
नवलपरासी- युवा तथा साना व्यवसायी स्वरोजगार कोष कार्यक्रमबाट जिल्लामा ६ सय ५ बेरोजगार युवा व्यवसायी भएका छन् । कोषको कार्यक्रम मार्फत ६ सय ५ बेरोजगार युवा रोजगार भएको कोषको सचिवालयले जानकारी दिएको छ ।
सचिवालयले परासीमा पत्रकारसम्मेलनमार्फत बेरोजगार युवालाई रोजगार बनाउने सरकारको नीतिअनुसार काम गरिएको जनाएको हो ।
जिल्लामा १८ सहकारीमा रु ६ करोड ८० लाख लगानी गरिएको छ । लगानी गरिएका सहकारीमार्फत सो कर्जा रकम लगानी गरिएको युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयका उपाध्यक्ष पुण्यप्रसाद रेग्मीले बताए ।
उनले भने “युवालाई स्वरोजगार बनाउनका लागि बिनाधितो दुई लाखसम्म तेस्रो किस्तामा कर्जा असुल्ने गरी लगानी गरेका छौँ । लगानी नडुबाउनका लागि १ सय ८४ पुरानै व्यवसायी र ४ सय ११ जना नयाँ व्यवसायीलाई कर्जा उपलब्ध गराएका छौँ ।” विभिन्न जिल्लामा स्वरोजगार कोषको प्रभावकारीताको प्रश्न उठिरहेको बेला उपाध्यक्ष रेग्मीले व्यवसायीले ९५ प्रतिशत कर्जा चुक्त गरिसकेको जनाए ।
कार्यक्रम अत्यन्तै सफल भएको भन्दै जिल्ला सहकारी डिभिजनका प्रमुख वासुदेव भट्टराईले जिल्लामा व्यवसायीले राम्रो गरे पनि अनुगमन नहुँदा प्रभावकारीता बुझ्न कठिन भएको बताए
कारोवारबाट