अलपत्र कामदारको संख्या पेश गर्न निर्देशन

काठमाडौं संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिले अवैध तरिकाले वैदेशिक रोजगारीमा गएर ज्यान गुमाएका तथा अलपत्र परेका नेपाली कामदारको वास्तविक संख्या पेस गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ।

दलालको सञ्जालमार्फत ल्याटिन अमेरिकी देशमा नेपाली कामदार पुर्याएर अलपत्र पारिएको सूचना प्राप्त भएपछि समितिले बिहीबार परराष्ट्रमन्त्री महेन्द्रप्रसाद पाण्डेलाई बोलाएर यी मुलुकमा दलालमार्फत अवैध तरिकाले पुर्‍याइएका कामदारको यथार्थ विवरण पेस गर्न निर्देशन दिएको हो। नेपाली कामदार अलपत्र परेको अपुष्ट खबर प्राप्त भए पनि दलालले तेस्रो मुलुक हुँदै अवैध तरिकाले कति कामदार त्यहाँ पुस्याएका छन् र उनीहरूको अवस्था कस्तो छ भन्नेमा अन्योल छ। कतिपय कामदारले ज्यानसमेत गुमाएको हुन सक्ने आशंका गरिएको छ। तर, यस्ता व्यक्तिको वास्तविक अवस्थाबारे औपचारिक पुष्टि भने हुन सकेको छैन। नेपालबाट गैरकानुनी तरिकाले भारतलगायतका मुलुक हुँदै म्याक्सिको पुर्‍याएर अमेरिका छिराउने गिरोह सक्रिय हुन थालेको सामाजिक न्याय तथा मानवअधिकार समितिको ठम्याइँ छ। पछिल्लो समय नेपालबाट रोजगारीको नाममा मानव तस्करी भइरहेको समितिका अधिकारीले बताएका छन्। दलालले मोटो रकम लिएर आकर्षक कमाइ हुने मुलुकमा पुर्याइदिने भन्दै विदेश लैजाने गरेका हुन्। सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठले ल्याटिन अमेरिकी मुलुकमा सयौं नेपाली अलपत्र पारिएको अपुष्ट खबर आएकाले वास्तविकता पत्ता लगाउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिइएको जानकारी दिए। हामी फेरि यसबारेमा छलफल गर्छौं। परराष्ट्र मन्त्रालयले वास्तविक अवस्था र संख्या पेस गर्नेछ, उनले भने। यसबारेमा अध्ययन गर्न र वास्तविकता पत्ता लगाउन गृहमन्त्रीलाई समेत बोलाउने तयारी भएको उनले जानकारी दिए। समितिले परराष्ट्रमन्त्री र गृहमन्त्रीलाई बोलाउने मिति भने तय गरेको छैन। संसद्को अर्को बैठक बस्ने निधो भएपछि सोहीअनुसार पराराष्ट्रमन्त्री र गृहमन्त्रीलाई बोलाउने मितिबारे निधो गरिने समितिले जानकारी दिएको छ। पछिल्लो समय बोलेभिया तथा ग्वाटेमालालगायतका देशमा २६ सयभन्दा बढी विदेशीको लास फेला परेको छ। तर त्यस्ता लासको पहिचान हुन सकेको छैन। ती मुलुकमा पुगेका अधिकांश विदेशी कामदार नेपालसहितका दक्षिण एसियाली मुलुकबाट पुगेको आशंका छ। अवैध बाटोबाट पुर्‍याएकोले त्यसमा नेपाली परे नपरेको भने यकिन हुन सकेको छैन। अवैध तरिकाले पुर्‍याइएका कामदारको राहदानी च्यातिदिने तथा अन्य प्रमाण खुल्ने परिचयपत्रसमेत गिरोहले नियन्त्रणमा लिने गरेकाले कसैको पनि वास्तविकता खुल्न नसकेको सभापति श्रेष्ठले बताए। समितिले ल्याटिन अमेरिकी मुलुकमा पुर्‍याउन प्रयोग गरिने मार्ग र देशमा कति नेपाली छन्? कतिलाई जेल हालिएको छ? कति जनालाई मुद्दा चलाइएको छ त्यसको तथ्यांक पेस गर्न पराराष्ट्रलाई निर्देशन दिएको हो। म्याक्सिको हुँदै अमेरिका पुर्‍याउने मार्गमा १७ वटाभन्दा बढी देश पर्ने भएकाले ती सबैमा नेपाली अलपत्र पारिएको हुन सक्ने वैदेशिक रोजगार विज्ञले बताएका छन्। दलालले काठमाडौंबाट दिल्ली, थाइल्यान्ड, कोलम्बो, भियतनाम, ब्राजिल, होन्डुरस, ग्वाटेमालालगायतका देश हुँदै म्याक्सिको पुस्याउने र त्यहाँबाट अमेरिका पुर्‍याउने प्रयास गर्छन्। पुर्‍याउन नसक्नेलाई अलपत्र पार्ने गरेका हुन्।

अलपत्र पारिएकामध्ये केही शरणार्थी बनेका, कतिपय बिरामी भएर अस्पतालमा भर्ना भएका छन्। केहीले भोकभोकै बस्नुपरेको अपुष्ट जानकारी आएको समितिका सभापति श्रेष्ठले जानकारी गराए। परराष्ट्र मन्त्रालयले विदेशस्थित आफ्ना नियोगमा सम्पर्क गरेर नेपालीको अवस्था पत्ता लगाउनेछ। विभिन्न माध्यममार्फत सम्पर्कमा आएका कामदारले नेपालबाट हिँडाएर १४ महिनामा म्याक्सिको पुर्‍याएको जानकारी दिएका समितिका सभापति श्रेष्ठले बताए। महिनौंसम्म जंगलको बाटो भोकभोकै हिँडाउने, बीचैमा अलपत्र पार्ने गरिएको गुनासो आइरहेको उनले बताए। आन्तरिक बजारमा उपयुक्त अवसरको कमी भएपछि नेपाली युवा बिदेसिने क्रम बढ्दो छ। सरकारी अनुमति नलिई दलालको भरमा परेर अवैध तरिकाले विदेश जाने गरेकाले समस्या चुलिएको हो। हाल २० लाखभन्दा बढी नेपाली अवैध तरिकाले विदेशमा पुगेको अनुमान छ। यसरी जाने अधिकांश कामदारको अवस्था दयनीय छ।

अन्नपूर्ण पोष्टबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय