चितवन- एन आर एन कतारका सल्लाहकार आर के शर्माले चितवनका दुइवटा स्कुल र मन्दिरलाई आर्थिक सहयोग गरेका छन् । चितवनको भरतपुर उप महानगरपालिका वडा नं. १६ मा अवस्थित गढी कालिका मन्दिरलाई उनले १ लाख २१ हजार ६ सय ८९ रुपैंया सहयोग हस्तान्तरण गरे ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा शर्माले व्यक्तिको आचरणलाई शुद्धिकरण गर्ने बलियो सूत्र भनेको नै धर्म भएको भन्दै यसको संरक्षण, सम्वर्धन र धर्मका नीतिहरुलाई पालना गर्नु अत्यावश्यक रहेको बताए । उनले धार्मिक मठमन्दिरमा सहयोग गरेर पुण्य कमाईन्छ भन्ने आशाले नभई यो सहयोग गर्न सक्षम जो कोहि नागरिकले गर्नुपर्ने कर्तव्य सम्झेर आफुले सहयोग गरेको बताए ।
यसैगरी चितवन मंगलपुरमा अवस्थित श्री राष्ट्रिय निम्न माध्यमिक विद्यालयको शैक्षिक गुणस्तरलाई बढाउने उद्धेश्यले शैक्षिक सामग्री तथा अन्य आवश्यक शिर्षकका लागि भनी ५१ हजार ६ सय ८९ नगद शर्माले सहयोग गरेका छन् ।
सो सहयोग रकम उनले विद्यालय प्रशाशन तथा विद्यालय व्यवस्थापन समितिको उपस्थितीमा हस्तान्तरण गरेका हुन् ।
यसैगरी चितवनकै ब्रम्हनगर स्थित श्री निम्न विद्यायलयको लागि शर्माले सहयोग स्वरुप रु ७१ हजार प्रदान गरे । उक्त विद्यालयका प्रअ तथा विद्यालय प्रशासनले समाज प्रतिको उत्तरदायित्व निभाउन सधैं तत्परता देखाउने शर्माको उदार सेवा भावको जति नै प्रशंशा गरे पनि कम नै रहने बताए ।
उक्त योगदानको उच्च मूल्यांकन गर्दै श्री राष्ट्रिय निम्न माध्यमिक विद्यालयले विद्यायलयको ५७ औं वार्षिकोत्वसको अवसरमा तथा श्री निम्न माध्यमिक विद्यालय ब्रम्हपुरले विद्यायलयको २७ औं वार्षिकोत्सवको अवसरमा शर्मालाई सम्मानपत्र प्रदान गरेको थियो ।
शर्माले यस अघि पनि पशुपति क्षेत्र अन्तर्गत बृद्धाश्रममा आश्रय लिएर बसेका थुप्रै असहाय वृद्ध बृद्धालाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरेका थिए ।