दुबई –यूएईमा कार्यरत केहि नेपाली युवाहरु मिलेर ब्यापारिक केन्द्र दुबईमा टायर मर्मत तथा खरिद बिक्रिको सुबिधा सहितको ग्यारेज संचालनमा ल्याएका छन् ।
लामो समय यूएईमा रोजगारीमा रही त्यसबाट आर्जित रकमबाट ब्यवशायमा लगानी गर्ने नेपालीहरुको संख्या बिगत केहि समययता उल्लेख्य रुपमा बढेको छ । तर नितान्त फरक किसिमको ब्यवशायमा लगानी गर्ने पहिलो समुह बनेका छन् यी युवाहरु ।
स्यांग्जा जिल्ला श्रीकृष्ण गण्डकी गाविस निवासी कृष्ण प्रसाद न्यौपाने, लेखनाथ न्यौपाने, भूपति न्यौपाने र शंकर प्रसाद न्यौपाने मिलेर संयुक्त रुपमा बिशेषगरी टायर मर्मत सम्बन्धि ब्यवशायमा लगानी गरेका हुन् । उनीहरुले यसका लागि २ करोड रुपैया खर्चिएका छन् ।
झन्डै १० बर्ष यूएईमा जागिरे जीवन बिताएका जिल्लाका एकै गाविसका यी चार युवाहरु यूएईका नेपाली संघ संस्थाहरुमा पनि उत्तिकै सक्रियताका साथ लागिपरेका छन् । लगानीकर्ता सबैजना सामाजिक गतिविधिमा संलग्न भएकाले बजार ब्यबस्थापन र प्रचारमा अत्यन्तै सहज हुने महसुस गरेका छन् उनीहरुले । १८५० बर्गफिट क्षेत्रफल रहेको उक्त ग्यारेज अलकुजको इन्डस्ट्रियल एरिया ४ को अल अहाली ड्राइभंग सेन्टर नजिकै रहेको छ ।
नव स्थापित के.के.एस. टायर फिक्सिंग एण्ड व्हिल अलाईइन्मेंट सर्भिसेजले आधुनिक कम्प्युटर प्रबिधिबाट गाडीको टायर परिवर्तन, मोटर ब्यालेंसिंग, व्हिल अलाईइन्मेंट, नाइट्रोजन फिलिंग, ब्रेक पार्ट्स परिवर्तन, मोबिल चेन्ज, एसी मर्मत सहित अन्य साधारण मेकानिकल कार्यका सुबिधाहरु प्रदान गर्नेछ ।
उक्त व्हिल अलाईइन्मेंट सर्भिसेजले यूएईमा चलेका सबै ब्राण्डका टायरहरु ग्राहकलाई उपलब्ध गराउने जनाएको छ ।
लगानीकर्ताहरु मध्ये कृष्ण प्रसाद न्यौपाने बिगत १२ बर्ष देखि सोहि पेशामा संलग्न रहँदै आएका व्यक्ति हुन् भने शंकर प्रसाद न्यौपाने नेपालमा रहंदा सोहि क्षेत्रमा अनुभव बटुलिसकेका व्यक्ति हुन् ।
सम्बन्धित क्षेत्रमा लामो अनुभव प्राप्त भएको र दुबईमा उक्त कार्यसंग सम्बन्धित अर्को कुनै नेपालीको कम्पनि स्थापित नभएको कारण फरक किसिमको व्यापारमा लगानी गर्न कुनै अप्ठेरो महशुस नभएको लगानीकर्ताहरु बताउछन् ।
सञ्चालनमा आइसके पनि औपचारिक शुरुवात गर्न बाँकि रहेको उक्त टायर फिक्सिंग कम्पनिको उद्घाटन समारोह १३ मार्च शुक्रवारका दिन गरिने सञ्चालक मध्येका लेखनाथ न्यौपानेले वताए ।
“यहाँको सन्दर्भमा राम्रो किसिमको फिक्सिंग सुबिधा नपाएर धेरैको गुनासो सुनेको र अनुभवी साथीहरुको साथ प्राप्त भएकाले ग्राहकहरुलाई राम्रो र भरपर्दो सेवा दिने उद्देश्यले यस ब्यबशायतर्फ आकर्षित भयौं । अन्यत्र भन्दा लगानी बढी भएपनि सेवामुखी ब्यवशाय भएकाले आत्तिनु पर्ने अवस्था देखेका छैनौ” उनले भने ।
लामो समय प्रवासी नेपाली मञ्चको बिभिन्न तहमा रहेर कार्य गरिसकेका उनी हाल एनआरएनए यूएईका सचिव छन् । मञ्चकै राष्ट्रिय कमिटी सदस्य रहेका भूपति न्यौपानेले स्यांग्जा समाज यूएईलाई नेतृत्व प्रदान गरिसकेका छन् ।
अर्का लगानीकर्ता कृष्ण न्यौपाने स्यांग्जा समाज यूएईका उपाध्यक्ष हुन् भने श्रीकृष्ण गण्डकी समाजलाई नेतृत्व प्रदान गरिरहेका छन् । त्यसैगरी शंकर न्यौपाने श्रीकृष्ण गण्डकी समाज यूएईका महासचिव तथा एनआरएनए यूएईका कार्यसमिती सदस्य समेत हुन् ।
न्यूज हिमालयबाट