दुवई- दुवईको सोनापुर स्थीत एक कन्स्ट्रक्सन कम्पनीमा कार्यरत नेपालीहरुले दुई महिनायता विजुली र पानीको अभावमा कष्टपूर्ण जीवन काटिरहेको भेटिएको छ । उनीहरु विगत लामो समयदेखि सो कम्पनीमा कार्यरत हुन् ।
नेपाली र भारतीय, बंगलादेशी र पाकिस्तानी गरी सो कम्पनीमा २ सय जति श्रमिक कार्यरत रहेको जिफन्ट सपोर्ट ग्रुप, युएईकी सचिव कल्पना राईले जानकारी दिएकी छिन् ।
राईका अनुसार कम्पनीले कामदारहरुलाई बस्न उपलव्ध गराएको क्याम्पमा विगत दुई महिनायता विजुली छैन भनें पानीको लाइन समेत कटौती गरिएको छ । यसले उनीहरुको बसाई कष्टपूर्ण भएको उनले बताइन् ।
समस्यामा परेको गुनासो पछि भारतीय कन्सुलरका अधिकारीहरुले सो क्याम्पमा भ्रमण गरी ट्याँकर मार्फत पानी र ग्यास उपलव्ध गराएका छन् ।
त्यसरी सकसपूर्वक बसिरहेकाहरुलाई सम्झौता अनुरुप तलव नदिएको र करिव १ बर्षको तलव उनीहरुको बाँकी रहेको पीडितलाई उधृत गर्दै राईले बताएकी छिन् । सो कम्पनीमा कार्यरत केहि नेपालीको भिसाको अवधि समेत समाप्त भइसकेको भेटिएको छ ।
समस्यामा परेका नेपालीहरुहरुले आफूहरु त्रसित भएर दुतावास समेत जान नसकेको भन्दै आफूहरुलाई बाँकी तलव दिलाएर जतिसक्दो छिटो नेपाल फर्किने वातावरण बनाइदिन आग्रह गरेका छन् ।
दामोदर दाहाल, युएईबाट