साउदी र कुवेतमा साढे ५ बर्षको कमार्ई १९ हजार !

नवलपरासी- उनी तीन पटक विदेश गइन् । पहिलोपटक दमाममा दुई बर्ष चार महिना काम गरिन् । त्यसपछि हवालीमा दुई बर्ष तीन महिना । र अन्तिममा कुवेतमा १० महिना ।

जम्मा साढे पाँच बर्ष विदेशमा विताएकी नवलपरासीकी २५ बर्षिय रिना(परिवर्तित नाम) को बचत भयो १९ हजार । त्यसमध्ये ३ हजार उनले चलाइसकिन् । बचत छ १६ हजार जुन उनले एकजना छिमेकीलाई राख्न दिएकी छिन् ।

नवलपरासीको बर्दघाट, स्मृतिनगरकी रिनाका दुई छोरी छन् । ठूली १० बर्षकी भइन् कान्छि सात महिनाकी । यसको कथा पनि विचित्रको छ । बैदेशिक रोजगारीका लागि कुवेत गएकी उनले जव उता पुगेको १० महिनामा शौचालयमा बच्चा जन्माइन् त्यसले उनको घरवार पनि विगारिदिएको छ ।

उनका अनुसार उनी गर्भवति भएको कुरा स्वयं उनलाई पनि थाहा थिएन रे । उनले रोजगारदाताको घरमै त्यो बच्चालाई शौचालयमा जन्माइन् । त्यसपछि रोजगारदाताले प्रहरीलाई खवर गरिदियो । उनलाई केहि समय अस्पतालमा राखियो र त्यसपछि जेल हालियो । सवै प्रकृया पुरा गरेर उनी छोरी बोकेर नेपाल फर्किइन् । जुन उनका श्रीमानलाई सह्य भएन ।

श्रीमान्को तर्क छ, उनले जन्माएको बच्चा उनको होेइन । किनकी उनी विदेश उडेको १० महिना भइसकेको थियो र उनी विदेश जाँदा गर्भवती थिइनन् । तर चिकित्सकहरु यो सामान्य कुरा भएको भन्दै उनको स्वास्थ्य परिक्षण गर्दा उनी गर्भवती नभएको र त्यसपछि गर्भवती भएको हुनसक्ने तर्क गर्छन् । तर रिनाका श्रीमान् यो कुरा मान्न तयार छैनन् ।

घर फर्केपछि कुटपीट सुरु भयो । रक्सि खाएर आउँदा साथिहरु साथै लिएर आउने उनले आफ्नै श्रीमतिलाई हातपात गर्न उनीहरुलाई उक्साउन थाले । असह्यै भएपछि उनी श्रीमान् छोडेर माइत आएर बसेकी छिन् ।

माइतीमा पनि समस्या थपिएको छ । माईतीको बस्ने एउटा सानो छाप्रो अटाउने जग्गा मात्र छ । ज्याला मजदुरीले नै गुजारा चल्छ परिवारको । त्यसैले उनका बाबु कुलबहादुरलाई रोजेर विवाह गरेर गएकी छोरी दुई नातिनि सहित थपिएपछि चिन्ताले सताएको छ । तर उनीसँग अरु धेरै विकल्प पनि छैनन् ।

बैदेशिक रोजगारीमा साउदी अरव दुईपटक गएकी र अन्तिम पटक कुवेत गएर फर्केकी रिनाको बैदेशिक रोजगारीको जम्मा कमाई अव जम्मा १६ हजार बाँकी छ ।

पहिलो पटक दुईबर्ष चार महिना कमाएको पैसा लिएर इण्डोनेसियाली साथि चम्पट ठोकिन् । घर मालिकले घर जाने बेलामा पैसा दिउँला भनेर राखेको पैसा लिएर रिनाले चलाउन भनेर ति सँगै काम गर्ने इण्डोनेसियाली महिलालाई दिएकी थिइन् । तर ति महिला उनलाई पत्तै नदिई त्यहाँबाट भागेपछि उनको दुई बर्ष बढीको काम केवल खान बस्नमै सिमित भयो ।

दोश्रो पटक विदेशबाट केहि कमाएर त पठाइन्, तर त्यो सवै श्रीमान्ले रक्सिमै सिध्याइदिए । उनी फर्किंदा कुनै बाँकी थिएन । त्यसैले तेश्रोपटक जाँदा कमाएर पठाएको १९ हजार नै उनको हातमा परेको बैदेशिक रोजगारीको कमाई हो ।

अव के गर्छिन् त उनी ? यसको उत्तर स्वयं उनीसँग समेत छैन । मुख्य चिन्ता कान्छि छोरीको जन्म दर्ता नभएकोमा छ । किनकी उनका श्रीमानले छोरीको जन्मदर्ता गराइदिन मानेका छैनन् ।

उनलाई हेल्भेटास स्वीस इण्टरकोअपरेशनको सामी परियोजना अन्तर्गतका मनोपरामर्शदाताहरुले नियमत रुपमा भेटेर परामर्श दिन्छन् । यसले उनको जीवन केहि फेरिएको छ, उनी केहि सहज त हुँदै गएकी छन् तर बाँकी जीवन कसरी बाँच्ने हो भन्ने अनिश्चितता भनें उनका अगाडी लमतन्न भएर सुतेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय