युएईमा १४ बर्षसम्म कहिल्यै नदेखेको अलौकिक स्वर्ग

मेघराज सापकोटा । साथीहरु बिछोडको पिडामा थिए । यसै पनि नरामाइलो लाग्दै थियो । रस अल खेइमह एनआरएनका निवर्तमान उपाध्यक्ष राजु थापा सधैंको लागि युएई छोडेर नेपाल जाने तरखरमा थिए । हामी उनको बिदाइको तरखरमा । केही मान्छेहरु कामको प्रचारप्रसारमा भन्दा बढी नामको प्रचारप्रसारमा रमाउँछन् ।

समाचार लेखनमा होस् वा फोटोमा सेसनमा, झन भिडियोमा अगाडि देखिन पाए हुनेथियो भन्ने जमात हामी कहाँ धेरै हुन्छन । कोही कोही भने पर्दा पछाडि बसेर काम चाँही भरपुर गर्ने, नाम चाँही यादै नगर्ने वा नआए पनि पनि हुने थियो भन्ने पनिहुन्छन । तर यस्ता मान्छे चाँही थोरै हुन्छन ।

युएईमै पनि काम गरे पनि नगरे पनि कार्यक्रमहरुमा सामाजिक अभियन्ता बन्दै ब्याच र दोसल्ला ओढेर गमक्क पर्नेहरुधेरै देखिन्छन । उनीहरु भोली पल्टै उक्त फोटोलाई फेसबूकमा प्रोफाइल फोटो बनाउछन, मानौ ठुलै भईएछ । रस अल खेइमहमा एक यस्ता ब्यक्ती थिए राजु थापा, जो आँफैमा गुमसुम । काम चाँही गर्ने नाम चाँही नचाहिने ।rajuthapabidai

सन २०१३ भन्दा अघि रस अल खेइमहमा एनआरएनको कुनै गतिविधि थिएन । रस अल खेइमहलाई युएईका अन्य राज्यमा बस्ने नेपालीहरुले जान्दैनन थिए । यहाँ नेपालीहरु धेरै थिए तर गुमसुम नै थिए । को बिरामी हुन्छ, को मर्छ, कसले राम्रो काम गर्छ कुनै अत्तोपत्तो हुन्थेन । दुईचार साल यता रस अल खेइमहमा बर्सेनी एक एक नेपालीको मृत्यु भएको खबर छिटफुट रुपमा पत्रपत्रीका मार्फत सुन्ने गरे पनि कसैलाई मतलब नै हुन्थेन ।

सन् २०११ को अन्ततिर एकदिन उनै थापा जीले एक प्रस्ताव ल्याए । रस अल खेइमहामा नेपालीहरुलाई संगठित गर्ने र त्यसको लागि नेपालीको साझा संगठन खोल्ने । शायद मैले भेटे मध्येका नेपालीहरुमा नेपाली कामदारहरुको अवस्था प्रति चिन्तित हुने मध्ये उनी एक थिए ।

उनको प्रस्तावमा म स्वयम र सुदीप कार्की जो बर्तमान एनआरएन, युएईका उपाध्यक्ष पनि हुन, खुशी बनेका थियौ । सुदीप जी ले तत्कालै दुबईमा अली सकृय जस्तो देखिएको नेपालीहरुको संगठन नेपाली समाजका एक पधाधिकारीसँग सम्पर्क पनि बढाए । नेपाली समाजले १९९० को दसकमा इराक युद्द ताका उद्दारका धेरै राम्रा कामहरु गरेको भन्ने सुन्नमा आएकोले पनि हामी रसअल खेइमहमा नेपाली समाज खोल्न सकिन्छ कि भन्ने आशामा थियौ । तर युएईमा नेपाली समाज त ओईली सकेको सुन्दर फूल बनिसकेको रहेछ । हामी असफल भयौ, रस अल खेइमहमा नेपाली समाज खुलेन ।

सन २०१२ को अन्त्य तिर कान्तिपुरमा रस अल खैमाहमा ६ नेपाली अलपत्र भन्ने शिर्षकको एक समाचारले सुदिप कार्कीको मन खिच्यो । सामाज सेवा गर्ने मन भएका कार्कीलाई ती नेपालीहरुलाई कसरी उद्दार गर्नको लागि सहयोग गर्न सकिएला भन्ने कुरोले पिरोलेको कुरा लेखकसँग भनेका थिए । कार्कीले त्यही कान्तिपुर समाचारको तल पाठक प्रतिकृयामा लेखे म पनि रस अल खेइमाहमा नै बस्दछु । केही सहयोग गर्नपरे तयार छु, यो फोन नं मा संपर्क गर्नुहोला ।rajuthapa

उनले कमेन्ट लेखेको केही समयमै कार्कीले हौसिदै मलाई अर्को फोन गरे । उनलाई तत्कालिन एनआरएन, युएईका अध्यक्ष चन्द्र बहादुर रोकाहाले संपर्क गरी पीडितहरुलाई भेटी घटनाको यथार्थता बुझी जानकारी गराउन गरेको आग्रहले उनी दङग थिए ।

बेलुकीतिर हामी पीडितहरुको कोठामा गएर भेट्यौ र त्यहाँको अवस्थाबारे रोकाहा जीलाई जानकारी गरायौ । पछी आफ्नो पासपोर्ट स्थानीय अदालतमा जमानी राखी कार्कीले २ जनालाई उद्दार गरी नेपाल फिर्ता पठाउन सफल भए । अन्यलाई पनि भरपुर सहयोग गरे ।

यो घटनाले रस अल खेइमाहमा नेपालीहरुको संगठित हुने आधार पनि बन्यो । हामीले एनआरएन अन्य देशमा रहे पनि युएईको बारेमा खासै सुनेका थिएनौ । अन्तत २०१३ जनवरी १८ को दिन स्थानिय क्यारिफोरमा सानो भेला गरी निबर्तमान महासचिब सन्तोष प्रसाईको आतिथ्यतामा कार्की जी कै नेत्रृत्वमा एनआरएन क्षेत्रिय समितीको बिधिवत गठन गरियो ।

एनआरएनको पहिलो अधिबेशन सोही बर्षको अगस्ट महिनामा सम्पन्न भयो । हामीले स्थापनाको ६ महिनामा नेपालीहरु बिच भेट्घाट गर्दै एनआरएनलाई रसअलखेइमहमा स्थापित गर्ने जमर्को गर्यौ । धेरैले एनआरएन समाजसेवाको लागि नभएर एनजीओको रुपमा बुझ्दथे । युरोप र अमेरिकामा रहनेहरुको संगठन भन्ठान्थे । नेपालीहरुको सेवाको लागि हो भन्दा सेवा गर्न पैसा कसले दिन्छ र भनेर सोध्थे । आफैले मिलेर गोजीको खर्च गर्नुपर्छ भन्दा मुन्टो बटार्थे र छेउ पर्दैन थिए । अगस्टको पहिलो अधिबेशन सम्म आईपुग्दा धेरैलाई सम्झायौ र संगठित गरायौ । ती मध्ये पहिलो पंक्तीमा थिए यी थापा । सोही अधिबेशनले उनलाई छेत्रीय उपाध्यक्षमा निर्बाचित गर्यो ।

uaehill1 अधिबेसनकै दिन पनि थापा जीले गोजीको खर्चेर ४० किमी टाढा सम्मको ट्याक्सी भाडा आँफै तिरिकन साथीभाइहरु लाई एनआरएनको बारेमा बुझ्ने अवसर दिलाए ।निर्बाचित भए पछीको झण्डै डेढ बर्षको कार्यकालमा उनी पहिलो ६ महिना निकै सकृय बने । उनको सल्लाह, सहयोग र हरेक कार्यक्रममा उनको उपस्थिती जोसिलो थियो । पछील्लो एक बर्ष भने अफिस ड्युटीको कारणले देख्नमा अली सुस्ताए पनि काममा सकृय नै थिए । नेपालीहरुलाई परेको समस्यामा आर्थिक सहयोग गर्नु परेजती पनि गर्न तयार थापा मनका धनी थिए ।

रसअल खेइमाले कोही बिरामी वा मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग गर्नु परे उनैले सबै भन्दा बढी संकलन गरेर संकलन समितीलाई बुझाउँथे । कति पटक त नाम अरुको लेखेर पैसा चाँही आफ्नै खल्तीको पनि हालेको सुइँको पाएको थिएँ । उनी आफ्नो खुला हात देखाउँदै भन्थे –‘ हेर्नुस् मेरो हत्केला खुला छ । यो हातबाट जती बाहिर जान्छ उती नै भित्र पनि आउँछ । त्यसैले म मेरो हात कहिल्यै मुठी कस्दिन ।‘ सुनेर म स्वयम दङग पर्थे ।

उनले सामाजिक कार्यमा राजनैतीक आँखाले कसैलाई हेरेनन । राजनीतिको कुरा गर्दा देश देखेर मन दुख्छ भन्थे । आफु भने काङ्रेसको कार्यकर्ता भएको छाती फुलाएर भन्थे ।

१४ बर्षको बसाइ पश्चात थापा जीले रस अल खेइमाह छोड्ने निधो गरेका थिए । १४ बर्ष सम्म एउटै कम्पनीमा काम गरिरहे । उनले आफ्नो कम्पनीलाई माया मार्नसकेनन । भन्छन कम्पनीको मालिकले अर्काको कम्पनी हो जस्तो महशुश गर्ने बाताबरण नै बनाएन । सधैं आफ्नै जस्तो लागिरहयो । कम्पनीलाई पनि के चाहिएको थियो र ? थापा जी लाई यो काम छाडेर अर्को कम्पनीमा जानै दिएन । जाने अन्तिम दिन मालिकले फोन गरेरै भन्यो – थापा, फेरी युएई आउने मन लागे मेरो मोबाइलनमा फोन गर्न नबिर्सनुु । सम्बन्ध कहिल्यै एक तर्फी बन्दैन । दुबै जना महान रहेछन । ……………………………………….. उनको युएई बसाइको अन्तिम दिन हामी समुन्द्री सतह भन्दा ५,७०० फीट उचाईको युएईकै सबै भन्दा अग्लो जब अल जैस पहाडमा छौ । युएईका पहाड धेरैलाई सुन्दर लाग्छन । यी पहाडहरुसँग हरियालीको सुन्दरता रहेको नेपाली पहाडको तुलना हुन भने सक्दैन । यी पहाडहरु भुत्ला उखेलेर उत्तानो पारेर लडाईएका नाङगा भाले जस्ता लाग्छन ।uaehill

नाङगा पहाडको बिचमा बनाईएको फराकिला बाटोले कृतिम सुन्दरता भने थपेको छ । बाटोका नजिकका पहाडका भित्ताहरु कुनै शिल्पीकारले निकै मेहिनतगरेर बुट्टा भरे जस्ता देखिन्थे । पहाड पिछ्छे फरक फरक बुट्टाहरु कुँदिएका छन । यी बुट्टाहरुमा थापा जी कहिले शिव पार्वती देख्दथे, कहिले दुर्गे माता, काली, कहिले लक्ष्मी माता भेट्थे । म भने उनको मनोबिज्ञान पढिरहेँ ।

हामी पहाडको अन्तिम बिन्दुमा पुगेका थियौ । त्यहाँ पुग्नु अघिको झण्डै १० किमी साँघुरो कच्चा बाटोको यात्रा डर सँगै रोमान्चक पनि थियो । हामीलाई यो यात्रामा हरेक बस्तुस्थितीको जानकारी रेशम जी ले गर्दैथिए । उनी रसअल खेइमहाका टुरिस्ट गाईड भन्दा कम छैनन ।

त्रिशंकु बोर्डर भएकोले पनि होला मोबाइलेले कहिले ईरानको त कहिले ओमानको सिग्नल देखाउँदै थियो । युएईको यो सबै भन्दा अग्लो पहाड ‘सगरमाथा’ बाट सबैतिर सबैथोक हेरियो । डुब्न लागेको घाम हेरियो । घामका किरण र अरब खाडीका सामुन्द्री लहरका रोमान्चक कुस्तीको दृष्य हेरियो । १४ बर्ष सम्म नदेखेको अलौकिक स्वर्ग अहिले मिल्यो भन्दै थापा जीको खुशीको सिमा थिएन ।

केही पर पहाडको एकातिरको भिरमा १५-२० वटा घरहरु देखिन्थे । घरको छेउमै खेतीपाती गरेको हरिया फाँटहरु देखिन्थे । त्यो भीरका घरमा जाने अप्ठेरो गोरेटो बाटो बाहेक कुनै उपाय थिएन ।

अजबको बस्ती देखेर मक्ख पर्दै वीर बहादुरले आत्मसन्तुस्टी लिंदै भने यहाँ पनि गरीब रैछन है सर ? उनको खुशी देखेर हामी मरीमरी हास्यौ । नेपाली रैथाने रेशम जी भन्दै थिए यी घरवाला अरबीहरु हाम्रा राउटे भन्दा कम हैनन । सरकारले शहर बस्ने प्रबन्ध मिलाउदा पनि यिनीहरु अत्याधुनिक एयर कन्डिसन युक्त गाडी ५ ७ किमी टाढा बिसाएर पैदल घर आउँछन रे । सबैलाई आफ्नै संस्कारले बाँधेको हुदोरहेछ । आफ्नो परिवारलाई अरुले हेर्न नहुने पुरानो संस्कारलाई यिनिहरुले थामीरहेका छन रे । घाम डुबीसकेको थियो । सुकेको पहाडले एकछिनलाई मोहित गर्न सक्ला तर पिरती गास्न भने सकेन । सुर्यास्तमा छालहरुमा डुबुल्की खेल्दै गरेका अरबको कठोर किरणहरु हेर्दा जती रोमान्चित भईयो त्यो भन्दा सयौ गुना माछापुछ्रेमा ठोकिएका सुर्योदयका सुनौलो किरणहरुमा स्वर्गको अनुभुती गर्न सकिन्थ्यो । अन्त्यमा वीर बहादुरले बीट मार्दै भने सर, यो अरब त फुकेको बेलुन जस्तै हो नि । जती फुक्यो उती फुल्छ, फुल्दै जान्छ, फुल्दै जान्छ अनी लास्टमा कतिखेर फुट्छ पत्तै हुन्न । जीवनका उर्जाशिल समय पैसाको पछी दौड्दा दौड्दै बेलुन जस्तै कहिले फुट्ने हो थाहा छैन । यसो भन्दै गर्दा थापा जी बेलैमा युएई छोडेकोमा खुशी देखिन्थे ।

यो पनि पढ्नुहोस् नेपाली महिला कुवेतमा लागु औषध कारोवारको अभियोगमा पक्राउ, उद्धारका लागि छोरीको अपिल

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय