
भारतको हरियाणाको रोहतकमा एक नेपाली युवतीको बलात्कारपछि क्रुर हत्या भएको छ। ती युवती नेपालको कुन ठाउँकी हुन् भनेर भारतीय प्रहरीले बताउन सकेको छैन। युवतीको लाश क्षतविक्षत अवस्थामा भेटिएकोले पनि उनको पहिचान हुन गाह्रो भएको बताइएको छ।
भारतीय प्रहरी अनुसन्धान अनुसार ती युवती सुस्त मनस्थितिकी रहेकी थिएन्। उनी उपचारको लागि हरियाणा राज्यको रोहतकको चिन्योट कोलोनीमा बस्ने आफ्नी बहिनीकोमा गएकी थिइन्। उनी एकसाता अघि आइतबारदेखि बेपत्ता भएकी थिइन्। उनका आफन्तले पिजिआई प्रहरी स्टेशनमा उनी हराएको रिपोर्ट गरेका थिए।
त्यसको चार दिनपछि उनको शव फेला परेको थियो। उनको शव रोहतकको महुअकबरपुर गाउँको खेतमा फेला परेको थियो। उनको शव नाङ्गो र क्षतविक्षत अवस्थामा थियो। उनको शवको माथिल्लो भाग स्यालले खाएको अवस्थामा थियो। जसका कारण शव पहिचानमा कठिनाई भएको थियो। उनको मलद्वारमा धारिलो हतियार गाडिएको फेला परेको थियो।
क्षतविक्षत अवस्थामा भेटिएको शव पहिचान नभएपछि प्रहरीले युवतीको शवलाई बेबारिसे भन्दै पोस्टमार्टमका लागि पठाएको थियो। पोस्टमार्टम पिजिआई रोहतकका तीनजना विशेषज्ञ डाक्टरले गरेका थिए। पोस्टमार्टम रिपोर्ट आएपछि उनको दर्दनाक अवस्था बाहिर आयो।
पोस्टमार्टम रिपोर्ट अनुसार उनको बलात्कारमात्र गरिएको थिएन। बलात्कारपछि उनको टाउकोमा प्रहार गरिएको थियो। उनको गुप्तांगबाट ढुंगा तथा धारिला हतियार शरीर भित्र घुसाइएको थियो। उनको हत्या गर्नु अघि उनको शरीरमा आपत्तिजनक वस्तुहरु घुसारिएको थियो। युवतीको पाठेघरमा कण्डम पनि भेटिएको छ।
फरेन्सिक विशेषज्ञ डाक्टर एस के धत्तरवालका अनुसार पोस्टमार्टम रिपोर्टलाई हेर्दा उनको बलात्कारपछि निर्दयी ढंगले उनको हत्या गरिएको थियो। उनको शव भिसेरा जाँचका लागि मधुवनी पठाइएको भारतीय प्रहरीले जनाएको आजतकले लेखेको छ।
युवतीका परिवारले उनको हत्या कसले गरेको हो भन्ने शंका समेत गर्न सकेका छैनन्। उनीहरुले भारतीय प्रहरीलाई सकेसम्म चाँडो आफूलाई न्याय दिलाउन अनुरोध गरेका छन्। रोहतक प्रहरीले अहिलेसम्म कसैलाई पनि पक्राउ गर्न सकेको छैन। उनले घटना अनुसन्धानका लागि एसआइटी गठन गरेको छ। उसले हत्याको सूचना दिनेलाई एक लाख भारतीय रुपैयाँको इनाम घोषणा गरेको छ।
पहिलो पोष्टबाट