कतारमा दर्शक राजनीति ! किन, कसले र कसरी ल्याइदिन्छन् दर्शक ?

चर्चित- सन् २०२२ को विश्वकप फुटवलको आयोजकका रुपमा छानिएपछि कतारले खेलकुदलाई उच्च महत्व दिएको छ । उसले पूर्वाधार निर्माण र खेलकुद विकासमा ठूलो लगानी गरिरहेको छ । यसैक्रममा उसले कतारका विभिन्न ठाउँमा ९ वटा स्टेडियम तयार पार्दैछ । ति सवै स्टेडियमलाई सडक र रेल मार्गद्धारा जोड्दैछ ।

यति मात्र हैन, उसले खेलकुद कार्यक्रमलाई पनि तिब्ररुपमा अघि बढाइरहेको छ । आप्रवासीबीच समयसमयमा भलिवल र फुटवल खेलको आयोजना गर्छ । अन्तरकम्पनि खेलकुदको पनि आयोजना गर्छ । अर्थात अहिले देखि नै कतार खेलकुदको पारो तताउन चाहन्छ ।

कतारले किन खेलकुद आयोजना गर्छ ?

कतारले आफ्नो देशमा कार्यरत आप्रवासी कामदारलाई दलन गरेको छैन भनेर विश्वसमुदायलाई विश्वस्त पार्न सकेको छैन । त्यो किन सकेन त ? किनकी उसले श्रमिक कानुनलाई अफ्ठेरो गरी ब्याख्या गरेको छ । कफाला पद्धतीको विश्वभर चर्को आलोचना भएपछि उसले त्यसलाई परिवर्तन गर्ने भनेर बोलेको बर्षदिन हुन लागिसक्यो तर त्यसमा खासै उल्लेख्य परिवर्तन गरेको छैन । भर्खरै त्यसमा खासै परिवर्तन हुनेछैन भन्ने सन्देश कतारको सरकारी निकायले नै दिएको छ । अर्थात उ कामदारलाई दोश्रो दर्जामा नै राखिरहन चाहन्छ ।

हुन त पछिल्लोपटक श्रम कानुनमा परिवर्तन गरेको समाचार आयो । खासमा श्रमिकलाई बैंकमार्फत् तलव भुक्तानी गर्ने भन्ने पुरानै बिषयमा मात्रै कतार केन्द्रित भयो । आम आप्रवासी कामदारले करारअवधि समाप्त भएपछि कम्पनि परिवर्तन गर्न पाउने विश्वब्यापी मान्यतालाई कतारले पछ्याओस् भन्ने धारणा राखेको उसलाई थाहा छ ।

तर ऊ त्यो गर्न चाहदैन । किन ? किनकी कतारमा अझै कामदारप्रति अनुदार मुदिरहरु छन् । उनीहरु कामदारलाई अधिकारसम्पन्न भएको हेर्न चाहदैनन् । कामदारले आफु त्यो कम्पनिमा कार्यरत रहने नरहने निर्णय गर्ने अधिकार आफ्नो पकडमा रहोस् भन्ने ठान्दछन्, कामदारका पक्षमा हैन ।

श्रम सम्झौतामा दुई किसिमका मान्यता राखेर अहिले गरिरहेको अभ्यास पनि प्रभावकारी देखिदैन । श्रम सम्झौतामा डेफिनिट र इण्डेफिनिटमा हस्ताक्षर गराइरहेको जुन कागजी अभ्यास छ, त्यो यत्ति उल्झनपूर्ण छ कि, कुरै नगरम् ।

अधिकांश नेपाली कामदारलाई दुईवटा श्रम प्रकार हुन्छन् भन्ने पनि थाहा हुदैन । कुन श्रम प्रकारमा के प्रावधान छ भन्ने पनि थाहा हुदैन । यस्तो अवस्थामा उनीहरुलाई कम्पनिले सजिलै आफुले चाहेको श्रम प्रकारमा हस्ताक्षर गराउँछ ।

के हुन् यि श्रम प्रकार ? डेफिनिट भनेको करारअवधि समाप्त भएपछि कम्पनि परिवर्तन गर्न पाइने प्रावधान सहितको २ बर्षे श्रम सम्झौता हो भने इण्डिफिनिट भनेको चाहिं करारअवधि समाप्त भएपछि पनि कम्पनिको स्वीकृति विना कम्पनि परिवर्तन गर्न नपाइने प्रावधान सहितको ५ बर्षे श्रम सम्झौता हो । यस्तो प्रावधान भएपछि कसरी एउटा श्रमिकले डेफिनिट श्रम सम्झौतामा हस्ताक्षर गर्न पाउ“छ ? किन सवैलाई करारअवधि समाप्त भएपछि कम्पनि परिवर्तन गर्न पाउने गरी कतार सरकारले श्रम कानुन लागु गर्दैन ?

यि लगायत खराव श्रमिक क्याम्प, अपूर्णकालिन श्रमिक विमा, झन्झटिलो न्याय प्रणाली, कार्यस्थलमा अपर्याप्त सुरक्षा सामग्री, सुतेको सुत्यै हुनुका कारणबारे मौनता आदि कारणले कतार पश्चिमी देशहरुमा बढि आलोचित छ ।

तर ढुँगो बोल्ला, नेपाल बोल्दैन, किन त ? किनभने उसलाई युवाले देशभित्रै रोजगारी सिर्जना गर्न दबाव दिएका छैनन् । किनकी उनीहरु खाडीका देशहरुमा गइरहेछन् । मलेसिया उडिरहेका छन् । रेमिट्यान्स आएकै छ, राजनीतिको गोरखधन्दा चलेकै छ ।

खेलकुद आयोजनाले अन्य बिषयलाई ओझेलमा पारोस् भन्ने उसको चाहना सफल पनि भइरहेको देखिन्छ । यि र अन्य अनेक अलिखित दलनलाई छोप्न कतार सरकारले विभिन्न खेलकुदका कार्यक्रम गर्दैआएको छ । उसकै विभिन्न क्लवहरुका लागि पनि र आप्रवासी कामदारहरुका लागि पनि । तर बिडम्बना, कतारसँग ति खेलकुद हेर्ने दर्शक नै छैनन् ।

दर्शक आउँछन् कसरी ?

कतारका विभिन्न क्लवले नेपाली संघसंस्थास“ग लिखित र मौखिक सम्झौता गरेका छन् । ति फुटवल क्लबले खेल आयोजना गरेका दिनमा सम्झौता गरेका नेपाली संघसंस्थाले अनिवार्य रुपमा दर्शक ल्याइदिनु पर्दछ । यदि गर्न सकेनन् भने ति क्लवले दर्शक बटुल्ने ठेक्का अर्कै संघसंस्थालाई दिन्छन् ।

कुन कुन संघसंस्थाले दर्शक बटुल्छन् कतारमा?

दर्शक बटुल्ने दौड उछिनेको छ एनआरएन कतारले । अर्थात विदेशमा रहेको नेपालीको साझा छाता संस्थाले यो कर्ममा आफूलार्ई अव्वल सावित गरेको छ ! यसमा सायद गर्व नै गर्नुपर्छ होला, हैन त एनआरएन, कतारका नेताज्यूहरु ?

दोस्रो नम्बरमा दर्शक बटुलीदिन्छ चितवन युवा समाजले । संघसंस्थाले मात्र होइन, ब्यक्तिले पनि दर्शक बटुल्छन् कतारमा । ब्यक्तिगत रुपमा दर्शक बटुल्नेमा रमजान अलि मियाको नाम अगाडि आउँछ । तर थाहा छैन हिजोआज उनले यो कर्म गरिरहेछन् वा यसबाट स्वेच्छिक अवकाश लिइसके ।

कुन कुन क्लवसँग कुन कुन संघसंस्थाको सम्झौता छ ?

एनआरएनले अलअरबी स्पोर्टस् क्लबसँग सम्झौता गरेको छ । चितवन युवा समाजले अलअहली स्पोर्टस् क्लबसँग सम्झौता गरेको छ । एनआरएन र चितवनले लिखित सम्झौता गरेका छन् । रमजान अलि मियाले रैयान स्पोर्टस् क्लब र अलसाद स्पोर्टस् क्लबसँग मौखिक सम्झौता गरेका हुन् ।

दर्शक बटुल्दिए वापत के दिन्छन् त क्लबले ?

अलअरबी स्पोर्टस् क्लबले एनआरएनलाई दर्शक बटुलेवापत बार्षिक ४० देखि ४५ हजार कतारी रियाल(नेरु ११ लाख देखि साढे १२ लाख) दिन्छ । त्यस अतिरिक्त फुटवल खेल मैदान उपलब्ध गराउँछ । कतार भलिवल एसोसिएशन र अलअरबी स्पोर्टस् क्लबको भलिवल कोर्टमा बार्षिक २ देखि ४ वटासम्म कार्यक्रम गर्न निःशुल्क हल पाइन्छ ।

चितवन युवा समाजलाई अलअहली स्पोर्टस् क्लबले बार्षिक २५ हजार रियाल(झण्डै ७ लाख) दिन्छ । नेपालीका लागि बार्षिक १ पटक फुटवल खेलका लागि मैदान उपलब्ध गराउँछ ।

यसका अतिरिक्त नेपालमा राजनीतिक दलहरुले गर्ने आमसभाका बेला सहभागि ओसार्न गाडी गाउँ पठाए झै दर्शक बटुल्न गाडी पठाइन्छन् लेवर क्याम्प र नेपालीले काम गर्ने ठाउँहरुमा । यसैगरी खेल हेर्न आउनेहरुलाई फुटवल क्लबले विभिन्न उपहार पनि थपिदिन्छन् । यदाकदा खानेकुरा (बिरयानी) पनि जुर्छ खेल हेर्न आइदिने नेपालीलाई तिनै क्लवहरुबाट ।

कसरी बटुल्छन् दर्शक ?

यि सवै संघसंस्था र ब्यक्तिले सामाजिक सञ्जाल (फेसबुक) मा सूचना लेख्छन् । फुटवल क्लबले उपहार दिने भनेका हुन्छन् । त्यसैका आधारमा दर्शकलाई खेल हेर्न आव्हान गर्दछन् । केही दर्शक खेल मनोरञ्जन गर्न आउँछन् । केही दर्शक उपहार पर्ने लोभले आउँछन् । अधिकांश चाहिं ल्याइएका हुन्छन् । जसलाई खेलभन्दा पनि त्यहाँको उपहार, पुरस्कार र विरयानीको धेरै चासो र चिन्ता हुन्छ ।

कसरी ल्याइन्छन् दर्शक ?

स्पोर्ट्स क्लबले यातायातका लागि प्रतिगाडी ५ देखि ६ सय रियाल बेग्लै छुट्याएर दिन्छन् । दर्शक बटुल्ने सम्झौता गरेका संघसस्थाले यातायात धनीलाई प्रतिगाडी ३ सयदेखि ३ सय ५० रियाल दिएर दर्शक ल्याउन र लैजान खर्च गर्दछन् । भर्खर मात्रै धेरै गाडी धनीले पैसा नपाएको गुनासो सुन्नमा आएको छ ।

त्यसरी दिइने रकम एनआरएनले लुकाउने गरेको छ । ऊ त जम्मा बार्षिक पाउने रकमबाट यातायातमा स्यापको ट्याप हुनेगरी खर्च भयो भनेर देखाउँछ ।

‘यातायातको ब्यावस्था छ, उपहार पाइन्छ र बिरयानी खान पाइन्छ’ यहि नै हो अधिकाँशले दर्शक बटुल्ने काइदा । अधिकांश दर्शक नेपाली मुदिरले चलाएको कम्पनिका हुन्छन् । उनीहरुलाई तिनै मुदिरले खेल हेर्न पठाउँछन् ।

एकपटक पंक्तिकारकै अनुभव छः काम गर्दाकै पोसाकमा खेल हेर्न ल्याइएका एक दर्शकले खेल सकिएपछि भन्दै थिए, ‘बिरयानी दिन्छ भनेर साइटबाट सिधै यता ल्यायो, अहिलेसम्म दिएन ।’ अर्थात उनलाई खेलको मज्जा जति थियो त्यो भन्दा धेरै अमिलो मन भएको थियो दिन्छु भनेको बिरियानी नदिइएकोमा ।

को भन्दा को कम ? 

दर्शक बटुल्दा विभिन्न लाभ लिन पाइने भएकाले विभिन्न संघसंस्थाबीच तिब्र प्रतिस्पर्धा हुने गरेको छ । यसै प्रतिस्पर्धाले संघसंस्थाबीचमा हानाथापसमेत भएका छन् । हानाथापले उनीहरुको सम्बन्ध पनि बिग्रेको छ ।

नामै किटेर भन्दा केही फरक पर्दैन । किनकी यसबारेमा कतारको नेपाली समाज जानकार छ । के बारेमा ? दर्शक बटुल्ने प्रतिस्पर्धामा एनआरएन र चितवनबीच असयोगको वातावरण बनेको थियो । (अहिले के छ ? थाहा भएन) । दुवैले एकअर्कालाई दर्शक बटुल्न असहयोग गर्थे ।

यो अप्राकृतिक प्रतिस्पर्धा एकअर्काको शत्रुताका रुपमा झांगिएको थियो । कतिसम्म भने, दर्शक बटुल्ने मौका पाएको चितवन समाजको समाचार लेखेको भनेर एनआरएन कतार अध्यक्ष मक्सुद आलमले पत्रकार रवि रोशीको कठालो नै समाएका थिए । भन्नलाई आलमले ‘फोटो खिच्न क्यामेरा लिएको’ भने । तर उनले आफ्नो हातबाट दर्शक बटुल्ने मौका गुमेकोमा रोष पोखेका थिए । यो कुरोको चुरो कमैलाई मात्र थाहा छ ।

दर्शक बटुल्नेको कृत्य पनि कम्ती ताज्जुपका छैनन् । गाडी पठाउने भन्छन्, अपर्याप्त पठाउँछन् र दर्शक सडकमा एकटक कुरिरहन्छन् । खेल सकिएपछि गाडीमा पु¥याउने भन्छन्, खेल सकिनुअघि नै संयोजक टाप कस्छन् र दर्शक गाडी पर्खेर स्टेडियम वरिपरि बेचैन कुर्छन् । आधारात हुन्छ, प्रायोजित गाडि आओस् त मर्नु । खेल हेर्न ल्याइएकाहरु दर्शकबटुलुवालाई मनपरी(त्यो अधिकाँश अश्लिल नै हुने गर्दछ) गाली गर्दागर्दै थाक्छन् र बाटो लाग्छन् ।

निष्कर्ष

कतारको पछिल्लो दर्शक बटुलुवा कृत्यका कारण खाडीमा एनआरएनको औचित्य दर्शक बटुल्ने मात्रै हो त जस्तो देखाइदिएको छ । न ऊ दोहोरो नागरिकता माग्ने हैसियतको हो, न त उसले आफुलाई श्रमिक समस्या समाधानार्थ समन्वयकारी भूमिका खेलकको औकात सिद्ध गर्न सकेको छ । ऊ त फगत दुई बर्षमा एकपटक पार्षद् बनाउँछ । विभिन्न कार्यक्रममा अथिति बन्छ र भाषण ठोक्छ । दर्शक बटुल्छ र आलोचकको हुर्मत लिन्छ । धम्की दिन्छ । संस्थाको खोल ओडेर म्यानपावर कम्पनी चलाउँछ । बाहिर श्रमिक हकहितमा लाग्ने भन्छ तर भित्र आफ्नै श्रमिक सिध्याउँछ । केहि एनआरएनकर्मीको यो कर्मले असल एनआरएनकर्मीको पनि बद्नाम गराउँदैछ । तर यसमा लगाम कस्ने कसले ? सवै तैं चुप मैं चुप छन् कतारमा ।

कतारमा एनआरएनको एउटा विचित्रको यथार्थ देखिन्छ जसले स्वयं एनआरएनका असल अगुवालाई कुरीकुरी हुनुपर्ने हो । खेलकुदका कार्यक्रममा कुनै क्लवका लागि १० हजार दर्शक बटुल्ने एनआरएन रक्तदानजस्तो सामाजिक कर्ममा ६० जना दानी जम्मा पार्न सक्दैन । पार्षद् भेलामा गणपुरक संख्या पूरा हुन्न । कठै त्यो टिठलाग्दो कुराको वर्णन धेरै गर्नु श्रेयस्कर नहोला ।

एनआरएनमा यतिसम्म हुने गरेको छ की लाखौं रियाल ब्याजमा हैन, कोषाध्यक्षको स्यालरी एकाउन्टमा राखेको छ भनेर दिउँसै ढाँट्छ । स्यालरी एकाउन्टमा लाखौं रियाल जम्मा गर्दा के बैंक मौन बस्छ त ? यस्तो कुरो कसले पत्याई दिने ? लौ स्यालरी एकाउन्टमा राखेको छ रे, बैंक पनि मौन बस्यो रे । तर त्यसको व्याज चाहिं कता जान्छ त ? यसको उत्तर कतै पाइन्न ।

श्रमिक समस्यालाई लिएर कतारमा सरकारसँग कुनै रचनात्मक पहल गर्न सक्दैन भनें, श्रमिकलाई समस्या परिआउँदा उनीहरुको पीडामा मल्हमपट्टी लगाउन सक्दैन भनें असल एनआरएनकर्मीहरुले अव यसलार्ई बोकीरहनु श्रेयस्कर होला त ? यसप्रति शेष घलेजस्ता असल एनआरएनकर्मीको ज्ञान र ध्यान जाओस् ।

अव चितवन समाजको कुरो । कठै रामहरि गैरे जसको संस्थाले दर्शक बटुलेर जति रियाल हात पा¥यो, त्यो भन्दा सयौं गुणा बढी गाली त खराव ब्यवस्थापनका कारण खाएको छ । यति गालि खाएर पनि धन्य हो, दर्शक बटुलिरहेछ सो संस्था अझै पनि ।

गाली मात्र होइन त्यहाँ भित्र आर्थिक अनियमितताका कुरा पनि उठ्न थालेका छन् । होस् गरौं है, दर्शक बटुलिदिएर हजम गरेको रकम कता चुहिंदैछ भन्ने रहस्यको पोको धोको पुग्नेगरी खुल्दै जाने दिन आउँदैछ ।

हुन त हामीले नेपालमा त्यहि सिक्यौं । राजनीतिक दलका आमसभामा गाउँमा ट्याक्टर र गाडी लगेर मान्छे ओसार्यौं र कोहि नेता भयौं, कसैले दाम कमायौं । कतारमा त्यसैको अभ्यास गर्दैछन् नेपाली अगुवाहरु दर्शक बटुल्याईंको कर्म गरेर ।

त्यसैले अन्त्यमा स्मरण गर्न चाहन्छु कतारको चर्चित नारा– ‘दर्शक बटुलौं, रियाल हसुरौं’ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय