क्या बात आलमजी !

चर्चित- तपाईं कतारमा हुनुहुन्छ भने मक्सुद आलमसँग भेट भएकै होला । भेट नगरे पनि उनलाई देख्नु भएको होला । देख्नु भएको छैन भने पनि पत्रपत्रिकामा फोटो र नाम छापिएको पढ्नु भएको होला । पढ्नु भएको छैन भने पनि नाम त सुन्नु भएकै होला । नाम पनि सुन्नु भएको छैन भने यो आलेख पढ्नुस्, उनीबारे थाहा हुन्छ ।

उनी ओरिजिनल्ली एक नेपाली हुन् । त्यसपछि उनी मुस्लिम हुन् । उनी कतारका एक ब्यवसायी हुन् । एमाले कार्यकर्ता हुन् । अनि मात्रै उनी एनआरएन कतार अध्यक्ष हुन् ।

Charcheet inside the story‘यति परिचय हुँदैमा उनीबारे लेख्नुपर्छ त ?’ भन्नु होला । ‘स्वास्नीको कमस’! उनको यत्ति मात्रै परिचय भए एक शब्द पनि लेख्ने थिईन । बेकार किन शब्द खर्चिनु ? दुनियाँ यत्ति महङ्गो छ कि– खर्च गर्नुअघि सयपल्ट सोच्नुपर्छ । तर मैले आलमबारे शब्द खर्चिन एकपटक पनि सोच्नु नपर्ने भयो । किन भयो त यस्तो ? उनकै महान कृतिहरुले गर्दा यस्तो भएको हो ।

भाइफुटाउ कृति कतारमा नेपाली मुस्लिम समाजले इमान्दार छाप छोडेको थियो । विभिन्न सामाजिक अभियानमा यो सक्रिय थियो । यस अभियानमा जोडिनु बेग्लै आनन्दको अनुभव हुन्थ्यो ।

नेपाली मुस्लिम दाजुभाइको प्रगती आलम महोदयलाई देखिनसक्नु भयो । उनलाई अध्यक्ष नभइ नहुने भएपछि एकताको बलियो सुत्रमा बाँधिएको मुस्लिम समाजलाई दुईचिरा पारे । मुस्लिम दाजुभाइले आलम महोदयलाई त्यसो नगर्न सल्लाह दिए ।

दम्भको ज्वालाले फुलेल आलम महोदय किन रोकिन्थे ? उनी त अजिज अली लगायतका आफ्नै मुस्लिम दाजुभाइलाई आफुले चाहे अहिले डिपोर्ट गराइदिने, कतारको जेलमा हाल्दिने धम्की दिन थाले । यसरी आलम महोदय एकाएक नेपाली समाजमा कुटिल खेलाडि भएर निस्किए । उनले गरेको यो कृति कतारमा बहुचर्चित छ । यस्तो घटिया कृति गर्ने आलम महोदयलाई मान्नैपर्छ ।

१२ हजार कृति कतारमा एनआरएनको कुनै पदमा निर्वाचित हुन कुनै पार्टीको भातृ संगठन वा जातिय वा जिल्ला समाजको बुई नचढी सम्भव छैन । ति बोकेर हिंड्ने संघसंस्थालाई ‘बोकेको कुकुरले मृग मार्दैन’ भन्ने थाहा हुँदाहुँदै पनि किन बोक्छन् ? तिनै जानुन् ।

आलमजीको एनआरएन अध्यक्ष हुनुको धरातल पनि धुमिल छ । एमाले भातृ संगठनले समर्थन गरेका अध्यक्ष उमेद्वारमा चुडामणि कार्की, रामहरि गैरे र आलम महोदय थिए । कार्कीजीलाई सवै एमाले कार्यकर्ताले थुम्थुम्याए र उमेद्वारी फिर्ता लिन लगाए । गैरे भने अन्तिम समयसम्म नछोड्ने पक्षमा थिए । तर किन छोडे गैरेले ? किन आलमजी अघि बढे ? कथानक रोचक छ ।

अघिल्लो कार्यसमितिले हरहिसाव बुझाउँदा १२ सय पार्षद्को बाह्र हजार रकम डामाढुस भएछ । त्यो रकम जसले बेहोर्छ त्यही अध्यक्षको प्रत्यासी हुन पाउँछ भनेर एमालेका कार्यकर्ता र ठेकेदारले भनेछन् । आलम महोदयले श्रमिकलाई सिद्ध्याएर कुम्ल्याएको रकम हालेछन् । बिचरा गैरे, श्रम गरेर कमाएको १२ हजार दाम खल्तीबाट निकाल्न नसकेकाले अध्यक्ष उमेद्वारीबाटै निस्किएछन् । आलम महोदयको यो कृति सर्वाधिक चर्चाको गोप्य कृति हो ।

भिजिटिङ्ग कार्ड कृति उनी कतारमा एउटा टाबे कम्पनि (टाउको बेच्ने, तपाईं यसकिसिमको कम्पनिलाई सप्लाइ कम्पनि भन्नुहुन्छ) चलाउँछन् । उनले चलाएको टाबे कम्पनिको वाल मतलव भएन । तर उनले प्रयोग गरेको भिजिटिङ्ग कार्ड बडा चित्र÷बिचित्रको थियो (अहिले फेरे कि ? थाहा भएन) ।

एकापट्टि उनको टाबे कम्पनिको र अर्कापट्टि एनआरएनको परिचय लेखिएको ‘भिका’ बढा खुस मुद्रामा बाड्थे । त्यो बाँड्दा उनको पृथ्वि अनुहारमा तेजिलो सूर्यको प्रकास परेझैं लाग्थ्यो । बुढा त्यसै डामाढुस हुन्थे । भिकाको यस्तो चरम उत्कृष्ट कृति देखेर म मनमनै हाँसेको थिएँ । तपाईं झनै हाँस्नु भयो होला । मेरा हाँस्यब्यंग्यले भन्दा त उनको यो स्वादिलो कृतिले कतारको नेपाली समाजलाई हँसाएको थियो । (भिका कृति जन्माउनेमा टिबि कार्की र रमजान अलि मिया पनि पर्दछन्, अहिले तिनका बारे शब्द खर्चिन्न) ।

आफ्नै श्रमिक ठग्ने कृति बुढाले यो कृति नलेखेकै भए हुने थियो । तर जव लोभको पर्दाले विवेकको विर्को छोप्छ नि, तव यस्तो मजबुत कृति जन्मिन्छ । आफु कार्यकारी, हर्ताकर्ता र सर्वेसर्वा भएको एउटा कम्पनिमा कार्यरत आलम महोदयले यो कृतिको रचना गरेका हुन् ।

करार अवधिभर करङ्ग घोटेर घर फर्किन माग गरेका केहीथान नेपाली श्रमिकलाई आलम महोदयले श्रमिक आफै“ले घरफिर्ती टिकट नकाटे एक्जिट परमिट नै नदिने धम्की दिए । बिचरा ति श्रमिक घर जान नपाउने डरले सस्तो टिकट खोज्दै पुगे कवि तीर्थ संगम राईको ट्राभल एजेन्सीमा ।

श्रमिकजनले आफ्नो दारुण कथाको बेलीबिस्तार लाए कविसामु । अन्यायमा परेका श्रमिकको उद्धार र अन्यायको बिउ हुर्काउँदै आएका आलमको खोटो नियतको कालो पर्दा हटाउन कविले सबुत प्रमाण फेसबुकमा हाल्दिए । अनि त के थियो ? सारा एनआरएनको विवेकको दैलोमा खतराको घण्टी बज्न थालिहाल्यो । अनि सुरु भयो कविको मानमर्दनको खेल ।

कविलाई अमृत गुरुङ्ग फोन्छन् र न्यायको घाँटी रेट्ने आलम महोदयको अगाडि नतमस्तक भएर माफी माग्न हुकुम गर्छन् । टिबि कार्की फोन्छन् र तिनै आधुनिक सम्राटको पाउ पर्न कविलाई दवाव दिन्छन् ।

कवि ठाडो शिर पारेर आफ्नो गल्ति स्वीकार गर्न आलम महोदयलाई बारबार आग्रह गर्छन् । तर कुरुप विचार र तोर्पे नियतले घनिभूत आलम महोदय टसकामस गर्दैनन् । बरु धार्मिक झिंझो झिकेर कविको कतार बस्ने दिन छोट्याउन चाहन्छन् । मानौं आलम महोदय नेपाल राज्यले पठाएका महादुत हुन् र उनको एक वचनमा कतार सरकारले जोसुकै नेपाली नागरिकलाई पनि देश निकाला गरिदिन्छ ।

अन्यायका अघि न्यायको खुट्टा काटिन्छ । आलम महोदय विजयी मुद्रामा हुंकार गर्छन् । थिचोमा परेका श्रमिकजनको उक्सिने आसामा गुरुङ्ग र कार्कीसमेत लागेर आलम महोदयको बिरुप नाटकको पर्दा छोप्छन् । यही काइते नियत देखेर मलाई एनआरएन दिनहिन श्रमिकका पक्षमा वकालत गर्छ भन्नेलाई ‘तेरा कुरा इस्’ भनेर लोप्पा ख्वाउन मन लाउँछ ।

अलखोर कृति द गार्डियनले कतारमा कार्यरत नेपाली श्रमिकको दुर्दशाको दृश्य देखाइदिएपछि नेपाली समाजका जानेमाने हस्तीहरुको होस उडेको थियो । त्यस समाचारलाई गलत सावित गर्न लागेको कतारको मानवअधिकार आयोगले आयोजना गरेको एक कार्यक्रममा ‘कतारमा कोही पनि नेपाली दलनमा परेका छैनन्’ भनेर आलम महोदय, रमजान अलि मिया र नरेन्द्र भाटले दिएको अभिब्यक्तिको बौद्धिकजमातले मूल्यांकन गरिरहेको अवस्था थियो । अन्तर्राष्ट्रियस्तरमा तहल्का मच्चिएको वेलामा आलमजीहरु पत्रकार त के, क्यामेरा देखिसमेत डराएको अवस्था थियो । अलखोरमा त्यही डर निजहरुले दम्भका रुपमा देखाए ।

एमाले पार्टीको भातृ संगठनले आयोजना गरेको पिकनिक पार्टीमा समाचार संकलन र फोटो खिच्न गएका पत्रकार भोला थापा र पाकिस्तानी फोटोग्राफर रिजलाई आलम महोदय, अमृत गुरुङ्गलगायतका एमाले कार्यकर्ताले रोके, छेके र फोटो खिच्न दिएनन् । थापा एनक्युखबरडटकम र कान्तिपुर गल्फ साप्ताहिकमा कलम चलाउँथे । रिज सोखका लागि फोटोग्राफी गर्थे । यस्तो कृति गरेर कलम भाँच्ने आलमजीहरुलाई कसरी सलाम गर्नु ?

एयरपोर्ट कृति यो घटना सन् २०१४ को अप्रिल १० को हो । भोलिपल्टको फिलिपिन्ससँगको मैत्रीपूर्ण फुटवल खेल्न आएको नेपाली राष्ट्रिय फुटवल टोली र सोही कार्यक्रममा मनोरञ्जन दिन आएको कलाकार टोलीलाई स्वागत गर्न दोहा इन्टरनेशनल एयरपोर्ट पुगेका वेला आलम महोदयले पत्रकार महासंघ कतार शाखाका तात्कालिन सभापति रवि रोशीको क्यामेरा खोसेर ‘तँलाई समाचार लेख्ने अधिकार कसले दियो ?’ भने । कठालो समाए । एयरपोर्टजस्तो सार्वजनिक ठाउँमा धुमचक्र मच्चाउने आलमजीको यो कृति सर्वत्र निन्दाले रुचाइयो ।

त्यतिवेलै रोशीलाई एनआरएनकर्मी अमृत गुरुङ्ग, कुमार कार्कीलगायतले अप्रिल ११ को फुटवल खेल सकिएपछि घटनाबारे छलफल गर्ने, त्यसअघि कहींकतै उल्लेख नगर्ने भनेर थुमथुम्याएछन् । तर त्यसै वेलुका रोशीले फेसबुकमा आफुमाथि आलमले दुब्र्यवहार गरेको लेखे ।

त्यसपछि करिव तीन दिन विभिन्न वादविवाद भए । चौथो दिन पत्रकार महासंघ कतार शाखाले आलम महोदयको ब्यवहारको घोर निन्दा र भत्र्सना ग¥यो । विज्ञप्तीमा आलमले लिखित माफी नमागेसम्म उनी उपस्थित सवै कार्यक्रममा उपस्थित नहुने, समाचार नलेख्ने ब्यहोरा लेख्यो । विज्ञप्तीबाट हच्केको एनआरएनले वार्ता गर्न आव्हान ग¥यो ।

टिबि कार्कीका घरमा वार्ता हुने भयो । वार्ता टोलीमा एनआरएनका तर्फबाट अमृत गुरुङ्ग, टिबि कार्कीलगायत थिए भने पत्रकारका तर्फबाट करिमबक्स मिया, दिपक पुडासैनी र पंक्तिकार थियौं । पूर्व एनआरएनकर्मी सागर नेपाल पनि थिए ।

त्यो दिनको छलफलमा रोशी र आलम दुवै उपस्थित थिएनन् । त्यहाँ उपस्थित सवैले आलम महोदयले गम्भिर गल्ती गरेको निश्कर्ष निकाले । भोलि हुने वार्तामा आलम महोदयले रोशीसँग माफी माग्ने भनेर टिबि कार्कीसमेत सवैले बताए । भोलि वार्ता गर्ने भनेर त्यो दिनको वार्ता टुंगियो ।

भोलिपल्ट कथाले अर्कै मोड लियो । हिजो आलम महोदयको गल्ती भयो भन्नेहरु दुवैको दोष देखाउन थाले । कुमार कार्की (जो पत्रकार सभापति भइसकेका थिए) लगायतका एनआरएन त ‘विन विन’ हुने विज्ञप्ती निकालौ“ भन्न थाले ।

आलम महोदयले आफ्नो गल्तीको सफाइमा ‘फोटो खिच्न क्यामेरा लिएको’ भनेर हाँस्यात्मक जवाफ दिए । रोशीको फेसबुक स्टाटसले विश्वका मुस्लिम समुदायको बेइज्जत भएकाले रोशी मिल्न नचाहे धार्मिक किचलो झिकेर कतारी निकायमा उजुरी हाल्ने भनेर ‘इमोशनल ब्ल्याकमेल’ गरे । त्यसपछि ‘विन विन’ हुने विज्ञप्ती लेख्यो एनआरएन टोलीले ।

वार्तामा जानुअघि हामीले घटनाका प्रत्यक्षदर्शी रामहरि गैरेसँग फोनमा कुरा गरेका थियौं । उनले आलम महोदयको एकतर्फी गल्ती भएको बताएका थिए । अघिल्लो दिन वार्तामा सहभागीले पनि आलम महोदयको निन्दनिय गल्ती भएको बताएका थिए ।

तर भोलिपल्ट वार्तामा उपस्थित सवैले आलम महोदयको जयजयकार गरे । कुरा फेरे । न्यायको मुखमै पिसाव फेरे । दम्भले सुकेको रुखको हाँगो समाए । बिचराहरुलाई कुनै दिन त्यही हाङ्गो भाँचिएर आफ्नै ढाड भाँचिने चेतै आएन । पत्रकार करिम, दीपक, रोशी र म ‘मरोस् है’ भनेर बाहिर निस्कियौं ।

होलिडेभिल्ला कृति त्यो वेला कम्रेड प्रचण्ड कतार सवारी भएका थिए । १७ हजार मान्छे मारेर राज्यको मूल राजनितिमा खुट्टा टेकेर प्रधानमन्त्रिसमेत भएका उनलाई देशदुनियाले नचिन्ने कुरै थिएन । उनी कुनै तिलस्मी लाग्थे । त्यही खबर कतारको गल्फ टाइम्सले सुरुदेखि नै फलोअप गरिरहेको थियो ।

खबर पढेर भारतीय केही पत्रकार कतार आएको मौकामा प्रचण्डको भाषण, प्रचण्डसँग कतारमा कार्यरत नेपाली श्रमिकको आशा र प्रचण्डले कतारका अधिकारीसँग उठाउने नेपाल र नेपालीका मुद्धाबारे जान्न उत्सुक थिए । उनीहरु होलिडेभिल्लामै बस्थे र कार्यक्रम पनि होलिडेभिल्लामा नै हुने भएकाले मैले नै उनीहरुको चासोलाई शान्त पार्न कार्यक्रमस्थल देखाइदिएको र भित्र लगेको थिएँ ।

विदेशी पत्रकार देख्नेबित्तिकै आलम महोदयको होष उड्यो । हामी पत्रकार लेखिएको अघिल्लो सोफामा बसेका बेला आलम महोदयले सुटुक्कै फोटो हानेछन् । ति भारतीय मिडियामा काम गर्ने पत्रकार मित्रहरुले प्रचण्डसँग श्रमिकको आशा के रहेछ भनेर भिडियो खिच्न थाले ।

त्यो देखेर आलम महोदयले मलाई छेउमा बोलाए । के छेउमा गएको थिएँ, उनी कड्किए, ‘तपाईं नेपालको राजदुत हो ? तपाईंलाई विदेशी पत्रकार ल्याउन कसले लगायो ? के सोचेर तपाईंले विदेशी पत्रकार ल्याउनु भयो ? यि हेर्नुस् तपाईंको फोटो । यो म कतारको सरकारी निकायमा दिन्छु । यो कार्यक्रम सकियोस्, मैले जानेको छु ।’ मैले घटनाको सहीसत्य बेलिबिस्तार लाए पनि उनी रोकिएनन् । मैले ‘जे गर्नुछ, गर्नुस्’ भन्न उचित ठानें ।

मैले कान्तिपुरकर्मी होम कार्की र कवि दिपक भेटवाललाई घटनाको जानकारी गराएँ । होमजीसँग पछि गुनासो गरेछन् । होमजीले यथार्थ बताएपछि उनी मथ्थर भएछन् । तर मलाई उनको यो तानाशाही ब्यवहार चित्त बुझेको थिएन । मलाई जस्तै अरुहरुलाई पनि उनी हुकुमी महाराज भएको मनपरेको थिएन ।

यहाँ पनि कथाले मोड लियो । उनले मलाई केही गर्न सकेनन् । बरु एकदिन अलखोरको पिकनिकमा आएर मसँग होलिडेभिल्लाको घटनामा गल्ती भएको भनेर माफी मागे । मलाई त्यत्रो मान्छेका ठाउँमा थर्काएका थिए तर कति निरिह पाराले अलखोरमा एक्लै मेरा छेउमा आएर माफी मागे । मैले यसलाई ठूलो मुद्धा बनाइन । तर यस्तो घटना बाहिर ल्याउन सकें, त्यही काफी छ ।

अलिखित र धार्मिक कृति आलम महोदयले नजाने कति अलिखित कृति गरेका होलान् । जो कहिलै बाहिर आउदैनन् । बाहिर आएका पनि आलम महोदयको महान वाणीले सुक्छन्, सेलाउँछन् र सिद्धिन्छन् । के हो त उनको महानवाणी ?

उनी उनका खराव कर्म र नियतको कसैले बिरोध ग¥यो भने धर्मसँग जोडेर धम्क्याउँछन् । उनको दुर्नियतको पर्दा च्यात्न खोज्यो भने विश्वकै मुस्लिम समुदायको बेइज्जत गरेको भनेर धार्मिक खोल ओढाउँछन् । कतारभित्र बसेर आलमजीका बारेमा एक शब्द आलोचला गर्न नसकिने गरी उनले धार्मिक रंगको सुरक्षाकवच बनाएका छन् । तर तिनलाई के थाहा ? कालोलाई कालो भन्न सक्ने एउटा पुस्ता दुनियाँको कुनै कुनामा जिवित छ भन्ने ।

एनआरएन जस्तो पवित्र अभियानमा लागेका विश्वका इमान्दार मानिसहरुले किन यस्ता खराव नियतका मान्छेलाई आफ्नो संस्थाको बचेको अलिकति साख पनि सिद्ध्याउने चानस दिएका होलान् ? के एनआरएन खराव नियतका मान्छे लुक्ने माकुरे दुलो हो ? कि यो कुनै गुण्डा पाल्ने राजनितिक पार्टी हो ? हैन भने किन निकाल्दैन आलमजीहरुलाई ? धर्मशाला हो एनआरएन ?

यो आलेख पढेका दिनदेखि आलमजी कुनै पनि नेपालीलाई नठग्नु, हुर्मत नलिनु, पदको मर्यादा राख्नु । उही ब्यवहार र उही शैलीलाई निरन्तरता दिने हो भने एकदिन सवै नेपाली श्रमिकले भन्नेछन्– क्या बात आलमजी !

चर्चित charcheetdhungel@gmail.com

तपाईको भनाई लेख्नुहोस्  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय