
काठमाडौ, चैत्र १२ – अवैध ढंगले गर्भपतन गराएको अभियोगमा पाँच महिनाअघि मलेसियामा पक्राउ परेकी निर्मला थापाबारेको मुद्दाको सुनुवाई आगामी चैत १९ मा हुने भएको छ ।
मलेसियाको पेनाङको बुकित मर्ताजमस्थित अदालतमा यसअघि गत फेब्रुवरी २६ मा सुनुवाई नटुंगिएपछि अर्को सुनुवाईका लागि उक्त अदालतले यही मार्च २५ र २६ को लागि मिति तोकेको थियो ।
तर बुधबार पनि सुनुवाई नटुंगिएपछि आगामी अपि्रल २ को मिति तय गरीएको स्थानीय अनलाइन न्युज पोर्टल ‘द मलेसिया इन्साइडर’ ले उल्लेख गरेको छ । यहाँस्थित नेपाली दुतावासले भने यसबारे कुनै जानकारी नपाईएको जनायो ।
स्वास्थ्य मन्त्रालयका अधिकारीको एक टोलीको उजुरीका आधारमा २४ बषिर्य थापा पेनाङको तामान सिकुस्थित एक क्लिनिकबाट गतबर्ष अक्टोबर ९ मा पक्राउ परेकी थिइन् ।
समाचारअनुसार बुधबार भएको सुनुवाईमा उनलाई गर्भपतन गराउन सघाउनेमध्येका एकजना डाक्टरले निर्मलाको गर्भपतन सहज प्रक्रियागत ढंगले गरिएको हो वा बलपूर्वक गरिएको हो, भन्नेबारे निर्धारण गर्न नसकीएको बताएकी थिइन् ।
अघिल्लो पटकको सुनुवाईका क्रममा सोही मन्त्रालयकै एकजना अधिकारीले पनि आफुहरुसित विरामीलाई अनुसन्धान गर्ने अधिकार नभएको अदालतसमक्ष स्विकारेका थिए ।
पेनाङको एक कम्पनीमा कार्यरत निर्मलाविरुद्ध अक्टोबर १३ मा अदालतमा मुद्दा दायर भएपछि गत नोभेम्बर महिनामा अदालतले उनलाई एकबर्षको जेल सजाय सुनाएको थियो ।
त्यसपछि उक्त सजायविरुद्ध अपिल गर्दै उनी पेनाङस्थित उच्च अदालत पुगेकी थिइन् । उच्च अदालतले यो मुद्दालाई पुनः तल्लो अदालतमा फर्काइदिएको थियो ।
यस घटनाको विभिन्न अधिकारवादी अन्तर्राष्ट्रिय संस्थाहरुले विरोध जनाउंदै आएका छन् । महिला तथा प्रजनन स्वास्थ्यबारे आवाज उठाउंदै आएको एक अधिकारवादी संस्था ‘सेन्टर फर रिप्रोडक्टिभ राइट्स’ का अनुसार मलेसियामा सन १९८९ मा गर्भपतनसम्बन्धि नयाँ कानून बनेदेखि यता अवैध ढंगले गर्भपतन गराएको अभियोगमा मुद्दा खेप्नुपरेको ती नेपाली महिला पहिलो हुन् ।
कान्तिपुरबाट
यो पनि पढ्नुहोस् अरबमा दुई पेग व्हिस्कीसँगै हामी ३ लाख गधाका समस्या भुसुक्कै!