खाडी जानै पर्दैन, यहिं गर्न सकिन्छः विनिता

काठमाडौं चलचित्र चपली हाइटमा काम गरेपछि नेपाली फिल्म उद्योगमा चर्चामा आएकी नायिका हुन् विनिता बराल । तर ककेहि समययता उनको अर्को परिचय छ अग्र्यानिक तरकारी खेती । तर उनी त्यतिमा मात्र सिमित हुन चाहन्नन् । उनी अव उपन्यासकार समेत हुँदैछिन् । ‘जुइनो’ नामक उपन्यास बजारमा सार्वजनिक गर्ने तरखरमा रहेकी नायिका बराललाई अब रङ्गमञ्चको कलाकार, कृषक र लेखिकाको रूपमा समेत चिनिनेछन् । यसै सन्दर्भमा नायिका बरालसँग गोरखापत्रकी यलु जोशीले गरेको कुराकानी संक्षेपमा

० दर्शकले तपाईंलाई कुनरूपमा चिनुन जस्तो लाग्छ ? – म अहिले पनि कलाकार नै हो । मेरो इच्छा भनेको अभिनय हो । म नायिका हो तर मलाई मेरो कृषि पेशा अत्यन्त मनपर्छ र यसमा नै म सन्तुष्टि हुन्छु त्यसैले मलाई एक कृषकको रूपमा चिनेको झनै राम्रो लाग्छ ।

० तपार्इंको उपन्यासले के सन्देश दिएको छ ? – यो कृषिसम्बन्धी नै उपन्यास हो । यो कृषकहरू बीचको काल्पनिक प्रेम कथामा आधारित रहेको किताब हो । मैले लेखेको उपन्यासको नाम ‘जुइनो’ (घाँस काट्दा मुठा बाँधिन प्रयोग गरिने हरियो घाँस बाटेर बनाइने डोरी) हो । उपन्यास कृषिमा आधारित प्रेमकथा भएकाले नाम पनि कृषि केन्द्रित राखेको हो ।

० यो उपन्यासले युवापुस्तालाई के सन्देश दिन्छ त ? – उपन्यास पढ्ने पाठकले विदेश नगई देशमै केही गर्नुपर्ने रहेछ भन्ने बुझ्छन् । उपन्यासमा आफ्नै देशमा बसेर केही गर्न सकिने सन्देश दिन खोजिएको छ । आम युवा पुस्ता देशको माटोसँग जुइनो गाँसियोस् भनेर पनि मैले यो नाम राखेको हो । अहिले युवाका लागि कमाइ गर्ने माध्यम कृषि नै उपयुक्त विकल्प हो । कृषिलाई व्यवसायीकरण गर्न सकिएमा देशको अर्थतन्त्रमा समेत सुधार ल्याउन सकिन्छ ।

० कृषिमा लाग्नुभएको छ अभिनयलाई के गर्नुहुन्छ ? – अभिनय त मेरो सानो देखिको सपना हो यसलाई त म कहिले पनि छोड्दिन । फर्मको कामले गर्दा अलि व्यस्त भएको हो तर अहिले अफ सिजन भएकोले फुर्सद नै छ मेरो नयाँ चलचित्र ‘उमङ्ग’ पनि प्रदर्शनीको क्रममा छ । रङ्गमञ्च, म्युजिक भिडियो त अहिले गरिनै रहेको छु ।

० उपन्यासलाई चलचित्रमा ढाल्ने कुनै योजना छ ? – मेरो उपन्यासलाई न्याय दिने गरी चलचित्र बनाउन सके त म सबैभन्दा बढी खुशी हुन्छु । राम्रो ब्यानर र कथालाई बुझ्ने निर्देशक पाएको खण्डमा अवश्य चलचित्र निर्माण गर्छु ।

० तपाईंको उपन्यास कहिलेसम्म बजारमा आउँछ ? – अबको एक डेढ महिनामा बजारमा आइसक्छ । अहिले प्रिन्टिङको लागि गएको छ ।

० कलाकार मान्छे, कसरी कृषिमा लाग्नुभयो ? – मान्छेलाई जति भए पनि पुग्दैन मलाई पनि त्यस्तै भयो । कृषि भन्ने बित्तिकै यो काम त हामीले गर्ने होइन भन्ने भ्रम छ युवापुस्तामा त्यो मेटाउन पनि म यतातिर लागेको हुँ । हाम्रो देश कृषिमा धनि छ । हाम्रो आमा–बुबाले यही काम गरेर आउनुभयो भने हामीले पनि किन नगर्ने भनेर नै हो ।

० तपाईंको फार्ममा के के उत्पादन हुन्छन् ? – सिजन अनुसार सबै उत्पादन गर्ने गरेका छौं । काउली, धनियाँ, मूला, गान्टे मूला, रायोको साग उत्पादन हुन्छ भने ध्यु, ग्राउण्ड एप्पल आदि ।

० भविष्यको के योजना छ ? – आफ्नो देशको माटोमा काम गर्दा छुट्टै आनन्द आउँदो रहेछ । अहिले नेपालका धेरै तन्नेरीहरूले खाडी राष्ट्रमा पसिना बगाएका छन् । खाडीमा बगाएको पसिना यहीं बगाउने हो भने आफ्नै देशको माटोमा सुन फल्छ त्यसैले अब म पनि यसैमा लाग्छु सँगसँगै मेरो अभिनय करियर त छँदैछ ।

गोरखापत्रबाट साभार

यो पनि पढ्नुहोस्

मलेसियामा संस्था बनाउ, रकम कुम्ल्याउ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: