
काठमाडौं- रोजागारीको सिलसिलामा तीन महिना अघि मलेसिया पुगेका ५ जना नेपालीले आफूहरुलाई अविलम्व नेपाल फर्काइदिन हारगुहार गरेका छन् ।
काठमाडौंको तीनकुनेमा रहेको डमरु मेनपावरबाट उडपिकर नामको कम्पनीमा औद्योगिक कामदारका रुपमा उनीहरु मलेसिया पठाइएका थिए । उनीहरुले नेपालमा भने अनुसारको काम र तलव नपाएको गुनासो गरेका छन् ।
मलेसिया रहेका महेन्द्रनगरका शेरबहादुर चनारोले आफूलाई मेनपावर कम्पनीले मासिक १ हजार चार सय रिंगेट तलव हुने आश्वासनमा १ लाख ३० हजार लिएर पठाएको बताए ।
उनका अनुसार उनीसँगै सोही कम्पनीमा गएका महोत्तरीका सुरेन्द्रबहादुर महतो र चुल्हाई सिं थारुले प्रतिव्यक्ति १ लाख ५० हजार बुझाएका थिए ।
यसैगरी रामेछापका यज्ञबहादुर मानन्धर तथा गणेश बहादुर मानन्धर समेत जनही १ लाख ५० हजारका दरले मेनपावरलाई रकम बुझाएर मलेसिया पुगेका हुन् ।
राम्रो कमाई हुने र उद्योगको काम भन्दै उठाइएका उनीहरुलाई नियमित काम दिइएको छैन । शेरबहादुरका अनुसार काममा पठाउँदा पनि कहिले शौचालय सफा गर्ने काममा लगाउने र कहिले त्यत्तिकै खाली बस्नु पर्ने अवस्था छ । उनीहरुले आफूहरुको उद्धारका लागि हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालको सुरक्षित आप्रवासन परियोजना, सामीद्धारा रामेछापमा सञ्चालित सुचना केन्द्रमा टेलिफोन गरी उद्धारको अपिल गरेका हुन् ।
शेरबहादुरका अनुसार मलेसिया पुगेको सुरुको तीन दिनसम्म उनीहरुलाई खान समेत दिइएको थिएन । अप्ठ्यारोमा परेका उनीहरुलाई नेपाल फर्काउन पीडितका आफन्तहरु मेनपावर कम्पनी र राजनीतिक दलका नेताहरुकोमा धाइरहेका छन् । दवाव पछि समस्यामा परेका उनीहरुलाई फेब्रुअरी २० तारिखसम्ममा झिकाउने मेनपावरले बाचा गरेको शेरबहादुरको भनाई छ ।
उद्धारका लागि नेपालमा फोन गरेको थाहा पाएपछि फेब्रुअरी ९ तारिखमा कम्पनीको एक चिनिया कामदारले आफूहरुलाई कुटेको र लगाएको कपडा समेत च्यातिदिएको उनीहरुले बताएका छन् । सोही दिन कम्पनीले केहिलाई १ हजार २ सय रिंगेट र केहिलाई १ हजार ३ सय रिंगेटका दरले पैसा दिएको थियो ।
आफूहरु निक्कै तनावमा रहेको र मरेतुल्य जीवन काटिरहेको भन्दै उनीहरुले जसरी पनि नेपाल फर्किने वातावरण बनाइदिन समेत आग्रह गरेका छन् । उनीहरुलाई उडपिकर नामको कम्पनीमा काम गर्न भन्दै मलेसिया पठाएको थियो ।