जो मलेसियाबाट नेपाल फर्केपछि गरेको उद्यमले मालामाल हुँदैछन्

उदयपुर– बैदेशिक रोजगारीका लागि मलेसिया पुगेर फर्केका यहाँका चारजना युवा मिलेर व्यवसायिक कुषि सुरु गरेका छन् । १० बर्ष मलेसिया बसेर फर्केका ३५ बर्षिय अनिलकुमार मगरको नेतृत्वमा स्थानीय तिलक मगर, प्रल्हाद मगर र नवीन राई मिलेर २० लाख रुपैयाँ लगानी गरी १२ रोपनी जमिनमा तरकारी खेती, कुखुरा पालन र मत्स्य पालन व्यवसाय सुरु गरेका हुन् । तिलक, प्रल्हाद र नवीनपनि ५ बर्ष मलेसिया बसेर अनिलसँगै २ बर्ष अघि नेपाल फर्केका हुन् ।

करीव १२ रोपनी जमिनमा गतबर्षदेखि काउली, टमाटर, गाँठेकाउलीलगायतको खेती सुरु गरेका उनीहरुले यस बर्ष मात्रै ५ लाख रुपैयाँ बराबरको टमाटर बिक्री गरिसकेका छन् । बिषादीमुक्त अग्र्यानिक तरकारी उत्पादन गर्ने जिल्लाकै नमुना कृषि फर्मकारुपमा विकास गर्ने उद्धेश्यले फर्म सुरु गरेको उनीहरु बताउँछन् ।

“ मलेसियामा १० बर्ष पसिना बगाउँदा पनि खासै आर्थिक उन्नती नभएपछि आफ्नै देशमा केही गरौं भन्ने लाग्यो र फर्किएँ” अनिल भन्छन्,“ गाउँका अन्य साथीपनि फर्किएपछि सबैको सल्लाहमा फर्म सुरु गरेका हौं ।” बिदेशमा जति दुख गर्ने हो भने यहाँ त्यो भन्दा बढी नै आम्दानी गर्न सकिने आफुलाई लागेको उनले बताए ।

फोहोर साल एउटा मात्रै माछा पोखरी बनाएर मत्स्य पालन सुरु गरेका उनीहरुले माछा राम्रोसँग सप्रिएपछि हालै अरु दुईओटा पोखरी खनाएका छन् । मत्स्य पालनसँगै यस बर्षदेखि बंगुर र भैसी पालन पनि सुरु गर्न लागेको नवीन बताउँछन् ।

“ १० ओटा ठूलाठूला प्लाष्टिक टनेल बनाउन मात्रै ५ लाख रुपैयाँ भन्दा बढी खर्च भयो ” नवीनले भने,“ हरेक टनेलमा टमाटर, काउली र गाँठेकाउली खेती गरेका छौं ।” गाँठेकाउली र काउली फागुन दोस्रो सातादेखि मात्रै बिक्रीको लागि तयार हुने उनले बताए ।

युवाहरुको मिहिनेत र लगनशिलता देखेर जिल्ला कृषि विकास कार्यालयले गत बर्ष ४ लाख २० हजार रुपैयाँ अनुदान दिएको थियो । जिल्ला सिँचाई कार्यालयले पनि यस बर्ष थोपा सिँचाईका लागि ८० हजार रुपैयाँ बराबरको सहयोग गरेको छ । युवाहरुको फर्मले यसै बर्ष जिल्ला कृषि विकास कार्यालयले प्रदान गर्ने राष्ट्रपति उत्कृष्ठ कृषक पुरस्कार समेत पाएको छ ।

“ सुरुमा बजारको अभाव होला की भन्ने लागेको थियो” अनिलले भने,“ तर, ५ लाख रुपैयाँ बराबरको टमाटर फर्ममै बिक्री भएपछि थप हौसला मिलेको छ ।” आफ्नो फर्म छोटो समयमै फस्टाउँदै गएपछि गाउँका अन्य युवाकोसमेत बैदेशिक रोजगारप्रतिको आकर्षण घटेको र आघादर्जन युवाले व्यवसायिक तरकारी खेती सुरु गरेको उनले बताए ।

यो समाचार गोपाल पोखरेलले कारोवारमा लेखेका छन्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय