बरु कामदार मलेसिया जान नपाउन् तर शर्त मान्नु हुन्न: सभाषद

काठमाडौं- मलेशिया जाने नेपाली कामदारको बायोमेट्रिक स्वास्थ्य परिक्षण प्रणाली लागू गर्ने नगर्ने बिषयमा संसदको अन्तराष्ट्रिय तथा श्रम सम्बन्ध समिति र सरकारबीच गलफत्ती सुरु भएको छ। संसदीय समितिले तत्काल सो परीक्षण विधि लागू नगर्न सुरकारलाई निर्देशन दिएका छ भने सरकारी अधिकारी चाहि सो प्रणाली लागू नगरिए मलेशियाको रोजगारी नै गुम्नसक्ने भन्दै जसरी भए पनि लागू गराउने पक्षमा उभिएका छन् ।

यो प्रणाली लागू गराउन मलेसियाले नेपालको शर्त पूरा नगरेकाले नेपालले पनि यो प्रणाली लागू गर्न नहुने समितिको ठहर छ । मलेसिया सरकारले यो प्रणाली लागू गरेर पनि नेपालका केही स्वास्थ्य संस्थाहरुलाई छनोट गरिसकेको छ । छनोट भइसकेका ती संस्थाहरुको बारेमा पनि छानविन गर्न श्रम तथा रोजगार मन्त्रालयलाई समितिले निर्देशन दिएको छ ।

कामदारको स्वास्थ्य परिक्षणका लागि मलेसिया सरकारले गर्न लागेको वायोमेट्रिक स्वास्थ्य परीक्षण तत्काल लागू गर्न नहुने सभासदहरुले बताए । मलेसिया सरकारले वायोमेट्रिक स्वास्थ्य परीक्षण सुरु गराउन नेपाल सरकारलाई पत्र पठाएको छ । बायोमेट्रिक प्रणालीबाट स्वास्थ्य परीक्षण गराएमा सम्पूर्ण स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन सकिन्छ ।

कामदारको सुरक्षाका दृष्टिले पनि यो प्रणाली लागू गर्न नहुने सभासदहरुको भनाइ छ । बैठकमा एमालेका डा. राजन भट्टराईले नेपालीहरु रोजगारका लागि विदेश जानै पर्ने अप्ठ्यारो अवस्थाबाट गुज्रिएको भए पनि यस्ता विषयमा निर्णय गर्दा हतार गर्न नहुने बताए । कामदारको सुरक्षाको ग्यारेन्टी गरेर मात्रै बायोमेट्रिक प्रणालीका बारेमा निर्णय गर्नुपर्ने उनले बताए ।

कांग्रेसकी लक्ष्मी राईले बरु मलेसियामा कामदार नपठाए पनि केही नहुने भन्दै यो प्रणाली लागू गर्नै नहुने बताइन् । कांग्रेसकै मिनबहादुर विश्वकर्माले काठमाडौं स्थित मलेसियाली दुतावासले नेपाल सरकारलाई नै ठग्न खोजेको भन्दै नेपाली नागरिकको पुरै डाटा विदेशी सरकारलाई सुम्पिन नहुने बताए । उनले नेपाली कामदारमाथि विश्वास नभए उसले कानुनको माध्यमबाट अनुगमन गर्न सक्ने प्रावधान हुँदाहुँदै पनि मेडिकलको सहारा लिन खोज्नु शंकास्पद भएको बताए ।

एमालेका सोमप्रसाद पाण्डे र राप्रपा नेपालकी कमलादेवी शर्माले बायोमेट्रिक प्रणाली स्वास्थ्य भन्दा पनि सुरक्षासँग जोडिएको विषय भएकाले यसमा गम्भीर हुनुपर्ने बताए । उनीहरुले यो प्रणाली बारे विस्तृत अध्ययन नगरेसम्म लागू गर्न नुहने जिकिर गरे ।

बैठकमा गीता वाग्ले, राजिवविक्रम शाह, बलबहादुर केसी, राज्यलक्ष्मी श्रेष्ठ लगायतले पनि यो प्रणाली नेपाल सरकारले तुरुन्तै लागू गराउन नहुने बताए । बैठकमा श्रम तथा रोजगार मन्त्रालयका सचिव भोला प्रसाद सिवाकोटीले यो प्रणाली लागू नगरेसम्म नेपाली कामदार मलेसिया पठाउनै नसकिने बताए । उनले १५ जनवरीबाट मलेसियाले बायोमेट्रिक प्रणाली लागू गरिसकेको जानकारी समितिलाई गराए । सिवाकोटीका अनुसार बायोमेट्रिक प्रणाली लागू नगरेसम्म मलेसियाले नेपाली कामदार लैजान नसक्ने र नेपालमा बेरोजगारको अवस्था अझै बढ्ने बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय