
दक्षिण कोरियाको खजेदो स्थित पानी जहाज निर्माण कम्पनी डिएसएमइमा कार्यरत नेपालीहरुले सोही कम्पनीमा कार्यरत भगिरथ पौडेल र कृष्ण बहादुर थापाको उपचारका लागि आर्थिक सहयोग गरेका छन् । उनिहरुले उपचारका लागि संकलन गरेको ३९ लाख ८२ हजार वन हिजो आइतवारका दिन डेउ नेपाली परिवारको बैठकमा हस्तान्तरण गरेका छन् । उक्त संकलित रकम भगिरथ पौडेल र कृष्ण बहादुर थापालाई बराबरी १९ लाख ९१ हजार वनका दरले हस्तान्तरण गरिएको थियो । भगिरथ पौडेल रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका वडा नं ६ स्थाई घर भई बिगत ४ वर्ष ५ महिना देखि डिएसएमइमा कार्यरत छन् भने कृष्ण बहादुर थापा म्याग्दी जिल्ला झ्यामरुकोट गाविस वडा नं ९ स्थाई घर भई बिगत ९ महिना देखि सोही डिएसएमइमा कार्यरत छन् । भगिरथ पौडेलको ढाडमा हड्डी पलाएकोले अपरेशन गर्नु परेको थियो भने कृष्ण बहादुर थापाको दायाँ हातको हड्डी भाँचिएकोले अपरेशन गर्नु परेको थियो ।
विरामीहरुले उपचारका लागि आर्थिक समस्या रहेकोले सहयोगका लागि डेउ नेपाली परिवारलाई आग्रह गरेका थिए । उक्त संकलित रकम डेउ नेपाली परिवारको तर्फ बाट मनोज भण्डारी र मेघराज ज्ञवालिले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । हाल अस्पतालबाट डिस्चार्ज भई कम्पनिकै होस्टेलमा आराम गरिरहेका भगिरथ पौडेल र कृष्ण बहादुर थापाले सहयोगी साथीहरु प्रति आभार प्रकट गरेका छन् ।
कोरियाको राजधानी सउलदेखि लगभग ४ सय क्रिलोमिटर टाढा रहेको खजेदो स्थित पानी जहाज निर्माण कम्पनी डिएसएमइमा ६ सय नेपालीहरु कार्यरत छन् ।
नेपाल कोरिया डटकमबाट