
दिलबहादुर रानाभाट, कतार । प्रवासी श्रमिक संघ दोहा, कतारले पिडित श्रमिकहरुको सहयोगाका लागि आयोजना गरेको वनभोज तथा रमाइलो सांगितिक मेला सम्पन्न भएको छ ।
राष्ट्रिय गानसँगै सुरु भएको कार्यक्रममा कतारमा कार्यरत नेपाली कलाकार विष्णु शर्मा, दिपक मगर, भगवती बस्याल, ईन्दीरा शाह, मधुसुधन डाँगी, हास्य कलाकार सुरज बिसी लगायतले आफ्नो प्रस्तुती राखेका थिए ।
दोहाबाट केही टाढा रहेको रमणिय स्थान डोसरी गार्डेनमा आयोजित सो कार्यक्रममा बिदेशी पाहुनाहरु समेत सहभागि भएका थिए । गार्डेनका प्रमुख मोहम्मद अल दोशरी लगायतको टोलीले नेपाली पञ्चेबाजाको धुनमा मनोरन्जन लिए । पन्चेवाजाको तालमा सहभागीहरुको नृत्यले कार्यक्रमलाई निक्कै रोचक बनाएको थियो ।
संस्थाका अध्यक्ष विकास परियारले सभापतित्वमा सञ्चालित सो कार्यक्रममा प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष रामहरी गैरे प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष टि.वी कार्की, गैरआवासीय नेपाली संघ, गल्फ सह–संयोजक पुर्ण के.सी, एनअरएनए आइसीसी सदस्य उमेश अधिकारी, गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष मक्सुद आलम लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागि थिए ।