काठमाडौं चैत्र १३- तीन वर्षको करार बनाएर मलेसियामा काम गर्न गएका ८४ जना कामदारलाई तीन महिनामै कम्पनीले फिर्ता पठाएपछि पीडितले शुक्रबार वैदेशिक रोजगार विभाग घेराउ गरेका छन्। सर्तअनुसार क्षतिपूर्ति रकम नपाएको भन्दै उनीहरूले तीनकुनेस्थित विभागको कार्यालय घेरेका हुन्। धुम्बाराहीस्थित् जब्सस्पट म्यानपावरबाट गएका ८४ जना कामदारले मलेसियाको क्वानताङस्थित् वास्को कोटिङ कम्पनीमा काम गरेका थिए।
पेट्रोलियम पदार्थको लागि आवश्यक पाइप कोटिङ कम्पनीमा कार्यरत ती मजदुरलाई तीन महिना काम लगाएपछि कम्पनीले ६ महिनाको न्यूनतम तलब दिएर विदाई गरेको थियो। तर करारमा ६ महिनाभित्र फिर्ता पठाउनु परेमा एक वर्षको तलब दिइने उल्लेख गरिएकाले सर्तअनुसार हुनुपर्ने भन्दै पीडितले विभाग घेरेका हुन्।
उनीहरूको आन्दोलनलाई कोरिया पीडितले पनि साथ दिएका थिए । व्यक्तिगत श्रम स्वीकृतिमा दक्षिण कोरिया जान लागेका ३७ युवा नक्कली कम्पनी परेपछि अहिले आन्दोलनमा छन्। पीडित दुवै पक्षले संयुक्त संघर्ष समिति बनाएर आन्दोलन गरेका हुन्। उनीहरु जब्सलिंक मार्फत गत मंसिरमा मलेसिया गएका थिए । विश्वव्यापीरूपमा पेट्रोलियम पदार्थको भाउ घटेपछि कम्पनी टाट पल्टिने अवस्थामा पुगेकाले नेपाली कामदार कटौतीमा परेका हुन्। फर्किएका कामदारले जाँदा खर्च भएको एक लाख ५० हजार रुपैयाँ फिर्तासहित तीन महिनाको थप रकम क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन्।