
काठमाडौं – केही वर्षयता नेपाली विद्यार्थी अध्ययनको बहानामा संसारका विभिन्न देश पुग्ने क्रम बढिरहेको छ । अध्ययनको बहानामा यसरी बाहिरिने मध्ये अधिकांश विद्यार्थीको भित्रि चाहना भने अर्कै हुन्छ ।
उनीहरू अधययनका लागि भन्दै बिदेसिए पनि साँच्चै विदेशमा डिग्री हासिल गर्नेको संख्या भने धेरै कम छ । अहिले धेरै नेपाली विद्यार्थीको पहिलो आकर्षण अस्ट्रेलियातिर देखिन्छ । त्यसपछि जापानलाई गन्तव्य बनाउनेको संख्या ठूलो छ । अस्ट्रेलिया र जापान पुग्ने धेरैले अध्यययनलाई बहाना बनाए पनि त्यहाँ पुगेपछि भने उनीहरूले रोजगारीलाई नै आफ्नो उद्देश्य बनाउने गरेको सरकारी अधिकारीहरू बताउँछन् ।
अध्ययनसँगै रोजगारीका लागि जापान र अस्ट्रेलिया उपयुक्त गन्तव्य बन्न थालेको छ । ४ वर्षअघि बेलायतलगायत यूरोपियन मुलकमा विद्यार्थीको आकर्षण रहेकोमा अहिले त्यसमा परिवर्तन आएको छ । पछिल्लो समय अस्ट्रेलिया र जापानतिर विद्यार्थी आकर्षित हुन थालेका छन् । किन अन्यत्रभन्दा धेरै विद्यार्थीको आकर्षण यी देशमा छ त ? “ती मुलुकले भिसा प्रक्रिया सहज बनाएकाले विद्यार्थीको संख्यामा वृद्धि भएको हो,” शिक्षा मन्त्रालय मातहतको छात्रवृत्ति शाखाका उपसचिव नन्दलाल पौडेलले भने ।
अध्ययनसँगै रोजगारी सजिलै पाइने भएकाले जापान र अस्ट्रेलिया जाने विद्यार्थीको संख्यामा वृद्धि भएको पौडेलको ठम्याइ छ । “अस्ट्रेलिया र जापानमा विद्यार्थीको आर्थिक स्तरअनुसार कलेजमा अध्ययन गर्न सकिन्छ,” उनले भने । उत्कृष्टदेखि निम्न स्तरसम्मका धेरै प्रकारका कलेजमा अध्ययन गर्न पाइन्छ ।
गत आर्थिक वर्षमा अस्ट्रेलिया जान ११ हजार १८४ जनाले ‘नो अब्जेक्सन लेटर’ लिएका थिए । त्यसैगरी जापान जान ७ हजार ९३३ जना विद्यार्थीले लेटर लिएका थिए । चालू आर्थिक वर्षको ७ महिनामा पनि सबैभन्दा धेरै जापान र अस्ट्रेलिया जाने विद्यार्थी छन् । यो अवधिमा जापान जाने विद्यार्थीको संख्या ६ हजार ५६६ र अस्ट्रेलिया जानेको संख्या ५ हजार ३०३ छ ।
विदेशमा पढ्दै कमाइ गर्नु सोचेजस्तो भने छैन । “यहाँ अध्ययन र जागिर एकैचोटी गर्न निक्कै गाह्रो छ,” केही महिनाअघि जापान पुगेकी काभे्रकी रुविना बन्जाराले भनिन् । पढ्न भनेर गएका धेरै विद्यार्थीको मुख्य लक्ष्य पढ्ने भन्दा पनि पैसा कमाउने नै हुने गरेको उनी बताउँछिन् । “सोचेजस्तो कमाइ पनि छैन,” बन्जारा भन्छिन् ।
गत वर्ष अध्ययनका लागि अस्ट्रेलिया पुगेकी लक्ष्मी थापा पनि आफूले जे सोचेर आएको हो, अस्ट्रेलिया बसाई त्यति सहज नभएको बताउँछिन् । अध्ययनका लागि भारतीय व्यापारीले सञ्चालन गरेको रेस्टुराँमा काम गर्छिन् उनी । “अध्ययनका लागि खर्च धान्नै मुस्किल छ, कमाउने त परको कुरा,” उनले भनिन् । राम्रो ठाउँमा रोजगारी पाए राम्रो कमाउने सम्भावना पनि उत्तिकै भएको उनले बताइन् ।
विदेशमा उच्च शिक्षा अध्ययन गर्न भनेर गए पनि मुख्य उद्देश्य पैसा कमाउने नै हुने गरेको शिक्षा मन्त्रालयका उपसचिव पौडेलले बताए । “विदेशमा पीआर पाउने आशाले धेरै विद्यार्थी अध्ययनको नाममा जान्छन्,” उनले भने । विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीको संख्या न्यून रहेको पौडेलले बताए । भारतमा अध्ययनसँगै रोजगारी गर्न जाने विद्यार्थीको तथ्यांक राख्ने व्यवस्था छैन ।
भारतमा कति विद्यार्थीले अध्ययन गरिरहेका छन् भन्ने सरकारी तथ्यांक नै छैन । नेपाल र भारतबीच खुला सिमाना भएकाले तथ्यांक नराखिएको हो । भारतको सिमाना जोडिएका जिल्लाबाट नेपाली धेरै जाने गर्छन् । विदेश अध्ययनका लागि नो अब्जेक्सन लेटर लिएका मध्ये २० प्रतिशत विद्यार्थी नजाने गरेको पौडेलले बताए । नेपाल–भारत खुला सिमाना भएकाले वार्षिक १८ हजार देखि २० हजार भारत अध्ययन गर्न जाने गरेको नेपाल शैक्षिक परामर्श संघको अनुमान छ ।
‘नो अब्जेक्सन लेटर’का लागि केशर पुस्तकालयमा रहेको छात्रवृत्ति शाखामा भेटिएकी नुवाकोटकी सञ्जु पाण्डे जापान जाने तयारीमा छिन् । अध्ययनका लागि नै जान लाग्नुभएको हो त ? “नेपालमै त पढिएन, जापानमा के पढिएला र ! ” कारोबारको प्रश्नमा उनले भनिन्, “पहिला जापान त पुगौं, त्यसपछि त कमाउनै लाग्नुपर्छ ।” पाण्डे त प्रतिनिधि पात्रमात्रै हुन् । अध्ययनका लागि भन्दै बाहिरिने अधिकांशले पहिले नै माइण्ड सेट गरिसकेका हुन्छन्, विदेश गएर पैसा कमाउने ।
नो अब्जेक्सन लेटर भनेको विदेश अध्ययन गर्न जाने विद्यार्थीले लिने स्वीकृतिपत्र हो । स्वीकृतिपत्र भएमा विद्यार्थीलाई कलेजमा भर्ना हुन, मुद्रा सटही गर्न, स्वदेशी तथा विदेशी अध्यागमन स्वीकृतिका सहज हुन्छ ।
पछिल्लो समय अस्ट्रेलिया, जापान, अमेरिकालगायत मुलुकमा भिसा प्रोसेसिङ खुकुलो भएकाले विद्यार्थीको संख्या वृद्धि भएको नेपाल शैक्षिक परामर्श संघका महासचिव महेशबाबु तिमिल्सेनाले बताए । “जापान, अस्ट्रेलिया र अमेरिका नेपालबाट ७० प्रतिशत अध्ययन गर्न जाने गरेका छन्,” उनले भने । विदेश अध्ययन गर्न जाने विद्यार्थीमा सबैभन्दा धेरै प्लस टु पूरा गरेका छन् ।
नेपालबाट विदेश अध्ययन गर्न व्यवस्थापन संकायका विभिन्न विषय र प्राविधिक विषय अध्ययन गर्न जानेको संख्या धेरै रहेको तिमिल्सेनाले बताए । व्यवस्थापन संकायमा, बीबीए, बीबीएस, बीआईएम, बीएचम, एमबीएलगायत विषय छन् । त्यसैगरी प्राविधिक विषयमा सूचना–प्रविधि, नर्सिङ, एमबीबीएस, कम्प्युटर इन्जिनियरिङ र प्यारामेडिकल लगायत छन् ।
आर्थिक वर्ष विदेश जानेको संख्या ०६६/६७ २४ हजार ८२४ ०६७/६८ २६ हजार ९४८ ०६८/६९ ११ हजार ९१२ ०६९/०७० १६ हजार ४९९ ०७०/०७१ २८ हजार १२६ जना
कारोवारबाट यो पनि पढ्नुहोस्