युएईमा शुक्रवार १ सय ५० नेपालीले भरे फारम

उत्तम अधिकारी, यूएई- आबुधाबीस्थित नेपाली राजदूतावासले गत शुक्रवार यूएईको फुजिरा राज्यमा पहिलो पटक एकदिने एमआरपी आवेदन फारम संकलन केन्द्र संचालन गरेको छ ।

परराष्ट्र मन्त्रालयबाट एमआरपी आवेदन फारम संकलनका लागि घुम्ती टोली आउने चर्चा चलेपनि फुजिरा क्षेत्रमा लामो समय देखि प्रचार प्रसार गरिएकाले दुतावासले आफ्नै जनशक्ति खटाएर एकदिने फारम संकलन केन्द्र संचालन गरेको हो ।

फुजिराको मुख्य बजारस्थित लुलु सेन्टरको दोश्रो तल्लामा राखिएको उक्त एमआरपी आवेदन केन्द्रमा शुक्रवार बिहान मल खुल्नासाथ सेवाग्राहीहरुको भिड लागेको थियो । एमआरपी आवेदनका लागि बिहान १० बजेबाट शुरु भएको सो केन्द्रमा साँझ ५ बजेसम्ममा करिब १५० जनाले एमआरपी आवेदनका लागि आवश्यक प्रकृया पुरा गरे ।

गैर आवासीय नेपाली संघ यूएईको फुजिरा क्षेत्रीय समितीले ब्यवस्थापनको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै अत्यन्तै सौहाद्रपूर्ण वातावरणमा उक्त कार्य सम्पन्न भएको थियो । यूएईका लागि नेपाली राजदुत धनन्जय झा सहित दुतावासका द्वितीय सचिव कृष्ण अर्याल उक्त फारम संकलन केन्द्र फुजिरामा बिहान देखि सांझसम्मै खटेका थिए ।

एनआरएनए यूएईका अध्यक्ष कृष्ण प्रसाद भुसालको बिशेष पहलमा संचालित उक्त एकदिने एमआरपी आवेदन केन्द्रलाई आवस्यक सहयोग पुर्याउनका लागि स्वयं भुसाल, प्रवासी नेपाली मंच यूएईका महासचिव तथा एनआरएनए आइसीसी मिडिया टास्क फोर्स सदस्य उत्तम अधिकारी, नेपाल मगर संघ यूएईका अध्यक्ष भरत राना मगर बिहिबार साँझ नै फुजिरा पुगी कार्यक्रम पूर्व तयारीमा जुटेका थिए ।

एनआरएनए फुजिरा क्षेत्रका अध्यक्ष कृष्ण गिरीका अनुसार गत शुक्रवार संचालित उक्त केन्द्रमा फुजिराको डिब्बा, फोर फकान, काल्वा, फुजिरा सिटी, बिदिया लगायतका बिभिन्न क्षेत्रमा रहेका नेपाली श्रमिकहरुले एमआरपी आवेदनका लागि फारम बुझाएका छन् ।

सोहि क्षेत्रका सचिव मनु क्षेत्रीले आफुहरुले फुजिरामा रहेका अधिकांश लेबर क्याम्प, मार्केट, कृषि फार्म, पार्कहरु, नेपालीहरु जम्मा हुने अधिकांश स्थानमा पुगी फुजिरामा हुन गइरहेको एमआरपी फारम संकलन केन्द्रको बारेमा अधिक प्रचार प्रसार गरिएको र दुर्गम क्षेत्रको फुजिराबाट एकदिनमा १५० को संख्यामा नेपालीहरुले उपस्थित भएर एमआरपी आवेदन गर्नुलाई ठुलो सफलताको रुपमा लिनुपर्ने बताए ।

MRP-Centre-at-Fujirah-1होटेल र मार्केटमा कार्यरत नेपाली श्रमिकहरुको छुट्टी शुक्रवार नहुने कारण अझै एमआरपी आवेदन गर्ने केहि श्रमिकहरु शुक्रवारको उक्त कार्यक्रममा उपस्थित हुन नसकेको एनआरएनए फुजिरा क्षेत्रीय समितिले निष्कर्ष निकालेको छ । “हामीले २०० जना भन्दा बढीको संख्यामा फुजिराबाट सेवाग्राहीहरुले एमआरपी आवेदन गर्ने पक्कापक्कि गरेका थियौं” सो क्षेत्रका अध्यक्ष गिरी भन्छन् । उनले थपे “अधिकांश पहाडी इलाका रहेको र शुक्रवार कुनै हालतमा छुट्टी नहुने जागिर भएका नेपाली श्रमिकहरु उपस्थित हुन नसकेका कारण संख्यामा केहि कमि हुन गयो” ।

त्यसो त कम्पनीबाट पासपोर्ट निकाल्न नसकेका झन्डै एक दर्जन श्रमिकहरुले एमआरपी आवेदन गर्न नपाएको पनि प्रत्यक्ष देखिएको थियो ।

यूएईको बिकट क्षेत्रको रुपमा चिनिने फुजिराजस्तो राज्यमा एक दिनमा १५० जनाले एमआरपी आवेदन गर्नुलाई सकारात्मक रुपमा लिनुपर्ने बताउछन् राजदुत झा । ब्यवस्थित र प्रभावकारी हुनसके अन्य बिकट क्षेत्रमा पनि यस्तै एकदिने एमआरपी आवेदन केन्द्र संचालन गर्न सकिनेमा राजदुत झाले सकारात्मक अभिव्यक्ति दिएका छन् ।

त्यसैगरी यूएईको दुरदराजमा रहेका नेपालीहरुले सहज रुपमा सेवा प्राप्त गर्छन् भने एकदिने एमआरपी फारम संकलन केन्द्रलाई राम्रो मान्नु पर्ने दुतावासका द्वितीय सचिव कृष्ण अर्याल बताउछन् ।

“आवश्यक कागजातको फोटोकपी गर्नुपर्ने, राहदानी विभागले निर्देशित गरेकै साइज अनुसार फारम भर्नुपर्ने, सोहि मुताबिक फोटो खिचाउनु पर्ने, ओरिजिनल राहदानी सहित दुतावासका अधिकृतले रुजु गर्नुपर्ने लगायत प्रावधानका कारण एमआरपी आवेदनका लागि दुतावास बाहिर केन्द्र स्थापना गर्नु सोचेजति सहज त पटक्कै छैन तरपनि यूएईका मुख्य शहर भन्दा बाहिर रहेका नेपाली श्रमिकहरुको सेवा र सहयोगका लागि यस्ता एकदिने केन्द्र संचालन गर्न मैले निकै लामो समयदेखि पहल गरें र पहिलो चरणमा फुजिरामा यो केन्द्र संचालन भएकामा म ज्यादै हर्षित छु” संघका यूएई अध्यक्ष भुसालले प्रसन्न मुद्रामा कार्यक्रम समापन पछी बताए ।

मगर संघ यूएईको फुजिरा क्षेत्रीय समितीका केहि सदस्य तथा फुजिराका समाजसेवी कुल क्षेत्रीले सो एकदिने केन्द्र संचालनमा आवस्यक सगयोग पुर्याएका थिए । एआरएनए यूएईकै फुजिरा क्षेत्रीय समितीकि सदस्य ओमकुमारी खाणले सेवाग्राहीलाई दिनैभर सहयोग गरेकी थिइन् ।

यूएईको अर्को दुर्गम क्षेत्र रास अल खेमामा यहि महिनाको २७ तारिकका दिन फुजिरामा जस्तै एमआरपी आवेदन केन्द्र संचालन गर्नेवारे दुतावाससंग परामर्श गरिरहेको एनआरएनए अध्यक्ष भुसालले बताए । फुजिराको एकदिने एमआरपी आवेदन केन्द्र सफल भएकाले रास अल खेमामा पनि सोहि प्रकृतिको केन्द्र संचालन हुनेमा उनले बिश्वास व्यक्त गरेका छन् ।

यकिन तथ्यांक नभए पनि यूएईमा अझै दशौँ हजार नेपाली नागरिकसंग हस्तलिखित पासपोर्ट भएको दुतावासको अनुमान रहेको छ । यहि मे महिनाको २४ तारिक भित्रमा एमआरपी नभएमा नया भिसा लगाउन समस्या पर्ने, अन्य मुलुक भ्रमणमा सिधै असर पर्ने हुँदा दुतावासले सो अगावै एमआरपी लिईसक्न सबैमा अनुरोध गरिसकेको छ । दुतावासले मे महिनाको २४ पछी “टेम्पोररी पासपोर्ट” जारी नगर्ने यस अघि नै स्पष्ट पारेको छ ।

यो पनि पढ्नुहोस् नेपाली महिला कुवेतमा लागु औषध कारोवारको अभियोगमा पक्राउ, उद्धारका लागि छोरीको अपिल

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय