कोरियाली भाषा परिक्षा जेठ अन्तिममा हुने

काठमाडौं : कोरियाली भाषा परीक्षा आगामी जेठ ३० र ३१ गते सञ्चालन हुने भएको छ। सन् २०१६ मा काम गर्न दक्षिण कोरिया जानेका लागि भाषा परीक्षा लिन लागिएको हो।

यसका लागि वैशाख ३ देखि ६ गतेसम्म आवेदन फाराम बुझाउने व्यवस्था मिलाइएको छ। रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले सोमबार यो निर्णय गरेको हो।
यसपटक राजधानीबाहेक पोखराबाट पनि परीक्षा दिन पाइनेछ। ईपीएसबाट परीक्षा लिन थालेपछि पहिलोपटक राजधानीबाहिरबाट परीक्षा दिन पाइने भएको हो। यो छैटौं भाषा परीक्षा हो। भाषा परीक्षाको नतिजा साउन १६ गते प्रकाशित हुनेछ।
परीक्षा सञ्चालनलाई क्रमश: विकेन्द्रीत गर्ने नीति बमोजिम यसपटक पोखराबाट पनि लिन लागिएको हो। आगामी वर्ष अन्य प्रमुख सहरमा समेत परीक्षा केन्द्र तोकिने ईपीएस कोरिया शाखाले जानकारी दिएको छ।
यसपटक काठमाडौं उपत्यकाका चार स्थान र बाहिर पाँच गरी कुल नौ स्थानबाट आवेदन फारम बुझाउन पाइनेछ। ईपीएस कोरिया शाखाका अनुसार उपत्यकाबाहिर डडेलधुरा, बुटवल, पोखरा, जनकपुर र धरानबाट आवेदन फारम बुझाउन सकिनेछ। उपत्यकाकामा आवेदन बुझाउने क्षेत्र भने पछि निर्धारण गरिनेछ।
ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले भाषा परीक्षा जेठ ३० र ३१ गते सञ्चालन गर्ने निश्चित भएको जानकारी दिए। नेपालले सन् २००८ देखि ईपीएस अन्तर्गत दक्षिण कोरियामा कामदार पठाउन थालेको हो।
कोरियाली भाषा परीक्षा पास नगरी काम गर्न त्यहाँ जान पाइदैन। गत वर्षभन्दा यसपटक करिब चार महिनाअघि भाषा परीक्षा सञ्चालन गर्न लागिएको हो। गत वर्ष असोजमा परीक्षा लिइएको थियो।
दसैंको बेला परीक्षा सञ्चालन गर्दा यातायात व्यवस्था सहज बनाउन नसकिएकाले परीक्षा जेठमै लिन लागिएको हो।
परीक्षा दिन आएका समेत दसैंमा घर फर्किने भएकाले यातायात व्यवस्थापन गर्न नसकिएको यातायात व्यवसायीले विगतमा गुनासो गरेका थिए। गएको परीक्षामा ६२ हजारले आवेदन दिएका थिए भने ५९ हजारभन्दा बढीले परीक्षा दिएका थिए।
कोरियाले आगामी वर्ष नेपालबाट औद्योगिक तथा उत्पादनमूलक क्षेत्रमा लिने कामदारको कोटासमेत निर्धारण गरिसकेको छ। ईपीएस कोरिया शाखाका अनुसार सन् २०१६ मा पाँच हजार तीन सय जना नेपाली कामदार लिनेछ।
कृषि क्षेत्रमा लिने कामदारको भने अहिलेसम्म कोटा तोकिएको छैन। दक्षिण कोरियाले नेपालसहित विभिन्न १५ वटा देशबाट कामदार लिने गरेको छ।
सन् २०१६ मा लिने कुल विदेशी कामदारमध्ये नेपालबाट मात्रै १७ प्रतिशत कामदार कोरियाले लिने प्रमुख बास्तोलाले बताए। जेठमा परीक्षा सञ्चालन गरे पनि कामदार भने सन् २०१६ को जनवरीबाट मात्र जान पाउँनेछन्।
दक्षिण कोरिया रोजगारीको आकर्षक गन्तव्य हो। यहाँ कामदारले मासिक न्यूनतम एक लाख नौ हजार रुपैयाँ कमाउन सक्छन्। अतिरिक्त समय (ओभर टाइम) समेत गर्दा अनुभवी कामदारले मासिक दुई लाख रुपैयाँसम्म कमाउने गरेका छन्।
दुवै देशले सरकारी तवरबाट मात्र कामदार आदानप्रदान गर्दैआएका छन्। हाल कोरियामा २६ हजार नेपालीले काम गरिरहेका छन्। कमाइको आकर्षणका कारण अवधि सकिएपछि पनि जबर्जस्ती अवैधरूपमा बस्ने प्रवृत्तिसमेत बढेको छ।
आकर्षक कमाइ हुने भएकाले स्नातकोत्तर उत्तीर्ण भएकासमेत जाने गरेका छन्। यसबाहेक नेपालमै सानातिनो व्यवसाय गरेका र रोजगारी गरेकाले समेत त्यो छाडेर कोरियातर्फ लागेको पाइन्छ।
अन्नपूर्ण पोष्टबाट यो पनि पढ्नुहोस् ट्रेड युनियन मुलुकका लागि क्यान्सर हुन्ः सभाषद

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: