पहिले बन्दुक बोक्नेहरु अहिले बंगुरमा

पर्वत – लामो समयदेखि व्यावसायिक रूपमा राजनीतिमा सक्रिय बनेका माओवादीका जिल्लास्तरीय नेताहरू अहिले व्यवसायतर्फ उन्मुख बनेका छन् । जनयुद्धकालदेखि नै राजनीतिलाई मुख्य पेसा बनाउँदै आएका पर्वत क्षेत्र नम्बर २ का माओवादी नेताहरू अहिले कृषि तथा पशुपालन व्यवसायतर्फ लागेका हुन् ।

पर्वतको वहाकी–६ लिङसिङका ऋखिराम भुषाल, त्रिवेणी–६ का पुण्यप्रसाद आचार्य, होश्राङदी–९ का कुश्माखर भुषाल र सरौखोला गाविसका जयनारायण तिवारी व्यावसायीक क्षेत्रमा सक्रिय बनेका छन् । लामो समय राजनीतिक क्षेत्रमा क्रियाशील भए पनि जुन उद्देश्यले राजनीतिमा लागेको हो, त्यही उद्देश्यअनुरूप पार्टीका कार्यक्रमहरू अघि नबढेपछि उनीहरु कृषि कर्ममा फर्किएका हुन् ।

उनीहरुमध्ये ऋखिराम व्यावसायिक तरकारी तथा च्याउखेतीमा लागेका छन् भने आचार्य व्यावसायिक तरकारी, भैंसी तथा बाख्रापालनमा लागेका छन् । त्यस्तै कुश्माखर भुषाल ४ वर्षदेखि व्यावसायिक बाख्रापालनमा सक्रिय छन् । जयनारायण तिवारी तरकारी, बाख्रा, च्याउ, माछा र बंगुरपालन व्यावसायमा लागेको लामो समय भइसकेको छ ।

उनीहरूले गाउँ एकाइदेखि राज्य समिति सदस्यसम्मको जिम्मेवारी लिइसकेका छन् । अझ तिवारी त नेकपा–माओवादीका केन्द्रीय सल्लाहकार पनि हुन् ।

ऋखिराम भुषालले ४ वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । उनले आफ्नै घरवरपरको ४ रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गर्र्दै आएका छन् । खर्च कटाएर वार्षिक २ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका उनले यो वर्षदेखि क्षेत्रफल बढाएर खेती गरेकाले ५ देखि ६ लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य राखेका छन् ।

उनी क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य पनि हुन् । अघिल्लो संविधानसभा चुनावमा क्षेत्र नम्बर २ वाट विजयी बनेका गुणाखर बस्यालका स्वकीय सचिव पनि थिए उनी । अर्का व्यवसायी आचार्यले गत पुसदेखि व्यवसायमा हात हालेका हुन् । विकट गाउँ भए पनि उनले ८० देखि १ करोड रुपैयाँसम्म लगानी गर्ने सोच बनाएका छन् ।

उमेरले ५१ पुगेका आचार्यले ०३४ सालदेखि नै कम्युनिष्ट राजनीति गर्दै आएका हुन् । ३७ वर्ष राजनीति गरे पनि हात लाग्यो शून्य भएपछि कृषि पेसातर्फ फर्किनुको विकल्प नदेखेको उनको भनाइ छ । आचार्यले ५ सय वटा बाख्रा पाल्ने, १० वटा उन्नत जातका भैंसी पाल्ने र ५ रोपनी क्षेत्रफलमा तरकारी खेती गर्ने लक्ष्य राखेका छन् ।

स्थानीय त्रिवेणी बहुउद्धेश्यीय सहकारी संस्थासँगको  सहकार्यमा उनले व्यवसायमा हात हालेका छन् । आफूमात्र नभई गाउँका १० जनालाई रोजगारी दिने उनको उद्देश्य छ । आफ्ना २ छोरालाई पनि प्राविधिक शिक्षा सकिएपछि सोही फार्ममा रोजगारी दिने उद्देश्य आचार्यको छ ।

कुश्माखर भुषाल लामो समय विद्यार्थी राजनीतिमा सक्रिय भए । राजनीतिमा लागे पनि जिल्ला तहका नेताहरूलाई पार्टीले कुनै अवसर नदिएपछि कृषिमा लाग्नु उचित ठानेर व्यावसायिक बाख्रापालनमा लागेको उनको भनाइ छ । उनले सेतीखोला व्यावसायीक बाख्रापालन फार्म तथा स्रोत केन्द्र सञ्चालनमा ल्याएका छन् । अहिलेसम्म साढे ५ लाख रुपैयाँ लगानी गरिसकेका भुषालले २ ठाउँमा फार्म खोलेका छन् ।

शिक्षकको स्थायी जागिर छाडेर सशस्त्र युद्धमा बन्दुक बोकेका तिवारी आजकल बन्दुक छाडेर बंगुरपालनमा लागेका छन् । पर्वतको सरौखोला गाविस घर भएका नेकपा–माओवादी पर्वतका पूर्वसेक्रेटरी जयनारायण तिवारी बन्दुक छाडेर व्यावसायिक बंगुरपालनमा लागेका हुन् ।

जिल्ला पशुसेवा कार्यालय पर्वतको सहकारी बंगुरपालन कार्यक्रममार्फत नेता तिवारीको अगुवाइमा पैयुँखोला बंगुरपालन सहकारी संस्था लिमिटेड गठन गरी सरौखोलामा नै व्यावसायिक बंगुरपालन सुरु गरिएको छ । निम्न माध्यामिक तहको स्थायी शिक्षक जागिर छाडेर सशस्त्र युद्धमा होमिएका तिवारी अब आर्थिक क्रान्तिको आवश्यकता भएकाले बन्दुकभन्दा बंगुरपालनलाई रोजेको बताउँछन् ।

राजनीतिक आन्दोलन केही सुस्त बन्दै गएका बेला युद्धका बेला निककै संघर्षशील मानिने तिवारीको अगुवाइमा गाउँमा बंगुरपालनदेखि माछापालन र तरकारी खेती र बाख्रापालन सुरु गरिएको छ ।

सुरुमा २५ वटा बंगुर पालेर व्यवसाय सुरु गरेको तिवारीको भनाइ छ । बंगुरका बच्चाको धेरै माग भएकाले बच्चा बिक्रीलाई पहिलो प्राथमिकतामा राखिएको उनले बताए ।

कारोवारबाट यो पनि पढ्नुहोस् विदेशमा पढ्ने भनेर अनुमति, उद्धेश्य काम गर्ने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय