एनआरएन उपाध्यक्ष टिबि कार्की महात्म्य

चर्चित, टिबि कार्की डिबि कार्कीका भाइ हुन् । डिबि यता नेपाल खाल्डोका व्यवसायी । टिबि उता कतारतिरका व्यवसायी । डिबि यता एमालेका कार्यकर्ता । टिबि उता एमालेकै कार्यकर्ता ।

डिबि कार्कीलाई केही महिनाअघि एउटा पिकनिक पार्टीमा भेटेको हुँ । बस् यत्ति हो उनीसँगको भेटघाट । त्यसैले उनका बारेमा त्यसभन्दा बढि खोजीनिति गर्न आवश्यक रहेन । तर टिबि कार्कीलाई ? टिबि कार्कीसँग मेरा बहुल भेटघाटहरु बडा रोमाञ्चक, रस्साकस्सी र उत्तेजित बनाउने खालका रहे । तिनको बेलिबिस्तार नै आजको आलेखको मूल मर्म रहनेछ ।

सम्झनाको हार्डडिस्कमा नमेटिएका यादहरुलाई एकदमै सहीसत्य लेख्ने कोसिस गर्नेछु आजको यो आलेखमा । किनकी हजारौं पाठकलाई तरंगित पार्नु मात्रै मेरो उदेश्य थिएन, छैन र भविष्यमा पनि रहने छैन । सत्य र सत्यको अत्यन्त नजिक रहेर मात्रै पाठकलाई खुस् गर्न सकिन्छ भन्ने म ठान्दछु । यसो गर्दा म स्वयं पनि बढिभन्दा बढि तृप्त भएको हुन्छु ।

नवोदितको दुईचिरा मैले सन् २०१० को फेब्रुअरी ४ मा कतार टेकेको हुँ । त्यसको करिब २ महिनामा मात्रै मलाई कतारमा नेपाली पत्रपत्रिका प्रकाशन हुने, विभिन्न किसिमका संघसंस्था छन् भन्ने थाहा भयो । मलाई पत्रपत्रिकाले सधैं आफुतिर खिच्थे, म खिचिन्थें । यहाँ पनि म खिचिएँ । मलाई त्यहाँका पत्रिकामा लेख्ने मौका पाए हुन्थ्यो जस्तो लाग्थ्यो ।

एकदिन कविता प्रतियोगिताको सूचना देखें । फोन गरें, भोजराज दहालले उठाए । उनकै हातमा कविता थमाएँ । उनलाई मेरो कविता वा म मनपर्यो ? थाहा भएन तर उनले मलाई एक साँझ एउटा विदाइ पार्टीमा सहभागी हुन निम्तो दिए । त्यो पार्टी वुटवलतिर घर भएका कवि गिरिशिरिष मगरको विदाइमा आयोजित थियो ।

त्यही पार्टीमा मैले बर्दी पराजुली, तीर्थ संगम राई, ईश्वर दहाल कविजी, कृष्ण क्षितिज, राजेश्वर ढकाल र महेश्वर नेपाललगायतका कवि, लेखकलाई भेटेको हुँ । यही भेटघाट नै मेरा लागि कतारमा साहित्यिक खुट्टो टेक्ने अवसर भयो । म उनीहरुकै सरसंगतले नवोदित साहित्यिक वाचनालयमा जोडिएँ ।

हरेक बर्ष भानु जयन्तीमा नेपालबाट श्रष्टा ल्याएर भब्य कार्यक्रम गर्ने चलन थियो, अहिले पनि छ । अधिवेशन र नेपालबाट गएका श्रष्टाको एकल वाचन रहने परम्परा जिउँदो पार्न यसपटक कवि श्रवण मुकारुङलाई निम्त्याइएको थियो । अघिल्लो दिन अधिवेशन गर्ने र भोलिपल्ट कविको एकल वाचन गर्ने कार्यक्रम तय थियो । तर अधिवेशनका दिनमा बडा गज्जबको राजनिति भयो । के भयो ?

अधिवेशन हुनु केही महिनादेखि नै अध्यक्षका लागि नवराज विक अटल र ईश्वर दहाल कविजीबीचमा प्रतिस्पर्धा भइरहेको थियो । उनीहरु कोही पनि सम्झौता गर्न नचाहने देखिए । कैयौं पटक कार्यसमितिको वार्ता बस्यो । त्यसवेला टिबि कार्की नवोदितका संरक्षक थिए । उनी पनि दुवैलाई सम्झाउन असफल भए ।

कार्यसमितिको रोजाइ दहाल थिए । दहालले तीनपटकसम्मको कार्यसमितिको बैठकमा अत्यधिक समर्थन पाएका भए पनि त्यस मतलाई विक मान्न तयार भएनन् । उनी चुनावमा नगइ नछोड्ने भए । लोकतान्त्रिक विधिलाई मान्ने भनेर हामी सवै तयार भयौं ।

अटलले रातारात ८० जना सदस्य थपेछन् । अधिवेशन हलमा उपस्थितमध्ये ७५ प्रतिशत एमाले भातृ संगठनका कार्यकर्ता पो कवि, लेखक, साहित्यकार भएर निस्किए । हामी सवै छक्क पर्याैं । लोकतान्त्रिक विधिलाई मान्न गएका हामीहरु बाँचुञ्जेल कविता नलेखेका कविहरुलाई देखेर रनभुल्लमा पर्यौ ।

कलमको निभ कर्दले काटिने देखेपछि साथीहरु एकाएक चुनावी प्रक्रियामा भाग नलिने निर्णयमा पुगे । त्यसो भएपछि अटल निर्विरोध अध्यक्ष भए । सदस्य नपुगेर एमाले कार्यकर्ता पूर्ण केसीसमेत सदस्य हुन्छु भनेर उफ्रिए । किन भयो यस्तो ?

अटलजी परे एमाले भातृ संगठनका अटल कार्यकर्ता । टिबि कार्की पनि उनैका पार्टीका हर्ताकर्ता । अटलजीले पार्टी बैठकमा आफुलाई जसरी पनि अध्यक्ष बनाउन रोइकराइ गरेछन् । उनको विलापलाई तार्किक निश्कर्ष दिन पार्टीले ह्वीप जारी गरेछ । अनि त के थियो ? पूर्ण केसीलगायतका कार्यकर्ता अटलजीलाई बोक्न तम्तयार भएछन् ।

त्यसैले ‘म रोएजस्तो गर्छु, तिमी फकाएजस्तो गर’ को शैलीमा कार्कीले दोधारे निति लिएछन् । बस्, नवोदित टुक्रियो । एकाइ समिति बनाउँदै हिंड्ने कार्यकर्ता हठात् कलमजीवि भएर देखिए । तर बिचराहरुले कार्यावधिभरि एक शब्द लेख्न सकेनन् ।

एकल वाचन सकिएपछि श्रवण दाइ, तीर्थजी र मलाई टिबि कार्कीले उनका घरमा बोलाए । हामी गयौं । बियरका क्यान फोरे । लाग्न थालेपछि कार्की महोदयले तीर्थजीलाई सम्झाए । मलाई सम्झाए । उनको भनाइ उही राजनितिक पार्टीको कार्यकर्ता हुन राजी हुनु भन्ने थियो । कलमको मियो समाएर कविताको पोयो गाँस्न रुचाउने हामीलाई उनको झोले प्रस्ताव मन परेन । हामीले उनको पार्टीको झोला भन्दा देशको झण्डा बोक्न बढि रुचि देखायौं ।

कार्की महोदयको कार्यकर्ता बन्ने प्रस्ताव अस्वीकार गरिदिए पछि उनी असली रुपमा प्रस्तुत भए । एकल वाचनका दिनमा सम्पन्न कविता प्रतियोगितामा म प्रथम भएको थिएँ । एक साँझ एमाले भातृ संगठनले कवि श्रवणको सम्मान गर्ने कार्यक्रमभरि कार्की र विकले करिब एक घण्टा नवोदितमा फर्किन हुकुम गर्दै दिमाग चाटे ।

तर मैले फेरि पनि झोला बोक्न अस्वीकार गरें । अनि त के थियो ? कार्की महोदय उनको बृत्तमा ‘चर्चितलाई हामीले प्रथम बनाएका हौं, ऊ हामीसँग मिल्न आएन भने पुरस्कार राशी र प्रमाणपत्र फिर्ता माग्नुपर्छ’ भन्दै हिंडेछन् । मैले सार्वजनिक रुपमै फिर्ता लिन बोलाएँ, तर कोही कार्यकर्ता आएनन् । बिचराहरुले बुझेनन् कि मलाई टिबि कार्की वा अमुकले हैन, मेरो कविताले प्रथम बनाएको थियो भन्ने कुरो ।

यति मात्र होइन उनले कवि तीर्थ संगम राईलाई तिमि हामीसँग मिल्न आएनौ भनें एक बर्षभित्रमा कतारमा पतन गराएर देखाइदिने धम्की समेत दिन भ्याए । तर सायद त्यसको थुप्रै बर्ष वितिसक्दा पनि तीर्थ संगम राई पतन भएनन् क्यारे ।

राजधानी राजनिति कतारमा मलाई राजधानी साप्ताहिकले चिनाएको हो । राजधानीले मलाई सुरुमा ‘बाँदरका हातमा नरिवल’ स्तम्भ लेख्न दियो । त्यही स्तम्भलाई अलि राम्रो बनाउन हामीले ‘थर्ड अम्पायर’ बनायौं । तपाईंले पढ्दै गरेको यो स्तम्भ पनि यही नामको छ । यो नाम राजधानीले नै दिएको हो । राजधानी र दिपक पौडेलमध्ये को बढि मप्रति, मेरा लेखप्रति झुकाव राख्थे भन्ने उनीहरुलाई नै थाहा होला । तर मेरो प्रारम्भिक परिचय राजधानीले नै दिएको हो । यस कुरालाई सम्मान गर्दै म राजधानी र त्योसँग सम्बन्धित सवैलाई धन्यवाद दिन चाहन्छु ।

पाठक, भेटक र साथीसर्कलमा मेरो स्तम्भ रुचाएर पढिने सामग्री भएको मैले धेरैपटक सुनेको थिएँ । कतिपय पाठकले पहिले पढ्ने सामग्री नै मैले लेखेको लेख हो भनेर भन्थे । तीर्थ संगम, राजेश्वर, महेश्वर, प्रेम लामा, विमल सुवेदीलगायत साथी र शुभचिन्तकहरु मेरो लेखले चित्त बुझेका दिन फोन गरेर बधाइ दिन्थे । चित्त नबुझ्दा फोनमै आलोचना गर्थे । पाठक प्रतिक्रिया आउँथे । भेटेका बेला लेखको प्रशंसा गर्थे । यि सवै घरघटनाले गर्दा मेरा लेख पढ्न लायक थिए भन्न सकिन्छ ।

एकदिन कतार सम्पादक दिपक पौडेलले ‘राजधानीमा यति राम्रो लेख्दा पनि हामीले पारिश्रमिक दिन सकेनौं, बर्षदिन पुगेपछि छोडिदिनु । यो लेख्ने काम दुखिया काम हो । किन दुःख गर्नु ?’ भने । पहिले उनैले लेख्न उक्साए । पछि उनैले स्तम्भ दिए । अहिले किन यसो भने भनेर म निकैबेर घोरिएँ । मैले अन्तिम अंक जून ४२ औं आलेख थियो, लेखें र पठाएँ । तर त्यहाँ भएको चलखेल अर्कै रैछ । त्यसमा कार्कीलगायतका एनआरएनकर्मीको दवावले पो काम गरेको रहेछ ।

मैले राजधानीमा समाजसेवीका नाममा गरिएका ठगी, दलाली र बलमिच्याईंलाई तारो बनाएर ब्यंग्यको वाण हानेकाले पो मलाई निकाल्न पौडेलजीलाई दवाव आएको रहेछ । कार्की एमाले र एनआरएन, पत्रिकाका मालिक एनआरएन र एमाले । यही साँठगाँठले मेरो कलमको निभ भाँच्न खोजेका रहेछन् । मैले छोडेलगत्तै त्यसमा त तिनैको जयजयकारका खबर छापिन थाले । मेरीआम्मै, स्तुतिको हद पनि नहुने रेछ । पौडेलजीलाई मलाई त्यसो भन्न कत्ति गाह्रो भयो होला ? तर तरबार घाँटीमा तेर्सिएपछि उनी विचरा पनि के गरुन् ?

माइक काण्ड नेपाली मुस्लिम समुदायले संविधानमा आफ्नो पहिचान स्थापित गर्न जनसमर्थनका लागि कतारको टपफर्म रेष्टुरेण्टमा अन्तरक्रिया कार्यक्रम राखेको थियो । त्यस कार्यक्रममा उद्घोषक अजिज अलीले क्षेत्री समाजका अध्यक्ष पहिले र एनआरएनका सचिव पछि भनेर सम्बोधन गर्दै टिबि कार्कीलाई बोलाए । कार्कीले दर्शकदिर्घाबाटै आफुलाई त्यसरी नबोलाउन भने । अजिजले माफी मागेर एनआरएन सचिव भनेर कार्कीलाई बोलाए । उद्घोषकले हरेक वक्तालाई तीन मिनेट समय छुट्याएका थिए ।

कार्की महोदयलाई पहिलो बक्ताका रुपमा बोलाएका थिए । अघि उद्घोषकले माफी मागेकाले उनलाई पुगेकै रहेनछ । अनि त उनको रिसको पारो सयमा चढीहाल्यो । बोल्न दिएको तीन मिनेट उनले आफु ‘के हुँ, के हैन’ मै सिध्याए । त्यती भएपछि उद्घोषकले चिट दिए । कार्की महोदयले आफ्नै डम्फु बजाइरहे । उद्घोषकले अर्कोपटक चिट दिए । फेरि पनि कार्की महोदय रोकिएनन् ।स्पस्टिकरण

करिब छ मिनेट सिद्याएपछि उद्घोषकले ‘दाइ समय सकिएको पनि अर्को तीन मिनेट भयो’ भनेर याद दिलाए । तर कार्की महोदयले माइक फिर्ता दिनु साटो ‘सालाहरु’ भनेर टेबलमा बजारे । हंगामा सुरु भयो ।

करिम बक्स मियाले माइक समाएर मर्यादित सभाबाट अभद्र व्यवहार गरेका कार्कीलाई बाहिर जान भने । कार्की मानेनन् ।

केही समयपछि कार्की महोदयलाई उनकै कार्यकर्ताले लिएर गए । कार्की महोदय त त्यो मर्यादित सभामा मापसे गरेर आएका थिएछन् । कठै एनआरएनको पदवी, कठै क्षेत्री समाजको तक्मा !

कान्तिपुरले आफ्नो दोस्रो पेजमा ‘एनआरएन सचिवले माइक बजारे’ भनेर लेख्यो । त्यसैको भित्रि पेजमा मैले ‘स्पष्टिकरण’ लेखें । बिहिबार छापिएको पत्रिकाले खबरलाई ब्यापक बनाइसकेको थियो । मेरो ब्यंग्य लेखले झन् तहल्का मच्चाएछ । जैदाह चौरमा बसिरहेका बेला मलाई करिमलगायतका मुस्लिम दाजुभाइले बोकेर घुमाए । यतिञ्जेलमा कार्कीको एनआरएन शाख गिरिसकेको थियो । अनाहकमा छिटामुख गर्नाले कार्कीले लिखित माफीसमेत माग्नु प¥यो । माफी पत्रमा आइन्दा कसैमाथि त्यसरी प्रस्तुत नहुने भनेर उनले हस्ताक्षर गरे ।

इन्टरपोल लगाउने धम्की ‘स्पष्टिकरण’ पढेर कार्की महोदय आगो भएका रहेछन् । ठिकै हो, सत्य कुराले मान्छेलाई बढि सरकारलाई एनआरएनको पत्रउद्द्धेलित बनाउँछ । उनलाई पनि बनाएछ । त्यसलगत्तै मैले माइसंसारडटकममा ‘सरकारलाई एनआरएनको पत्र’ शिर्षकमा अर्को आलेख छपाएँ ।

त्यसमा एनआरएनका हावा नारा, तिनका काला कर्तुत र खोटी नियतका बारेमा लेखेको थिएँ ।

त्यो पढेर एनआरएनको जरोसमेत हल्लिएछ । केन्द्रबाट कार्कीलाई त्यसबारे सोधिएछ ।

कार्की रुष्ट भएछन् । रुष्ट बिचारले दुष्ट बुद्धि दिन्छ भन्ने बिर्सेर उनले मलाई थर्काउने नियत राखेछन् ।

एकदिन कान्तिपुरकर्मी होम कार्कीलाई मेरा सामुन्ने गुनासो गरे । मैले लेख्ने अधिकार नखोस्न, बरु लेखेरै प्रतिवाद गर्न भनें ।

तर उनले बिचारले हैन हतियारले जवाफ दिने भन्दै इन्टरपोल लाउने धम्कीसमेत दिए ।

उनले म कतार बसुञ्जेल इन्टरपोल त के ? आउटरपोल समेत लाउन सकेनन् । कार्कीको वित्थाको ध्वाँसले काम गरेन ।

श्रमिक ठग काण्ड

अस्ति भर्खर कार्की महोदयले यो काण्ड मच्चाएका हुन् । कर्म गरेर खान र करार अवधि सक्किएपछि मुलुक जान पाउने नैसर्गिक अधिकारलाई कुण्ठित गर्न उनले आफ्नै कम्पनिमा कार्यरत एकजना श्रमिकलाई कम्पनि छोडेर जाँदा कानुनले पाउने खाइपाइ रकम दिन अस्वीकार गरे ।

महेन्द्र राईले रोकाहालाई लेखेकोकतारको श्रम ऐनले तोकेको कानुनमा रही श्रमिकलाई खुशी बनाएर पठाउनु पर्ने मालिकले आफ्नै कानुन लाद्न खोजे । बिचरा ति श्रमिक के गर्थे ? उनले सल्लाहले नै आफुले पाउने रकम नदिए आफु लेबरकोर्ट जाने भनेर कार्की महोदयलाई जानकारी गराए ।

श्रमिकलाई कानुनले दिएको हक माग्दा कार्की महोदयले कम्पनिबाट भाग्यो भनेर पासपोर्ट सिआइडिमा बुझाइदिए । यस्तो खराव नियतले श्रमिक ठग्ने कार्कीलाई आफुले गरेको गैरकानुनी कार्य प्रकाशमा आउने छैन भन्ने लागेको रहेछ । तर पिडित महेन्द्र राईले कार्कीकै एनआरएन दोस्त चन्द्रबहादुर रोकाहालाई आफु कार्कीको दलनमा परेको र उद्धार गरिदिन आग्रह गर्दै पत्र लेखेपछि यो घटना बाहिर आयो । कान्तिपुरले छाप्यो । यो केशको छिनोफानो भयो कि भएन थाहा भएन तर कार्की अझै सुध्रिएका भनें रहेनछन् ।

जति अन्याय गर्यो उती पद बढ्दै जाने सायद राजनितिक दल र एनआरएनमा मात्र हुन्छ कि ? मलाई इन्टरपोल लाउने धम्की दिंदा कार्की एनआरएनको देशी परिषद्मा थिए । माइक बजार्दा उनी जगतकै सचिव थिए । आफ्नै श्रमिक सिध्याउँदा उनी उपाध्यक्ष छन् । अव अर्को कुनै काण्ड मच्चाए भने उनी अन्तर्राष्ट्रिय अध्यक्ष पो होलान् की ?

कस्तो अग्रगति हो यो ? हरेकपटक न्यायको हत्या गर्दा एनआरएन अर्को पद दिएर कुटिल हाँस्छ । एनआरएन चटके भेला पार्ने र पद दिएर हाँस्ने मालिक हो ? एनआरएन कुनै तानाशाहीले तागत देखाउने स्टेज हो ? हरेक मुलुकमा असल नियतका, सद्व्यवहारका नेपाली प्रशस्त छन् । किन तिनलाई पहिचान गर्दैन एनआरएनले ?

कार्की महोदयले यो लेख पढेपछि मलाई नेपालकै जेलमा हाल्न बेर छैन, साथी हो । तर केही छैन, नेपालमा जेल परेकाले नै राज्य चलाउँछन् । के थाहा ? कार्की महोदयको परम् कृपाले मै पनि प्रधानमन्त्रिसम्म पड्काउँछु कि ? वेट एण्ड सि ।

charcheetdhungel@gmail.com तपाईको भनाई लेख्नुहोस्  यो पनि पढ्नुहोस् कतारमा अन्त्य भएको एउटा सपना (भिडियो सहित )

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय