दुलहा कतारमा, दुलही नेपालमा

दोहा- कतार गुल्मीका राधेस पन्त विवाह गर्न बिदामा घर जाँदै थिए । उनको शुक्रबार बिहे गर्ने तिथि तोकिएको थियो । तर काठमाडौको विमानस्थलमा टर्किस एयरले मुख जोतेपछि उनको बास कतारको एयरपोर्टमै भयो । दुलही नेपालमा छिन्, दुलहा कतारमै अड्कीए । तनावमा देखिएका पन्त भन्दै थिए बिहे कसरी गर्नु ?

३ बर्षअघि कतार आइपुगेका पन्तले घर जान बल्ल बल्ल समय मिलाएको थिए । सबै पक्का भएर कम्पनी छोडेर हिडेका थिए । तर फसादमा परियो भन्दै गुनासो गर्दैथिए ।

६ जनाको समुहमा सुतिरहेका बाग्लुङका गगन थापा फेरि कतार नफर्कने गरी हिंडेका थिए नेपाल । त्यसैले कम्पनीले उनको भिसा रद्द गरिसकेको छ । कम्पनीले एयरपोर्टसम्म ल्याएर छोडिदियो । अव बाहिर निस्कन उनको भिसा छैन, एयरपोर्टमा कतिदिन बास हुने भन्ने ठेगान छैन । त्यसैले आपतमा परेका छन् उनी पनि ।

उनी कतार बसुञ्जेल पनि सन्तुष्ट थिएनन् । कम्पनी उति गतिलो थिएन । अहिले घर फर्किने बेलामा पनि तनाव थपिएको छ ।

समस्याले पिरोलिएका धेरै नेपाली भेटिन्छन् दोहाको एयरपोर्टमा । बाबा तपाई किन नआउनुभएको ? ७ बर्षे छोरीले फोनमा सोधिराख्दा काभ्रेका बिष्णु उप्रेती भक्कादिदै थिए । कतारको हमाद अन्तराष्ट्रिय विमानस्थलको यात्रु प्रतिक्षा कक्षमा तीन दिनदेखि बसिरहेका उप्रेतीले छोरीलाई सम्झाउँदै थिए, नेपालमा प्लेन चलेको छैन । चल्नेबित्तिकै आइहाल्छु ।

उप्रेतीले छोरीलाई बुधबार बेलुका काठमाडौंमा भेट्ने बाचा गरेका रहेछन् । बुधबार १२ः४५ को कतार एयरवेजबाट नेपाल जाने उनको टिकट थियो । विमानस्थल आएपछि मात्रै थाहा भयो, टर्किस बिमान दुर्घटनामा परेको, उनी भन्दै थिए, त्यसपछि छिट्टै खुल्छ होला भनेर बसेको त आज तीन दिन भइसक्यो ।

उनी अल्माज कम्पनीको क्याटरिङमा काम गर्छन् । उनको समुहमा १० जना नेपाली छन् । कम्पनी फिर्ता गएमा फर्केने ढिला भइन्छ उनले भने, अहिले झन बेहाल पो हुन पुग्यो ।

हमाद विमानस्थलका प्रशासनले सबै बिमानका यात्रुलाई बस्न दिइएको छैन् । ठाँउ ठाँउमा यात्रु बस्ने कुर्सी छन् । ती सबै कर्सी अलपत्र यात्रुले भरिएका छन् । हामीलाई (कतार एयरवेजका यात्रु) मात्रै बस्न दिएको छ । अरु बिमानका यात्रुलाई फर्काइ हालेको छ, स्याङ्जाका हिम गुरुङले भने, सबैलाई बस्न दिने हो भने भीड थेगिनसक्नु हुने थियो ।

लामो लामो दुरीबाट आएकाहरु पुन कम्पनी फर्केका छैनन् । कम्पनीमा सम्पर्क गर्दा अव नेपालको विमानस्थल खुल्छ, बाहिर निस्किए हामीलाई समस्या पर्छ, त्यहिं बसिरहनु भन्छ म्याग्दी तातेपानीका कपिलाल बिश्वकर्माले भने, कम्पनीले जहिले खुल्छ तहिले नेपाल जानु भन्छ ।

पाँच बर्षपछि बल्ल घर जान पाएका सुन्दीप बिसी विमानस्थलमै बस्नु ठीक भएको बताए । बल्ल बल्ल उँट कुदाउने कामबाट मुक्त भइएको छ । कपिलले त बोलाइरहेको छ । उता गएपछि फेरि फर्कने टुंगो छैन, उनले भने, बरु जतिदिन भएपनि यतै बसिन्छ । निकै आपतबिपतमा पर्नेहरु भने भारतीय बाटो हुँदै नेपाल जान थालेको उनले बताए । मेरो साथी लखनउ हुँदै गयो, मोती गुरुङले भने, उसलाई आपत परेको रहेछ ।

धेरै जसो आर्थिक समस्यामा समेत देखिएका छन् । पाँच घण्टामा नेपाल पुगिएला भनेर भएको पैसा नेपाल पठाइयो, मोती गुरुङले भने, धन्न बिहान र बेलुका कतार एयरवेजले नै खाजा खुवाइरहेको छ ।

जहाजको पखाईमा बसेकाहरु पनि अब टिकट नपाउनेले चिन्तित छन् । बिमानस्थल खुलिहाले पनि हामीले सिट पाइहालिन्छ भन्ने ग्यारेन्टी छैन, झापाका डम्बर गिरीले भने, कहिले पो पालो आँउछ ?

कान्तिपुरबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय