको पासपोर्टमा भारतीय उडे विदेश

बारा – रामपुर टोकनी ३ भलुहीका स्थानीय हसमुदिन मियाँ मंसुरीको नामबाट एक भारतीयले पासपोर्ट (राहदानी) झिकेर वैदेशिक रोजगारमा गएको खुलेको छ । हसमुदिनले आफ्नो पासपोर्ट बनाउन जिल्लाको सिफारिस लिएर पासपोर्ट लिन काठमाडौं जाँदा यो रहस्य खुलेको हो । भारत आदापुरअन्तर्गत भेडिअर्वाका अलि हसन मियाँले गाविस सचिव ललनराम नेपालीको मिलेमतोमा हसमुदिनको नागरिकताको प्रतिलिपी लिन आफ्नो तस्बिर टाँसेर हसमुदिनको तीनपुस्ते विवरण भरेर नागरिकताको प्रतिलिपी झिक्दै काठमाडौंबाट पासपोर्ट बनाएका हुन् । ‘हसमुदिनको तीन पुस्तेमा अलिहसनले आफ्नो फोटो टाँसेर नागरिक्ताको प्रतिलिपी लिएर पासपोर्ट झिकेका हुन्,’ जिल्ला प्रशासनका नागरिकता प्रतिलिपी फाँटका एक कर्मचारीले भने, ‘भीडभाडमा दिंदा यसो भएको हो ।’ हसमुदिनले आफ्नो नामको नागरिकताको प्रतिलिपी लिएर पासपोर्ट लिएकोप्रति छानबिन गर्न जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि प्रशासनले गाविस सचिव नेपालीलाई झिकाएर छानबिन थालेको छ । ‘पासपार्ट निकाल्न काठमाडौं जाँदा आफ्नो नामको पासपोर्ट नागरिकताको प्रतिलिपीको आधारमा निकालिसकेको सुचना थाहा पाए,’ हसमुदिनले भने, ‘सचिवले जानीजानी रकम लिएर मरो नागरिक्ताको प्रतिलिपी निकाल्न अलि हसनलाई सिफारिस गरेका छन् । मेरो तीन पुस्ते सबै मिलाएर फारम भरेका हुन् । विदेश जाने आफ्नो चाहना पुरा भएन ।’ हसमुदिनले २०६१ चैत २५ मा नागरिक्ता लिएका थिए । अलि हसनले भने ०६९ जेठ १७ मा उनले हसमुदिनको नामले प्रतिलिपी लिएका हुन् । उनले उक्त नागरिक्ताबाट ०६०४०३९८ नम्बरको पासपोर्ट उनले सन् २०१२ अगस्त १ मा लिएका हुन् । उनी मलेसियामा साढे दुई बर्ष बसेर फर्किएका छन् । फर्केर उनले उक्त पासपोर्ट र नागरिक्ता हसमुदिनको घरमा छाडेर भारततिर फरार छन् । उक्त प्रतिलिपी तत्कालीन प्रशासकीय अधिकृत भरतबहादुर पन्तको हस्ताक्षर छ । अलि हसन जितपुरमा व्यापार गर्दै आएका थिए । ‘नागरिकताको प्रतिलिपी दिंदा स्रेस्तासित तीन पुस्ते र फोटो भिडाएर दिनुपर्ने व्यवस्था छ । तर रेकर्ड भिडाउँदै नभिडाइ नागरिकताको प्रतिलिपी दिइएको हो,’ जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीले भने, ‘भुक्किएर दिइएको हो ।’ नागरिकताको प्रतिलिपीबारे छानबिन भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद दुलालले बताए । ‘हसमुदिनको ठाउँमा नियतवश आफ्नो तस्बिर टाँसेर भुक्याएर प्रतिलिपी लिन सफल भएका हुन्, यसमा गाविस सचिवको कमजोरीसँगै जिल्ला प्रशासनबाटसमेत त्रुटि भएको देखिन्छ,’ उनले भने, ‘छानबिनको क्रममा सचिवलाई झिकाइएको छ ।’ उ ता सचिव नेपाली सम्पर्कमा आउन चाहेका छैनन् । ‘सचिव नेपाली यसअघिसमेत भारतीयलाई नागरिकताका लागि सिफारिस गरेको आरोपमा छानबिनको घेरामा आइसकेका हुन्,’ जिल्ला प्रशासन स्रोतले भन्यो, ‘फर्जी काम उनले पैसा लिएर नियतवश गर्दै आएका हुन् ।’ कान्तिपुरबाट यो पनि पढ्नुहोस् पूर्व लडाकुबाट टेलर्स सञ्चालकः फेरिएको परिचय (भिडियो सहित)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय