देश छोडेर बस्नु पर्दाका व्यथा, जीवनसाथि, घर, परिवारसंगको बिछोड नै हाम्रा गीत हुन्

नेपालबाट दैनिक रुपमा कामका लागि विदेश उड्नेको संख्या १५ सय भन्दा माथि छ । त्यसमध्ये अधिकाँश मलेसिया र खाडीका मुलुकहरुमा जान्छन् । त्यसरी जानेमध्ये कतिपय नेपालमै कलाकारितामा आफूलार्ई निखार्दै गरेकाहरु हुन्छन् भनें कतिपय विदेशमा पुगिसकेपछि त्यसमा लाग्छन् । त्यसैले पछिल्लो समयमा प्रवासमा सिंगिंग आइडल जस्ता कार्यक्रम समेत बाक्लै हुन थालेका छन् । गोपीकृृष्ण पंगेनी प्रवासमा, अझ खासगरी युएईमा चिनिएको नाम हो । मिठो स्वरका धनी गोपीकृष्ण युएईमा हुने कार्यक्रमहरुका नियमितजसो गायक हुन् । उनले सयौं स्टेज कार्यक्रममा आफ्नो कला प्रस्तुत गरिसकेका छन् । केहि समय अघि परदेशीका कुरा समेटिएको एल्वम ‘म त परदेशी’ श्रोतामाझ ल्याएका  गोपीकृष्ण पंगेनीसँग देशपरदेश डटकमका लागि गरिएको कुराकानी । तपाईको जन्म, पढाई र सुरुवाती समयका बारेमा बताइदिनुस् न मेरो जन्म स्यांजा जिल्ला स्वरेक गाविस वार्ड नं. १ महापुरमा भएको हो । त्यही गाउँको विद्यालय श्री राजेन्द्र भवानी उमाविमा मैले अध्ययन गरे । परिवारका बारेमा ? २ छोरी मेरी, उनी, आमा र दुई ओटा भाइ छन् । बाबा चाही यो संसारमा हुनुहुन्न । दिदी एक, बहिनी एकको विवाह भै सक्यो । तपाईको साँगितिक जीवनको सुरुवात कसरी भयो ? म सानो छँदा नै गीत गाउँथे । मेलापात, घाँस दाउराको सबै अनुभव छ मलाई । जहाँ पुग्थे गीत गुन्गुनाउँथे । रोधी बस्ने चलन चल्ती थियो गाउँघरमा । गाउँमा मादल खसेर बज्यो भनें पनि म त्यो ठाउँमा पुग्थे । अझ स्वस्थानी पूजाको बेलामा त झनै मन खुशी हुन्थ्यो । एक महिना नै रोधि बस्न पाइन्थ्यो, गीत गाउन पाइन्थ्यो । आमाको पछेउरा ओडेर रोधी घरमा दोहोरीमा हुने त्यो घम्सा घम्सी, त्यो बाल्यकाल सम्झना अझै पनि ताजा छ । मेरो गायनको यात्रा त्यहिंबाट सुरु भयो । जीवनमा संगीतको भूमिका के छ ? सुख दुःखको साथी हो संगीत । बुझाई आ आफ्नै हुन्छ । परदेश कहिले र के कारणले लाग्नुभयो ? बाबाले होटल गर्नुहुन्थ्यो काठमाडौंमा । बाबाको बुढेस कालसँगै अरु धेरै कुराहरु आए । समय फेरियो । आवश्यकताले डोेर्याउन थाल्यो । देशमा शान्ति थिएन । रोजगार थिएन । त्यसैले अरु लाखौं युवा झैं पनि पनि थुप्रै सपना बोकेर सन् २००३ मा दुवई छिरेको हुँ । Gopi 2 त्यहाँ पुगेपछि पनि कसरी जोडिइरहनु भयो संगीतमा ? नेपाली गीत संगीतको सम्मान थियो । हरेक हप्ता कार्यक्रम हुन्थे । थकान मेट्न जम्मा भएका नेपालीलाई गीत सुनाउन थालियो । किनकी प्रवासमा नेपाली गीतसंगितलाई माया गर्नेहरुको ठूलो जमात हुन्छ । कामका लागि विदेश हिंडेको मान्छे, गीत, संगीतलार्ई कसरी सँगै लैजादै छ ? यो धेरै गहिरो कुरा हो । कतिपय अवस्थामा धेरैकुरामा अप्ठ्यारो पर्छ । आयोजक र आफु काम गर्ने कम्पनीबीच कुनै साइनो सम्वन्ध हुन्न । महिनाको यति दाम भनेर बेचिएका मान्छे पर्यौ हामी त । तर पनि जहाँ समस्या त्यहाँ उपाय त भइहाल्छ नी । त्यसरी नै दुःख सुखले साँगितिक जीवन चलेको छ । परदेशमा कसरी सम्झिइन्छ कलाकारलाई ? मात्र आवश्यकता कलाकार आओस्, गाओ्स् र हाम्रो कार्यक्रम सफल होस् त्यो कलाकारको मेहनत र उसले खर्चिएको समयको कुनै मूल्य हुन्न । कतिपय कुरा त देख्दै उदेश लाग्छ । केवल स्टेजमा उभिने र अतिथिलाई व्याच लगाइदिनेहरुलाई समेत कलाकार भनिन्छ, त्यो देख्दा चैं मन खुसी हुन्न । Gopi 4 तपाईले कहाँ कहाँ कस्तो अवशर पाउनु भएको छ ? दुवईमा रहेका ९२ वटा संस्थाहरु मध्ये धेरैले बोलाउँछन् । माया, मान सम्मान दिनुभएको छ । हामीले श्रोतासम्म पुग्ने अवशर पाएका छौं । दुवई बाहिर पनि दुईवटा देशमा निम्तो पाएको थिएँ तर निम्तो मान्न जान सकिएन कारण जागिर । कस्ता शव्द, भाव समेट्नुहुन्छ गीतमा ? टिपिकल कुराहरु, जहाँ आफ्नो पनको सुवास आओस, नेपाली गीत संगितको मर्म नविग्रियोस् पछिल्लो समयमा कति कार्यक्रम हुन्छन् परदेशमा ? छुट्टीको समयमा कत्तिको व्यस्त हुनुपर्छ ? धेरै संघसंस्था छन् दुवईमा । एक दिनमै चारवटासम्म कार्यक्रम हुन्छन् । हप्तैपिच्छे कार्यक्रम भइरहन्छन् । कार्यक्रम नभएको समयमा भनें साथिभाईसागको भेटघाट, घुमघाम गरिन्छ । तपाईले आफ्नो गीतबाट कस्तो प्रतिकेया पाउनु भएको छ ? राम्रो, सुन्दर अति सुन्दर अहिलेसम्मका कार्यक्रमका मुख्य सम्झनायोग्य कुरा के छन् ? धेरै सफल कार्यक्रमहरु छन् जहाँ आफु कलाकार बनेर प्रस्तुती राखेका अनि आफै संयोजक बनेर गरिएका कार्यक्रमहरु जहा सामाजिक भावनाले गरिएका कार्यक्रमहरुमा छुट्टै किसिमको अनुभुति हुन्छ । त्यसमाथी पनि म आफै महासचिव भएको अन्र्तराष्टिय कलाकार समाज युएईले आयोजना गरेको बृहत सांस्कृतिक कार्यक्रमसंगै सम्भवत नेपाली इतिहासमै पहिलो पटक १ सय ५१ जनाले लेखेको गजल संग्रह प्रवासका अक्षरहरु विमोचन कार्यक्रम संगै मेरो गित एल्बम म त परदेशी बिमोचन गरेको थिएँ । त्यही कार्यक्रम मेरो लागि धेरै सम्झनायोग्य छ । नेपालबाट पनि कलाकारहरु आइरहन्छन् । तपाईहरुले उनीहरुबाट के सिक्ने मौका पाउनु हुन्छ ? नेपाली कला र संस्कृतिको उतार चढावहरुको बारेमा जानकारी लिने र नेपाली समकालीन सांगितिक आकाशको बारेमा सिक्ने मौका पाइन्छ । अनी उनीहरुले तपाई जस्तै प्रवासमा रहेका कलाकारहरुबाट के सिकेर जान्छन् ? उनीहरुले प्रवासमा एउटा प्रतिभा संघर्ष गरेर पनि कसरी कला र संस्कृति र आफ्नो उद्देश्य मर्न दिदैन भन्ने कुरा सिकेर जान्छन जस्तो लाग्छ । कस्ता कुरा लेखौं, गाउँ भन्ने लाग्छ तपाईलाई ? गाउँले जीवनका यथार्थता सरल र सफल बोलचालका शब्दहरु जहाँ बुझ्न सजिलो होस् त्यस्तै लेखौ र गाउँ जस्तो लाग्छ । एउटा परदेशी र उसको परिवारको मन छुने गीतमा के के हुनुपर्छ ? देश छोडेर बस्नु पर्दाका पिडा व्यथा, जीनवसाथी, घर, परिवारसंगको बिछोड र प्रवासको रोजगारीमा हुने समस्याहरु नै हुन । अहिले धेरैले परदेशीका पीडा बेचेको आक्षेप लाग्छ । तपाई पनि त्यहि भीडमा पीडा बेच्न उभिनु भएको हो ? परदेशीका पीडा बेचेको भन्न नमिल्ला । अरुले के गरे त्योसंग म सम्बन्ध राख्दिन तर मेरो यो नितान्त व्यक्तिगत कथा समेटिएको गित हो । कहि कतै त्यस्तो भयो भनेर सबै कलाकारलाई आरोप लगाउदा न्याय नहोला जस्तो लाग्छ । के खर्च उठ्छ ? दुःखका साथ भन्नु पर्छ गीत संगितमा गरेको लगानी उठेको छैन । यो मेरो मात्र समस्या होइन । तर पनि म सन्तुष्ट छु लगानी भन्दा पनि गीतसंगित प्रतिको तृष्णा मेटाएको छु । Gopi 3 अवको तपाईको साँगितिक योजना के छ ? प्रवास कै विषयबस्तु समेटेर सालैज्यो एल्बम लिएर आउदै छु र यो गित संगित को यात्रालाई निरन्तर जारी राख्ने छु । के भएमा परदेशमा रहेका प्रतिभावान कलाकारले अझ धेरै अवशर पाउनेछन् ? पहिलो कुरा त परदेशी बन्न कसैलाई नपरोस् । प्रतिभाहरुको देशमा सम्मान हुन नसक्दा र कलाकारहरु कलाकारितालाई नै पेशा बनाएर देशमा जिविकोपार्जन गर्न नसक्नुले परदेशिनु परेको हो । त्यो अवसर मिल्यो भने र परदेशमा पनि सरकारी तवरबाट कलाकारको लागि नियोग मार्फत केही पहल गरियो भने अवसरहरु पाइन्छ जस्तो लाग्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय