जिफन्टको छैटौं श्रमिक महिला सम्मेलन

काठमाडौं, फागुन २४- नेपाल टे«ड युनियन महासंघ(जिफण्ट)को छैटौं श्रमिक महिला सम्मेलन काठमाडौंमा सुरु भएको छ । १०५ औं अन्तरािष्ट्रय श्रमिक महिला दिवसको सन्दर्भ पारेर आयोजित सम्मेलनको नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् ।

सम्मेलनको उद्घाटन गर्दै भण्डारीले नेपालमा महिलाले प्राप्त गरेको उपलव्धी दक्षिण एसियामै देखाउन लायक भएको बताइन् । उनले राज्यका हरेक निकायमा ३३ प्रतिशत सहभागिताको विषय नीतिगत रुपमा पारित भएपनि त्यसलाई व्यवहारिक रुपमा कार्यान्वयनमा लैजान अझै बाँकी नै रहेको बताइन् ।

एमाले अध्यक्ष भण्डारीले राजनीतिक दलहरुले नै अझै पनि यो विषयलाई पूर्ण कार्यान्वयन नगरिरहेको भन्दै त्यसका लागि थप दवाव आवश्यक रहेको धारणा राखिन् ।

भण्डारीले महिला अवला नभएको भन्दै हरेक क्षेत्रमा अवशर पाए महिलाले जिम्मेवारीलाई पूरा गरेर देखाउन सक्ने बताइन् । उनले यसका लागि खुल्ला मन बनाएर हातेमालो गर्न आग्रह समेत गरिन् ।

उनले पार्टीका भातृ संगठनहरुको नेतृत्वमा पुरुषकै बर्चस्व रहेको भन्दै केवल अखिल नेपाल महिला संघमा मात्र महिला नेतृत्व भएको भन्दै व्यंग समेत प्रहार गरिन् ।

भण्डारीले भनिन्ः धन्न यो संगठन महिलामा मात्र भएकाले पुरुष साथिहरुले आँखा लगाउनु भएको छैन, नत्र यसको नेतृत्वमा पनि पुरुष साथि नै हुनुहुने थियो ।

यति हुँदा हुँदै पनि नेपालमा राजनीतिक नेतृत्वमा महिलाले आफ्नो स्थान बनाउँदै लगेको भन्दै यसलाई अझ बढाएर लैजानु पर्ने चुनौति रहेको धारणा राखिन् । यसका लागि हिजोका दिनमा वडा सदस्यका रुपमा महिलालाई अनिवार्य राख्नुपर्ने व्यवस्थाले सघाएको बताइन् । त्यसरी नै हरेक निकायमा महिलाको प्रतिनिधित्व सुचिश्चित गर्ने हो भनें महिलाको नेतृत्व क्षमता पनि बढ्दै जाने र उनीहरुको सहभागिता स्वतः हुने भण्डारीको धारणा थियो ।

सम्मेलनमा बोल्दै जिफण्ट अध्यक्ष विष्णु रिमालले महिलालाई सम्मान र समान अवशर दिएर मात्र देशको विकास सम्भव रहेको तर्क गरे । नेतृत्व असल भएमा गरिवि र असमानता हटाउन सकिन्छ भन्ने अन्तराष्ट्रिय उदाहरणहरु प्रस्तुत गरेका रिमालले नेपालमा भनें अझै पनि त्यसो हुन नसकेको बताए ।

रिमालले हिजोका दिनमा महिला सहभागिता उति धेरै नरहेको अवस्थामा राज्यले नीतिगत व्यवस्था गर्ने वित्तिकैै जिफण्टले आफ्ना हरेक संरचनामा ३३ प्रतिशत महिला सहभागिता गराएको बताए ।

उनले सम्मेलनमा सहभागि हुन आएका प्रतिनिधिहरुलाई मजबुत नेतृत्व छान्न आग्रह गर्दै नयाँ नेतृत्वले महिला सहभागिताको कुरालाई अझ बलियो बनाएर लैजानेमा आशा व्यक्त गरे ।

सम्मेलनको उद्घाटन सत्रमा बोल्दै आएएलओका प्रतिनिधि सलोमन राजवंशीले बेइजिङ सम्मेलन पछि प्राप्त सफलता धेरै भएपनि गर्नुपर्ने काम भनें धेरै नै रहेको बताए । उनले दक्षिण एसियाका विभिन्न देशमा महिलाले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेको भएपनि नेपालमा अझै त्यो अवशर नआएको भन्दै त्यसका लागि सवै एकजुट हुनुपर्ने बताए ।

उनले महिलाको सहभागिता संख्यात्मक बृद्धि मात्र नभई गुणात्मक सहभागिता बढाउनु पर्नेमा जोड दिए । राजवंशीले महिलाले खोजेको भनेको समताको मैदान हो भन्दै प्रतिस्पर्धामा बोलाउने पुरुषहरुले महिलाले बहन गरिरहेको घरायसी दायित्व विर्सन नमिल्ने बताए । उनले भनेः महात्मा गान्धिले भनेजस्तैै परिवर्तन घरबाट नै सुरु गर्नु आवश्यक छ ।

सो अवशरमा डव्लुएसएम, बेल्जियमका प्रतिनिधि ब्रुनोले जिफण्टले महिला शसक्तिकरणमा खेलिरहेको भूमिकाको प्रशंसा गरे । उनले जिफण्टले सुरु गरेको ट्रेड यूनियन स्कूलले महिलाको क्षमता बृद्धिमा विशेष प्रयास गर्नेमा आफू आशावादी रहेको समेत बताए । जिफण्टको संरचनाहरुमा महिला सहभागिता बृद्धि भएकोमा उनले खुशी व्यक्त गरे ।

सम्मेलनमा सहभागिहरुलाई स्वागत गर्दै जिफण्ट महिला कमिटीकी उपाध्यक्ष गोमा आचार्यले व्यक्तिगत जीवनमा मात्र होइन समाज रुपान्तरणमा पनि जिफण्टकर्मीहरुले विशेष भूमिका खेल्नुपर्ने बताइन् । उनले ३३ प्रतिशत महिला सहभागिताको विषय जिफण्टले कार्यान्वयन गरेको भन्दै यसले जिफण्ट आवद्ध महिलाको शिर उच्च बनाएको धारणा राखिन् ।

उनले थोरै ज्याला हुने कमजोर भूमिकामा मात्र महिलालाई अवशर दिने गरिएको भन्दै रोजगारदाताको सोचमा पनि परिवर्तनका आवश्यकता रहेको बताइन् ।

सम्मेलन अघि राजधानीको सुन्धाराबाट सुरु भएको महिलाको ¥यालीले नगर परिक्रमा गरेको थियो । ¥यालीका सहभागिहरुले नयाँ संविधानमा श्रमिक महिलाको अधिकार सुनिश्चित गर, ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर, श्रमिक वर्गको १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर, लैंगिक मैत्री संविधानः महिला हिंसाको निदान लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

सम्मेलनमा काठमाडौं बाहिरका विभिन्न जिल्लाबाट साढे ५ सयको हाराहारीमा प्रतिनिधि सहभागि छन् । सम्मेलनले सोमवार हुने बन्द सत्रबाट नयाँ नेतृत्व चयन गर्नेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: