
काठमाडौं- युएईको अबुधावीबाट एउटा कम्पनीबाट ७ जना नेपाली स्वदेश फर्काइएका छन् । उनीहरु अबुधावीमा रहेको एक कम्पनीमा ट्याक्सी चालकका रुपमा काम गर्न त्यहाँ गएका थिए । थप १३ जनालाई पनि नेपाल फर्काउने कम्पनीले तयारी गरिरहेको छ ।
अबुधावीमा रहेको अल गजल कम्पनीमा काम गर्न ८ महिना अघि गएका नेपालीलाई सो कम्पनीले ३ देखि ४ पटकसम्म टायलमा फेल भएको भन्दै नेपाल फर्काइदिएको हो ।
नेपाल फर्काइएका बिराज बाँस्कोटाका अनुसार दुई पटक फेल भएकालाई समेत स्वदेश फर्काउने लिष्टमा राखिएको छ । उनीहरुलाई छिट्टै नेपाल फर्काउने भन्दै त्यसका लागि तयार रहन कम्पनीले जानकारी दिइसकेको छ ।
सो कम्पनीमा काम गर्न भनेर गएकाहरुलाई दुई महिनायता कुनै तलव दिइएको छैन ।
उनीहरुले खान समेत समस्या परेको र विदेशमा भोकभोर्कै मर्ने अवस्था आएको भन्दै जिफण्ट सपोर्ट ग्रुपलाई गुहारेका छन् ।
जिफण्ट सपोर्टग्रुप मार्फत उनीहरुले नेपालमा जिफण्टलाई सहयोग तथा उद्धारका लागि अनुरोध समेत गरेका छन् ।
उनीहरु नेपालको शिखर मेनपावर कम्पनी मार्फत ८ महिना अघि युएई पुगेका थिए ।
स्वदेश फर्काइएकाहरुका अनुसार अल गजल कम्पनी र नेपालबाट कामदार पठाउने मेनपावर कम्पनी बीचको असमझदारीका कारण नेपालीलाई स्वदेश फर्काइएको हो ।
सँगै रहेका युगाण्डा तथा भारतीय नागरिक ६ पटकसम्म फेल भएपनि उनीहरुलाई मासिक तलव दिएर कम्पनीले राखिरहेको छ । तर नेपालीलाई भनें दुई पटक फेल हुने वित्तिकै नेपाल फर्काइएको छ । यसका बारेमा सोध्दा यसमा नेपालको मेनपावर कम्पनीले नै बताउने जवाफ पाएको पीडितको भनाई छ ।
८ महिना अघि एउटै समुहमा सो कम्पनीमा काम गर्न पुगेका २० जना युवाले प्रतिव्यक्ति १ लाख ९५ हजार देखि २ लाख ३३ हजारसम्म बुझाएर गएका थिए । नेपाल फर्केकाहरुले मेनपावर कम्पनीमा गएर क्षतिपूर्ति माग गरिरहेका छन् । कम्पनीले भनें केहि दिन पछि हिसाव किताव मिलाइदिने भन्दै उनीहरुलाई झुलाइरहेको छ ।