चर्चित, झापा– रेगिस्तानी कविका नामले परिचित कवि तीर्थ संगम राईले आफ्नो जीवनको दोस्रो एकल कविता वाचन गत शनिवार झापाको झिलझिलेमा वाह वाही बटुल्दै सम्पन्न गरे । यसअघि उनले कतारी भूमीमा पहिलो एकल वाचन गरेका थिए ।
राईले डायस्पोरिक कविताबाट कार्यक्रमको ढोका खोले ।
परदेशिनु अघिल्लो दिन मनमा खेल्ने अनेक भावलाई उनले ‘घर छोड्ने दिन’ कवितामा सुन्दर बिम्बले कुँदेका छन् ।
त्यसपछि उनी ‘ठूलेको कथा’ लिएर आए । यो कवितामा परदेशिएपछिको आम युवकको दारुण कथा छ । घर, गाउँ र देश छोडेको ठूले ‘होम सिक’ भएको भावलाई सही परखेर कविले न्याय गरेका छन् ।
तेस्रो कविता उनले ‘दाजु सहिद– भाउजु परदेशी’ सुनाए । विदेशिएको दाजुले हरेक बर्ष हड्डी घोटेर घरकी श्रीमतिलाई गहना हाल्छ ।
दाजुको परदेशी भोगाइ झन् झन् ब्यथित बन्दै जान्छ । ऊ एउटा भारी मन लिएर एक दिन आफ्नै देशको शहर झर्छ ।
शहर नफेरिएकोमा आफैंसँग गुनासो गाउँछ । पहाडको आफ्नै घर पुग्छ ।
तर उसकी बहिनीले भाउजु एउटा ठिटो समाएर परदेशिएको जानकारी गराउँछे । यही झोंकमा ऊ जंगल पस्छ । देशको द्धन्दले उसको ज्यान जान्छ । रेडियोले उसको दाजु दोहोरो गोलाबारीमा बितेको समाचार फुक्छ ।
अर्को कविता ‘दशैं, तिहार, इद र केही प्रस्नहरु’ कविले वाचे । सो कवितामा परदेशमा कार्यरत बहुल पात्रलाई कहिले पनि चाढबाढ नआउने उल्लेख छ । प्रवासको रुटिन जिन्दगीमा देशमा हर्ष बोकेर आउने उत्सवले केवल पिडा मात्रै दिने भाव छ ।
राईले कवि श्रवण मुकारुङको चर्चित कविता ‘कतारका कविलाई प्रश्न’ को जवाफ कविता ‘कवि श्रवण मुकारुङलाई कतारबाट प्रश्न’ सुनाए ।
उक्त कवितामा कतारमा नेपालीले गरेका असंख्य उपलब्धिलाई बिषय बनाइएको छ ।कतारले नेपालीलाई परिवार पाल्न सक्ने रोजगारी दिएको उल्लेख छ । नेपालीहरु सुल्तानको सेवा गर्न, भेडा चराउन, तमाखु भर्न, ठूलठूला बिल्डिङ्ग, ब्रिज र सिटि सेन्टर बनाउन मात्रै गएका नभएर आफ्नो देशलाई रेमिट्यान्सले धान्न समेत उनीहरुको योगदान रहेको भाव कवितामा छ ।
डायस्पोरिक कविताको अन्तिम कविता उनले ‘अन्तिम ठेगाना’ शिर्षकमा पस्के । खाडीलगायतका देशमा जति बर्ष बिताए पनि आफ्नो अन्तिम ठेगाना स्वदेश नै भएको बिचार त्यस कवितामा ब्यक्त छ । राज्यले युवाशक्तिको रोजगारी सिर्जना गरी देश विकासमा लाउनुपर्ने राय कविले राखेका छन् । तर उनले राज्यलाई कुनै कवितामा पनि गाली गरेनन् ।
डायस्पोरिक कवितापछि राई पहिचानवादी कविता लिएर आए ।
उनले सुरुमै सुनाए ‘आदेश’ शिर्षक कविता । यस कविताले बिराटनगरको रानीमा नेपाल प्रहरी भएर देशको सेवा गर्न लाइनमा खडा भएको एउटा मंगोलियन युवालाई छनौटेले सशरिर हेरेर मलाया जान मात्रै फिट रहेको र उतै जान आदेश दिएको कथा बोल्छ ।
त्यही घटनापछि त्यो युवकले देशका कुनै पनि सरकारी सेवामा नभिड्ने प्रतिज्ञा गर्छ । यो कथा धेरैलाई आफ्नै लागे पनि कविको भने वास्तविक कथा रहेछ ।
पहिचानवादी कविताको दोस्रो कविताका रुपमा उनी ‘आदिम कथाको बर्तमान प्रतिबिम्ब’ लिएर आउँछन् । यो कविताले आदिवासी जनजातीहरुको उत्पति, उनीहरुको भूमी र राज्यमा समान अधिकारको पक्षमा वकालत गर्छ । राज्यले हरेक नागरिकलाई राज्यका अंगहरुमा समावेशी तरिकाले पहुँचमा ल्याउनुपर्ने भाव कवितामा छ ।
त्यसपछि उनी प्रेमवादी कविता वाच्न थाल्छन् । जवानीमा आफुले प्रेमिकालाई दिलोज्यनले चाहे पनि उनले घाँस नहालेको तर बषौंपछि तिनै भूपु मायालुले आफुलाई छानो दिन आग्रह गरेको भावलाई उनले यो कवितामा उनेका छन् । उनी कति सजिलै भन्छन्, ‘तिमीलाई सिंगो आकास दिन्छु ।’
उनले अर्को प्रेमिल कविता ‘प्रणय दिवश र सोल्टिनी’ वाचन गरे । यस कवितामा सोल्टिनीले अनेक हाउभाउले आफुलाई प्रेम गर्न उक्साए पनि आफुले फिटिक्कै नबुझेको भाव छ । सोल्टिनीको प्रेम बर्षौंपछि बुझ्दा ढिलो भइसकेको उल्लेख छ । उनी आफ्नै श्रीमतिलाई कविता भनेर भन्छन् । यस्तै भावको कवितालाई राईले ‘मेरो कविता उनी’ मा समेटेका छन् । कविताका बिम्बबिम्बमा श्रीमतिलाई देख्ने कविको यो कविताले माहोलको रंग बदलेको थियो ।
प्रेमभावको अन्तिम कवितालाई बिट मार्दै उनले ‘प्रतिक्षा’ सुनाए । यो कवितामा एउटा यस्तो आदर्श प्रेमको अभाव देखाउँछ । जुन प्रेमको हरेक जवान मनलाई आवश्यक छ ।
कविता वाचनको अन्तिम बिषयबस्तुका रुपमा कवि राई समसामयिक बिषयलाई बुन्छन् । रक्सीसँगको अघोर प्रेमलाई उनी ‘अनौठो प्रेम’ कवितामा ब्यक्त गर्छन् । यो कवितामा उनी अत्यधिक रक्सी सेवन गर्ने आफ्नो आदतलाई नढाँटी भन्न समेत पछी पर्दैनन् । कुनै एक लाइनमा भन्छन्, ‘एकदिन साथीभाइले भन्नेछन्, साह्रै असल थियो संगम, उसलाई रक्सीले लग्यो ।’
कवि समसामयिक कविताको दोस्रो र तेस्रो कविता ‘फूलहरु फूलजस्ता देख्दिन’ र ‘आमा’ प्रस्तुत गर्छन् । यि कविताले देशको द्धन्द्ध, आमाले भोग्नु परेका पिडा ब्यक्त गरेका छन् ।कविले आफ्ना कविता अन्य कविका स्वरबाट सुनाउने मौका दिए ।
कतारमा अनेक पटक विभिन्न कार्यक्रममा सँगै वाचन गरेका कविहरु गिरी शिरिष मगर, अनन्त पोखरेल र चर्चित ढुंगेलले क्रमशः ‘वि. स. २०६९ को पूर्वसन्ध्यामा’, ‘कवि हराएको सूचना’ र ‘झिलझिले’ शिर्षकका कविता वाचन गरे । त्यस्तै कवित्रय मनु मन्जिल, हेमन यात्री र बिराट किराँतीले क्रमशः ‘शहर मेरो पनि हो’, ‘मेरो च्याब्जुको इतिहास’ र ‘साकेलाको दर्पणमा अब्यक्त प्रेम कथाहरु वचन गरेर रेगिस्तानी कविको हौसला बढाए ।
कार्यक्रमको उत्तरार्धमा प्रमुख अथितिसमेत रहेका पाज्ञ कवि श्रवण मुकारुङले कवि राईको प्रशंसा गर्दै कविता सुनाए । उनले ‘कतारका कविलाई प्रस्न’ शिर्षकको कविता सुनाए । यस कविताको जवाफ कवि राईले यसअघि नै दिएका थिए ।
स्थानिय सातासी साप्ताहिक पत्रिकाले आयोजना गरेको एकल कविता वाचन कार्यक्रममा कविहरु सेलिङ केसी, प्रकास थाम्सोहाङ र सुन्दर लावतीले आफ्ना कविता वाचन गरे ।
यो पनि पढ्नुहोस् क्या बात आलमजी !