युएईमा एक्सचेन्जमा कारोबार घट्यो, फाइदा हुन्डी व्यवसायीलाई

यूएई– दुबईको एक रेस्टुरेन्टमा विगत चार वर्षदेखि काम गरिरहेका मोरङका तीर्थ न्यौपाने नेपाल पैसा पठाउन यसपालि एक्सचेन्जसम्म पुगेनन् । यसअघि कुन बैंकको रेट बढी छ भनी खोजीखोजी पैसा पठाउने न्यौपाने एक्सचेन्जभन्दा बढी पैसा पाइने भएका कारण हुन्डीमार्फत् पैसा पठाएको सगर्व बताउँछन् ।

हुन्डी अवैध कारोबार हो भन्ने थाहा पाएका न्यौपाने अबदेखि त झन् सबै एक्सचेन्जको दर एउटै हुने भएपछि हुन्डी नै पैसा पठाउने उत्तम विकल्प भनी बताउ“छन् । ‘हामीलाई रेट राम्रो चाहियो’, न्यौपानेले भने, ‘सबैतिर एउटै रेट भएपछि एक्सचेन्ज नगए पनि भो ।’

शारजहामा सेक्युरिटीमा काम गर्ने झापाका बिकास भट्राई नेपालमा पैसा पठाउन सबै एक्सचेन्जको दर एउटै भएपछि हुन्डीको माध्यमबाट पैसा पठाउने सोचमा छन् । ‘पहिला जुन एक्चेन्जमा रेट बढी हुन्छ, रोजीरोजी पठाइन्थ्यो, अब सबैतिर एउटै भएपछि किन जानु एक्सचेन्ज ?’ चिनेको दलाललाई समातेर हुन्डी गर्ने सोचमा रहेका भट्राईले भने, ‘मार्केटमा एउटै भाउ भएपछि जता फाइदा हुन्छ, त्यतै जान पाइने ग्राहकको अधिकार हो ।’

सबै बैंकको रेट एउटै हुनुलाई सकारात्मक मान्छन्, रास अल खेमामा कार्यरत दोलखाका सुजन राई । उनी भन्छन्, ‘बराबरी हुनु त राम्रो हो तर पैसाको रेट अलि कम राख्नु भएन ।’

नेपाल राष्ट्र बैकले सबै वित्तीय संस्था र रेमिट्यान्स कम्पनीलाई रेमिट्यान्स विनिमय दर समान गर्न निर्देशन जारी गरेपछि त्यसको पक्ष र विपक्षमा छलफल सुरु भएको छ ।

बैंकको यो निर्णयले गर्दा हुन्डीको कारोबार ह्वात्तै बढेको छ भने एक्सचेन्जबाट पैसा पठाउनेहरुको संख्यामा कमी आएको छ । पहिलाको तुलनामा ट्रान्जेक्सनमा कमी आएको बताउने सेन्चुरी रेमिटका युएईस्थित कन्ट्री रिपे्रजेन्टेटिभ प्रकाश पौडेल राष्ट्र बैंकको यो निर्णयले हुन्डी गर्नेहरुलाई प्रत्यक्ष लाभ फाइदा भएको बताउ“छन् ।

उनले भने, ‘पहिला हामी अरु बैंकको तुलनामा बढी रेट दिन्थ्यौं, ग्राहक बढी पैसाको लागि आउ“थें, अब त सबैतिर एकै भएपछि ग्राहक जता धेरै पाइन्छ, त्यतै जान थालेका छन् ।’

यो कदमले नेपालको बैधानिक बाटोबाट रेमिट्यान्स भित्रिन कम हुने भन्दै पौडेल भन्छन्, ‘सरकारले हुन्डी रोक्ने नीति बनाउनुपर्यो नत्र यो निर्देशनले हुन्डी व्यावसायीहरुलाई मात्र प्रत्यक्ष फाइदा पुग्छ ।’

राष्ट्र बैंकको पछिल्लो निर्णयले आफ्नो टान्जेक्सनमा खासै असर नपरे पनि यसले भविष्यमा प्रभाव पार्ने हिमाल रेमिटका रमेश अधिकारीले बताउ“दै भने, ‘रेमिट्यान्समा तत्काल केही प्रभाव परे पनि यो अभ्यासले कालान्तरमा सबै बैंकहरु र ग्राहकहरुलाई फाइदा नै हुनेछ ।’

यूएईको चर्चित हबिब एक्चेन्जमा कार्यरत दीलिप प्रसाई ग्राहकले छानीछानी बढी रेटमा पैसा पठाउन नसक्ने र त्यसले कस्टमरलाई घाटा हुने बताउ“छन् । यो निर्णय बैंक केन्द्रीत भएका कारण ग्राहक हुन्डीतर्फ आकर्षित भए पनि राष्ट्र बैंकले हुन्डी रोक्नका लागि १ लाखभन्दा बढीको रकम बैंकमार्फत कारोबार गर्न निर्देशन दिइसकेको र यो भन्दा प्रभावकारी निर्णय लिनुपर्ने प्रसाईंको सुझाव छ ।

बैंक र वित्तीय संस्थाहरुले रेटभन्दा सर्भिस र नेपालको नेटवर्कमा बढी ध्यान दिनु पर्ने धारणा राख्छन् आईएमईका युएई कन्ट्री प्रमुख संयोग अधिकारी । उनका अनुसार समान रेटले सबै वित्तिय संस्थाहरुलाई फाइदा हुनेछ । नया“ रेमिट्यान्स कम्पनीले पनि आफ्नो सेवा र नेटवर्कलाई अझ बिस्तार गर्ने हो भने रेटले ठूलो प्रभाव पर्नेछैन ।

नेपाली रेमिट्यान्स कम्पनीहरुले विनिमय दर समान गरेपछि ग्राहकहरुलाई आकर्षित गर्न विदेशी रेमिट्यान्स कम्पनीहरुले बढी दर दिने र त्यसका कारण नेपाली रेमिट्यान्स कम्पनीहरुको बजार खस्कने प्रक्षेपण गर्छन् सेन्चुरी रेमिटका युएई प्रमुख प्रकाश पौडेल । राष्ट्र बैंकको यो निर्णयलाई कार्टेलिङको संज्ञा दिदै पौडेल भन्छन्, ‘राष्ट बैंकको यो ग्राहकमारा नीतिले हुन्डीवालाहरुको मनोबल बढेको छ ।’

 आरपी सहयात्री

तपाईको विचार ? 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय