
मलेसिया- मलेसियामा रहेका नेपालीले अब आफ्नो राहदानीबारे एसएमएसबाटै जानकारी पाउने भएका छन् । मलेसियास्थित नेपाली दूतावासले राहदानी आए नआएको जानकारी त्यहाँस्थित नेपालीलाई एसएमएसबाटै दिन थालेको हो ।
एमआरपीको फर्म भरेका नेपालीले आफ्नो राहदानी दूतवासमा आए नआएको जानकारी एसएमएसबाटै पाउने भएपछि राहत महसुस गरेका छन् । यहाँको एक कम्पनीसँगको सहकार्यमा दूतावासले यस्तो सेवा ल्याएको हो । बिहीबार विज्ञाप्ती निकालेर दूतावासले राहदानी जाँच गर्न सहज हुने विश्वास लिएको छ ।
राहदानी आए नआएको जानकारी दूतवासको वेबसाइटमा राखिए पनि त्यो सेवा प्रभावकारी हुन सकेको थिएन । एमआरपीको आवेदन गरेका नेपालीले आफ्नो राहदानी दूतावाससम्म आर्इपुगेको नपुगेको थाहा पाउने विधि सजिलो छ ।
आफ्नो राहदानीको जानकारी लिन मोबाइलको म्यासेज बक्समा गई एनपीपी टाइप गरी एक स्पेस छाडेर आफ्नो पुरानो पास्पोर्ट नम्बर टाइप गरी ३६६६० मा एसएमएस पठाउन दूतावासले आग्रह गरेको छ ।